नौ महिना पशुपतिनाथ मन्दिर बन्द रहँदा ७० करोड घाटा-Sutra News

नौ महिना पशुपतिनाथ मन्दिर बन्द रहँदा ७० करोड घाटा

मंगलबार, ३० मंसिर २०७७

मंगलबार, ३० मंसिर २०७७

काठमाडौं- सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट सुरु हुन्थ्यो । पशुपति दर्शनपछि करीब दुई घण्टा मूल मन्दिर परिसरमा भजन गरेर आनन्द लिने उनको दैनिकी टुटेको पनि नौ महिना पूरा भएको छ ।



‘पशुपतिमा नित्य दर्शनपछि भजन एवं नृत्य गर्न छोडेका कारण शरीरका विभिन्न भागमा दुख्न थालेको छ, पशुपतिको दर्शन र भजन गर्न नपाउँदा म अस्वस्थ भएको छु, २०६० सालदेखि नियमित पशुपतिमा दर्शन र भजन जीवनको अङ्ग बनेको थियो’ उनले भने ।

बिहान करिब तीन घण्टा पशुपतिमा दर्शन एवं भजनमा समय बिताएपछि ढुङ्गेल मैतीदेवीमा रहेको मेटल शपमा जान्थे । सोह्र वर्षदेखि यस्तो जीवनचर्यामा रमाएका उनी कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैत ११ गते पशुपतिनाथको मूल मन्दिर बन्द गरिएपछि भित्र छिर्न नपाउँदा बिरामीझैँ अनुभव गरिरहेको गुनासो गर्छन् ।

पशुपतिनाथलाई महावैद्यका रुपमा मान्नुहुने लेखक एवं साहित्यकार हरिप्रसाद सोडारी मन्दिर क्षेत्रमा १५ मिनेट बस्दा ऊर्जा प्राप्त हुने अनुभव सुनाउँछन् । कोरोना कहरका बेला महाज्योतिर्लिङ्गका रुपमा विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने पशुपतिनाथको दर्शन गराएरै उपचार गर्न सकिने अवसर मन्दिर बन्द हुँदा गुमाउनुपरेको उनको भनाइ छ ।

आस्था र विश्वाससमेत कुनै रोग उपचारको एउटा प्रक्रिया भएकाले ऊर्जाको केन्द्रका रुपमा पशुपतिनाथ बन्द नगरी व्यवस्थापन गरेको भए राम्रो हुने सोडारीको सुझाव छ । ‘लेखनका क्रममा केही फुरेन भने कुदेर पशुपतिनाथको दर्शनमा जान्थेँ, पशुपति क्षेत्रका कुनै स्थानमा १५–२० मिनेटसम्म ध्यान गरेपछि प्राप्त हुने ऊर्जाले लेखनमा सहयोग गरेको मेरो अनुभव छ’ उनले भने ।

राष्ट्रदेवका रुपमा पूजिने पशुपतिनाथ मन्दिरमा नौ महिनादेखि दर्शन गर्न नपाउँदा नित्य दर्शनार्थी छटपटिन थालेपछि बुधबारदेखि मन्दिर खुलाउने तयारी भएको छ । यो तयारीसँगै ढुङ्गेल र सोडारीजस्ता नित्य दर्शनार्थीमा आशाको सञ्चार भएको छ ।

ऊर्जाको केन्द्र पशुपति क्षेत्र

पशुपति क्षेत्रमा कम्तीमा चार जना सिद्ध पुरुषले छोडदैनन् भन्ने भनाई योगी नरहरिनाथ र डा.स्वामी प्रपन्नाचार्यजस्ता साधकले व्यक्त गरेका छन् । पशुपति क्षेत्रका हरेक रुखलाई पूर्व जन्मका ऋषिका रुपमा मानिने भएकाले काट्नुहुँदैन भन्ने मान्यता छ ।

वाग्मती, गुह्येश्वरी एवं ६४ लिङ्गमध्येका सात शिवलिङ्ग पनि पशुपति क्षेत्रमै पर्ने भएकाले सिद्धस्थलका रुपमा विश्वव्यापी चिनारी बनाउन पशुपति सफल भएको अनुसन्धाता सोडारी बताउँछन् ।

पशुपति क्षेत्रलाई तन्त्र विद्या अनुसार राम्रोसँग बाँधिएकाले मानसिक तनाव भएकाले शान्ति पाउने विश्वास गरिन्छ । पूर्व जन्मको पाप भएकाले पशुपति क्षेत्रको दर्शन गरेमा पाप नाशिएर पुण्य कमाउने वर्णन विभिन्न ग्रन्थमा गरिएको छ ।

कैलाश, मृगस्थली र ध्रुवस्थली गरी तीन पर्वत रहेकाले पर्वतको ऊर्जासमेत पशुपति क्षेत्रमा छ । यसैले पनि पशुपति क्षेत्रलाई ऊर्जाको केन्द्र मानिन्छ ।

नियमित दर्शनार्थी नौ महिनादेखि मन्दिर छिर्न नपाउँदा माइत जान नपाएकी महिलाको अनुभव गरेको लेखक सोडारीजस्ता धेरै दर्शनार्थी बताउँछन् । तीन महिना बन्दाबन्दी भएपछि गत असारमा अन्य क्षेत्र खुले पनि पशुपतिनाथ लगायत मन्दिर एवं धार्मिक स्थल खुलेनन् । साउन शिवजीको महिना भएकाले खुल्ने धेरै भक्तजनको आशा थियो । पशुपति क्षेत्र विकास कोषले मन्दिर खुलाउने तयारी पनि गरेको थियो ।

तर कोरोना संक्रमण फैलने डर कायमै रहेकाले मन्दिर खुलाइएन । भदौपछि पुनः बन्दाबन्दी भएर भक्तजनले मन्दिर प्रवेशका लागि चार महिना कुर्न बाध्य हुनुपर्यो । दशैँअघि अरु क्षेत्र पुनः खुला गरिएपछि लाखौँ भक्तजन मन्दिर विश्वमै महत्वपूर्ण शक्तिपीठका रुपमा शास्त्रमा वर्णन गरिएको गुह्येश्वरीसमेत रहेको पशुपति क्षेत्र खुल्ने आशामा थिए । तर स्वास्थ्य चुनौती कायमै रहेकाले मन्दिर खुलेन ।

पूर्वसांसद विदुर पौडेल बिहान संसदीय समितिको बैठक बस्दा पनि पशुपति र गुह्येश्वरीको दर्शन गरेरमात्र संसद् छिर्ने गरेको बताउँछन् । २०४८ साल देखि राष्ट्रियसभाको सदस्य रहेका पौडेल २०५० सालमा प्रत्यायोजित व्यवस्थापन तथा अनुगमन समितिको सभापति निर्वाचित भए ।

‘समिति सभापति हुँदा बिहान सात बजे नै बैठक चलाउनुपथ्र्यो, म पशुपति र गुह्येश्वरीको दर्शन गरेरमात्र संसद्मा जान्थेँ, भगवान् हामीभित्र नै भएपनि त्यहाँसम्म हाम्रो सम्पर्क टुटेकाले मन्दिरमा जानुपरेको हो, नौ महिनादेखि मन्दिर प्रवेश गर्न नपाएपनि बाहिर बाहिरै दर्शन गरेर फर्कने गरेको छु’–उनले भने ।

पूर्वसांसद पौडेल सांसद हुँदा जिल्ला भ्रमण गएका बेला र २०६३ सालपछि नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति भएर दाङमा बसेका बेला बाहेक राजधानी बसेका बेला नियमित रुपमा पशुपति दर्शन गरेको बताउँछन् ।

पशुपति दर्शन विधि अनुसार नियमित पशुपतिनाथ मन्दिर दर्शन गर्ने पौडेलजस्ता सयौँ नित्य दर्शनार्थीलाई नौ महिनाको समयमा निकै खल्लो महसुस भएको छ ।

कोषलाई ७० करोड घाटा

नौ महिनादेखि पशुपतिनाथ मन्दिर बन्द गरिँदा पशुपति क्षेत्र विकास कोषलाई करोडौं आय घाटा लागेको छ । कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापा विकास निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट बजेट आउने गरे पनि कोषका कर्मचारीलाई तलब खुवाउन पर्यटकलाई दिने टिकट र भेटीघाटीबाट उठेको स्रोतबाट नै पुर्याउनुपर्ने बाध्यता भएकाले कठिन दिन आएको सुनाउँछन् ।

पशुपति क्षेत्रमा रहेका फूल प्रसाद बेच्ने पसल नौ महिनादेखि बन्द छ । पसल बन्द हुँदा व्यापारीले कोषलाई भाडा तिरेका छैनन् । पशुपति क्षेत्रमा रहेका पर्यटकीय काउन्टर समेत बन्द छन् । नौ महिनाको अवधिमा कोषलाई करिब ७० करोड घाटा लागेको कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउँछन् ।

पशुपति क्षेत्रमा घाट सेवा भने नियमित रुपमा सञ्चालनमा छ । कोरोनाबाट निधन भएकाको शवदाह गर्न विद्युतीय शवदाह गृहमा विशेष व्यवस्था गरिएको छ । घाट सेवामा भने कोषले उदाहरणीय काम गरेको प्रतिक्रिया सेवाग्राहीको छ । बन्दाबन्दीको सुरुमा घाटमा कम शव आएपनि पछिल्लो समय संख्या बढ्न थालेको छ ।

असोजदेखि नै भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पशुपतिनाथ मन्दिर खोलिनुपर्ने माग गर्दै विश्व हिन्दू महासंघको नेतृत्वमा दर्जनौँ धार्मिक संस्था सहभागी भई पशुपति क्षेत्रमा बिरोध प्रदर्शन सुरु भएको थियो । पछिल्लो समय मन्दिर दक्षिणढोका बाहिर बेलुकी दीप प्रज्ज्वलन गरी मन्दिर खोल्नुपर्ने माग राखी सांकेतिक प्रदर्शन भइरहेको थियो ।

कोषका सदस्यसचिव डा.प्रदीप ढकाल भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर राष्ट्रदेवको दर्शन गर्न पाउनुपर्ने भक्तजनको मागअनुसार नै पुस १ गते बुधबारदेखि मन्दिर खोल्न लागिएको बताउँछन् । नौ महिनासम्म भक्तजनका लागि मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मंगलबार बिहान क्षमा पूजा गर्न लागिएको जानकारी पनि उनले दिए ।

पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुनेछैन ।

कोरोनापछि अन्य क्षेत्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गरिएपनि पशुपतिनाथलगायत मठ, मन्दिर, चैत्य, गुम्बा भौतिक दूरी कायम गरी खुला गर्नुपर्ने माग गर्दै असोजदेखि पशुपति क्षेत्रमा विश्व हिन्दू महासंघको नेतृत्वमा सांकेतिक बिरोध प्रदर्शन भइरहेको थियो । बुधबारदेखि मन्दिर खोल्न लागिएकामा ती संस्थाले पनि मंगलबार पशुपति क्षेत्र परिसरमा विशेष पूजा आराधना गर्दैछन् ।

इतिहासमा पशुपतिनाथ मन्दिर नौ महिनासम्म बन्द रहेको प्रामाणिक तथ्य वंशावलीलगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि शोध गर्नुभएको कोषका पूर्वसदस्य सचिव डा.गोविन्द टण्डनले जानकारी दिए ।

नौमहिने यो अवधिमा धेरै पर्यटक आउने साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पनि भक्तजनले मन्दिर बाहिरैबाट परिक्रमा गरेर चित्त बुझाउन बाध्य हुनुपरेको थियो । यी पर्वमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्थे । भक्तजन नआउने भएपछि पशुपति क्षेत्र वरपरको बजारको व्यापारमा समेत कमी आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट