जसपामा भेडा भेडातिर, बाख्रा बाख्रातिर : विभाजनका लागि पहिलो कदमको प्रतिक्षामा दुवै पक्ष-Sutra News

जसपामा भेडा भेडातिर, बाख्रा बाख्रातिर : विभाजनका लागि पहिलो कदमको प्रतिक्षामा दुवै पक्ष

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आइतवार अबेर राति ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ हुनुपर्ने भन्दै जसपा विभाजनलाई स्वाभाविक लिनुपर्ने आशयको ट्वीट गरे । माओवादी केन्द्रबाट नयाँ शक्ति हुँदै उपेन्द्र यादवसँगको पार्टी एकतापछि राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर डा. भट्टराई संघीय परिषदको अध्यक्ष बनेका हुन् ।



पूर्व प्रधानमन्त्रीसमेत रहेका उनी माओवादी केन्द्रमा रहँदा प्रभावशाली नेताका रूपमा चिनिन्थे । अहिले उनी जसपामा निष्क्रिय अर्थात सेरेमोनियल पद लिएर बसेका छन् । कहिले कहिले ट्वीट गर्दै उनले आफ्नो धारणा सार्वजनिक त गर्छन् तर त्यो पब्लिक कन्जम्सनका लागि मात्र हुन्छ । राष्ट्रिय राजनीतिमा उनको भनाइले खासै अर्थ राख्न छाडेको छ ।

उनले ट्वीटमा लेखेका छन् – ‘अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ ! हात मिलाएर आ-आफ्नो बाटो लागौं ! हिंडिरहे फेरि भेट हुनेछ !’ 

अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!

मध्यरातमा बालुवाटार पुगेर ओलीसँग प्रधानमन्त्री मागेको भन्दै ओलीनिकट नेता महेश बस्नेतले एक अन्तर्वार्ताका क्रममा खुलासा गरिदिएपछि भट्टराई चर्चामा आएका थिए । ट्वीटरमा ओलीको विरोध गर्ने तर बालुवाटारमा प्रधानमन्त्री माग्न जाने भन्दै उनको राजनीतिक नैतिकतामाथि नै प्रश्नसमेत उठेको थियो । पार्टीभित्रको संघर्षमा डा. भट्टराईले उपेन्द्र यादवलाई साथ दिएका छन् ।

त्यसो भए बाबुराम कता जाने त ?

पार्टी विभाजनलाई स्वाभाविक लिनुपर्छ भन्ने आशयको ट्वीट गरेपछि उनीमाथि अर्को एउटा प्रश्न तेर्सिएको छ – त्यो हो ‘भेडा भेडासँग जाने, बाख्रा बाख्रासँग जाने भए बाबुराम कता जाने त ?’ २०७४ सालको आमनिर्वाचनमा नयाँ शक्ति पार्टीका तर्फबाट डा. भट्टराई मात्र बिजयी भएका थिए । ३२ सांसदमध्ये यादव र ठाकुरसँग करीब आधा-आधा सांसद रहेका छन् भने भट्टराई एक्ला छन् ।

ठाकुरनिकट मानिने एक नेताले सूत्रन्यूजसँग भने – ‘बाबुरामले भेडा भेडासँग र बाख्रा बाख्रासँग जाने भए बाबुराम कहाँ जाने त ? उनी त पार्टीभित्रका एक्ला सांसद हुन् । विभाजन नै हुने भएछ भने त बाबुरामले पनि आफ्नो झिटी गुन्टा तयार गर्नुपर्ने होला नि !’

ठाकुरनिकट अर्का नेता डा. सुरेन्द्रकुमार झाले फेसबूकमा लेख्दै भट्टराईलाई ‘हत्यारा’समेतको ट्याग लगाएका छन् । ‘भेडा – भेडासँग..बाख्रा – बाख्रासँग..हत्यारा – हत्यारासँग..’ झाले लेखेका छन् ।

ओलीको ‘ह्याण्डसम अफर’ र दक्षिणको ‘अदृश्य व्हीप’ टार्न नसकेपछि तनावमा ठाकुर

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको दोस्रोपटक विघटन गरेपछि जसपा विभाजन हुने गति बढेको छ । अध्यक्ष ठाकुर अर्का नेता राजेन्द्र महतोलाई लिएर औसतमा दिनको एक चक्कर बालुवाटारतिर लगाउने गर्छन् । बालुवाटार मात्र होइन, ठाकुरले धेरैपटक लैनचौरस्थित भारतीय राजदूतावासको चक्करसमेत लगाएको विभिन्न स्रोतहरूले दाबी गरेका छन् ।

पछिल्लो समय चुनावी सरकारको नेतृत्व गरिरहेका ओली र ठाकुरबीच ‘चोचोमोचो’ बढेको छ । ७ मन्त्रालय लिएर सरकारमा सहभागी हुन भन्दै ओलीले ‘ह्याण्डसम अफर’ गरिरहेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया र नयाँ सरकार गठन गर्ने प्रक्रियामा तटस्थ रहेको दाबी गरेका ठाकुरलाई एकातिर गृहमन्त्रालयसमेत अन्य मन्त्रालयको ललीपप दिइएको छ भने अर्कोतिर भारतीय संस्थापन पक्षको अदृश्य ‘व्हीप’ले सताएको छ ।

नेपालका लागि भारतका केही पूर्व राजदूत र अन्य थिंक ट्यांकहरूले पछिल्लो समय विभिन्न भारतीय सञ्चारमाध्यमहरूमा लेख लेख्दै ओलीलाई भारतको दह्रो साथ रहेको दाबी गरिरहेका छन् । केही साताअघि हिन्दूस्तान टाइम्सले लेखेको सम्पादकीयमा भारतीय संस्थापन पक्षले ओलीइतरको शक्तिलाई साथ दिनुपर्ने धारणासमेत रहेको थियो । नेपाललाई जतिसक्दो छिटो चुनावमा लैजाने र त्यो ओलीकै नेतृत्वमा हुने भनेर भारतले गरेको लबीमा जसपाका ठाकुर-महतो पक्षलाई दुरुपयोग गरिएको जस्तो देखिन्छ ।

प्रतिनिधि सभाको पहिलो विघटनअघि अर्थात कत्तिकको पहिलो सातामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्त गोयल नेपाल आएका थिए । उनले प्रधानमन्त्री ओलीसँग मध्यरातमा बालुवाटारमै भेटेका थिए । घन्टौं चलेको उक्त भेटपछि ओलीको गन्तव्य नै बदलिएको मानिन्छ । प्रतिनिधि सभा पहिलोपटक पुस ५ मा विघटन भयो । त्यसपछि देखिएको राजनीतिक ध्रुवीकरणमा जसपाको ठाकुर र महतो पक्ष ओलीप्रति नरम हुँदै गएको थियो ।

दोस्रो विघटनअघि भारतीय खुफिया एजेन्सी रअका नेपाल प्रमुख राघवप्रसाद भट्नागर नेपाल आएका थिए । गत वैशाख २४ गतेदेखि उनी नेपालमै रहेको भारतीय दूतावास स्रोतले पुष्टि गरेको छ । भट्नागर र उनीसँग आएको ५ जनाको टीमका सदस्यहरू नेपालका प्रमुख शहरहरू बुटवल, पोखरा र बिरगंजमा अड्डा जमाएर बसेका छन् ।

वैशाख २७ गते ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिंदा आफूपक्षीय सांसदहरूलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेका थिए ठाकुरले । त्यसलगत्तै उनी भारतीय दूतावास छिरेको तस्वीर र समाचार सार्वजनिक भएको थियो ।

ओलीले चालेका कदमहरू प्रतिगामी रहेको धारणा राख्ने यादव-बाबुराम पक्ष र मधेशको माग पूरा गरेपछि ओली सच्चिएको निष्कर्ष निकालेको ठाकुर-महतो पक्षबीच कुरा मिल्ने छाँटकाँट देखिएको छैन । गत वैशाख ४ गते यादव र ठाकुरले संयुक्त वक्तव्य जारी गर्दै पार्टी एउटै रहेको सन्देश दिएका थिए । तर ८ गते बोलाइएको केन्द्रीय कार्यकारी बैठकलाई ठाकुरले एकपक्षीय ढंगले स्थगित गरिदिए ।

जसपा विभाजनको तयारीमा रहेको नेता महेन्द्रराय यादव पनि स्वीकार गर्छन् । उनले सूत्रन्यूजसँग भने – ‘हामी एक हुँदा सारा मधेशी, आदिवासी, जनजाति, दलित समुदाय खुसी भएको थियो । तर ओलीको प्रतिगामी कदमलाई साथ दिने भन्दै हाम्रै केही नेताहरू पछि लागेपछि हामी विभाजन उन्मुख भएका छौं ।’

बहुमत कता छ ?

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडा बहुमत बाबुराम-उपेन्द्रकै पक्षमा रहेको दाबी गर्छन् । उनले सूत्रन्यूजसँग भने – ‘एकीकरण हुँदा ५१ जनाको केन्द्रीय कार्यकारिणी सदस्य बनाइएको थियो । जसमध्ये २६ राजपा र २५ समाजवादी पार्टीका थिए । तीमध्ये रेशम चौधरी जेलमा छन् । अहिले ६ जना कार्यकारिणी सदस्यले हामीतिर रहेको अवस्था छ । पछिल्लो स्थिति ३१/१९ हो ।’

खतिवडाको जस्तै दाबी ठाकुर-महतो पक्षले पनि गरेको छ । तर पार्टी फुटाउन पहिलो कदम चाल्न दुवै पक्षले सकेको छैन । उपेन्द्र-बाबुराम पक्षले बहुमत आफूसँग भएकाले निर्वाचन आयोगतिर मुद्दामामिला पनि नगर्ने बताउँछ । ‘हामीले बैठक बस्ने हो, निर्णयको कपी आयोग पठाइदिने हो । अहिलेसम्म आयोगले त्यसैलाई मान्यता दिइरहेको छ,’ यादवनिकट एक नेताले भने ।

कुनै पनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत अनिवार्य पुर्याउनुपर्ने संवैधानिक व्यवस्था छ । तर अहिले संसद विघटित अवस्थामा पुगेकाले केन्द्रीय समितिमा मात्र ४० प्रतिशत पुर्याए पार्टी विभाजन हुन सक्छ । ठाकुर-महतो पक्षसँग ४० प्रतिशत त छ, तर चुनाव चिह्नको लोभमा उनीहरूले पार्टी फुटाउन चाहेका छैनन् ।

गत सालको वैशाखमा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर समाजवादी पार्टी फुटाउन प्रयास गरेपछि बिजुलीको गतिमा समाजवादी पार्टी र राजपा एक भएका थिए । पछिल्लो समयसम्म समाजोजन प्रक्रिया पनि टुंगिएको छैन । पूर्ण रूपमा एक नहुँदै विभाजित बन्न लागेको जसपा नेकपापछि उस्तै नियति भोग्ने दोस्रो पार्टी बनेको छ ।

यो पनि –

महतोको नेतृत्वमा ८ मन्त्रालय लिएर सरकारमा जाने ओली र ठाकुरबीच सहमति, सपथ भोलिसम्म महतोको नेतृत्वमा ८ मन्त्रालय लिएर सरकारमा जाने ओली र ठाकुरबीच सहमति, सपथ भोलिसम्म

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट