मेस्सीप्रति कडा रामोसको नरम टिप्पणी-Sutra News

मेस्सीप्रति कडा रामोसको नरम टिप्पणी

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोस र मेस्सीबीच फुटबल नछोइकन पनि  मैदानमै धेरैपटक घम्साघम्सी हुँदै आएको छ। उनले विगतमा मेस्सीमाथि सधैं कट्टर दुश्मनको रुपमा प्रतिक्रिया दिँदै आइरहेका थिए।



तर नयाँ सिजन २०२०-२१ को संघारमा भने उनले आफ्नो कट्टर प्रतिद्वन्द्वी बार्सिलोना र मेस्सीबारे आफ्नो नरम धारणा राखेका छन्। ला लिगामा नयाँ सिजनको पहिलो खेल खेल्नुअघि ‘मार्सा’सँग कुरा गर्दै रामोसले नयाँ सिजन रियलले सबै ठूला उपाधि जित्ने दाबी गरेका छन्। साथै, रामोसले बार्सिलोनाका कप्तान मेस्सीले क्लब छाड्ने निर्णय लिएर पनि पछि निणर्य फिर्ता लिएको विषयमा समेत टिप्पणी गरेका छन्।

‘हाम्रा लागि नयाँ सिजन भोलिबाट सुरु हुँदैछ। नयाँ चुनौति र लक्ष्य प्राप्त गर्न हामी सबै हिसाबले तयार छौं। हामीले प्रशिक्षण निकै राम्रोसँग पूरा गरेका छौं। हरेक खेलाडी नयाँ सिजनमा प्रवेश गर्न उत्साहित छन्,’ रामोसले भनेका छन्।

अझै पनि दर्शकबिनै फुटबल खेल्नुपर्दा खल्लो हुन्छ रामोदले भनेका छन्, ‘दर्शकबिनाको फुटबल साँच्चै अशोभनीय हुन्छ। हामीले अझै पनि बन्द रंगशालामा फुटबल खेल्नुपर्दा नराम्रो लाग्छ। तर, यो परिस्थितिको नतिजा हो। मलाई लाग्छ, अब हामी बिस्तारै रंगशालामा दर्शकलाई पाउनेछौं। फुटबलमा रमाइला दिन बिस्तारै फर्किनेछन्।´

रामोसले मेस्सीमाथि नम्र टिप्पणी गरेका रामोसले लालिगा टिमसहित सम्पूर्ण युरोपेली टिमहरुलाई ठाडो चेतावनी दिँदै आएका छन्। `रियल मड्रिड यसपटक सबैखाले घरेलु प्रतियोगितासहित च्याम्पियन्स लिग जित्न सक्षम छ। आजमात्रै हैन, हामी सधैं सबै उपाधि जित्न चाहन्छौं,´ उनले भनेका छन, `हामीले केही नजितेका सिजन पनि हाम्रो लक्ष्य यही हुन्थ्यो। तर, हामी यसपटक गत सिजनको भन्दा राम्रो गर्न चाहन्छौं। हामी सबै घरेलु प्रतियोगिताको च्याम्पियन बन्न चाहन्छौं। च्याम्पियन्स लिग हाम्रा लागि सधैं विशेष हुन्छ। यसपटक त्यसका लागि विशेष ध्यान दिनेछौं।’

ला लिगामा बार्सिलोनासँगको प्रतिस्पर्धाबारे बोल्दै उनले भने, ‘उनीहरू एक बलिया टोली हुन्। गत सिजन उनीहरू उपाधिविहीन बने। अवश्य पनि, यसपटक उनीहरू उपाधि जित्न चाहन्छन्। यो सामान्य हो। सबै टिम जित्नकै लागि खेल्छन्।’

उनको विचारमा यसपटक घरेलु प्रतियोगितामा चार टोलीबीच मुख्य प्रतिस्पर्धा हुनेछ। एथ्लेटिको र सेभिल्लाले पनि यसपटक राम्रो गर्न सक्ने उनको अनुमान छ।

रामोसले मेस्सीले बार्सिलोना छाड्ने निर्णय फिर्ता लिएकोप्रति आफ्नो भनाइ राखे। ‘उनको (मेस्सी) क्लब छाड्ने निर्णय मेरा लागि नसोचेको थियो। किनभने, मेस्सीले बार्सिलोना छाड्छन् भन्ने मैले कहिल्यै सोचिनँ। त्यहाँ के-के भयो, मलाई थाहा छैन। तर, उनले अन्तिम समयमा निर्णय फिर्ता लिन्छन् भन्नेमा ढुक्क थिएँ,’ रामोसले भने, ‘मेस्सीको सरुवा फी कसैले तिर्न सक्दैन। उनलाई जुनै क्लबले भित्र्याए पनि तलब दिन सक्दैनन्। म क्लब छाड्दिनँ भन्ने कुरा क्लब छाड्ने निर्णय गर्दै पनि मेस्सीलाई राम्रोसँग थाहा थियो।’

मेस्सीले अब बार्सिलोना नछाड्ने र उनले अन्य लिगमा गएर खेल्न समय सकिसकेको बताए। ‘मलाई लाग्छ, उनले बार्सिलोना छाड्नेछैनन्। उनले सम्झौता थपेर बार्सिलोनाबाटै करिअर अन्त्य गर्नेछन्। वा, अन्तिम वर्ष अर्जेन्टिना जान सक्छन्,’ रामोसले भने, ‘प्रिमियर लिगमा गएर खेल्ने मेस्सीको समय घर्किसकेको छ।’

उनले मेस्सी ला लिगामा रहनु धेरै गर्वको कुरा रहेको बताँउदै उनले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डोको पनि याद गरे। ‘मेस्सीसँग मेरो प्रतिस्पर्धा केवल मैदानमा मात्रै हो। मैदानबाहिर एक उत्कृष्ट खेलाडीका रूपमा उनीप्रति मेरो सधैं उच्च समान हुन्छ। उनी ला लिगामा रहनु लिग र स्पेनिस फुटबलका लागि धेरै राम्रो हो। बार्सिलोनाका लागि झन् राम्रो हो। किनभने, उनले यहाँ सिंगै करिअर बिताउँदैछन्। क्रिस्टियानो र उनीजस्ता खेलाडी जुनसुकै लिगमा रहनु पनि राम्रो हो। उनीहरूले लिगको चर्चा र महत्त्वमात्रै बढाउँदैनन्, दर्शक पनि बढाउँछन्। उनीहरूजस्ता खेलाडीले लिगलाई उत्कृष्ट बनाउन मद्धत गर्छन्।’

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट