प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सार्वजनिक-Sutra News

प्रहरी हत्याकाण्डका मुख्य योजनाकार सार्वजनिक

बुधबार, १५ पौस २०७७

बुधबार, १५ पौस २०७७

धनगढी- कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत दुई प्रहरीको हत्यामा संलग्न मुख्य योजनाकार भनिएका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका वडा नं. १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो ।



तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तस्करहरूको गिरोह र गस्तीमा रहेका प्रहरीबिच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ । घटनामा मुख्य भूमिका रानाकै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए । घटना लगत्तै भारत पसेका रानालाई नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाका आधारमा पौष १२ गते बेलुकी सात बजे पक्राउ गरिएको जबराले बताए ।

यस्तै सोही घटनामा यसअघि पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको पनि प्रहरीले बताएको छ ।हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१० का राजेन्द्र राना, पर्कु भनिने रोहित राना, गब्बर भनिने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भनिने दलराम राना, गोपाल भनिने रामगोपाल राना र रोहित रानालाई जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि कारागार चलान गरिएको छ ।

घटनामा संलग्न धनगढीका व्यापारी राजीव गुप्ता १ लाख ५० हजार धरौटीमा छुटेका थिए । गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएका थिए । बिक कात्तिक २ गते नेपाल-भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट