१० टिकटकर, जो म्युजिक भिडियोमा उदाए-Sutra News

१० टिकटकर, जो म्युजिक भिडियोमा उदाए

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं- नेपालमा पहिले फेसबुक धेरै लोकप्रिय थियो। अहिले इन्स्टाग्राम र टिकटक छ। १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने टिकटकमा गीत र सम्वादमा अभिनयसमेत गर्न सकिन्छ। यो एप्स विश्वभर झन्डै १० करोडभन्दा बढीले प्रयोग गर्ने गरेका छन्।



टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रिय छ। घर–घरमा कलाकार छन् भन्ने कुरा टिकटकले प्रमाणित गरिदिएको छ टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चामा आएका छन्।

नेपालमा पनि टिकटकमा गरेको अभिनयबाट चर्चामा आएका रेश्मा घिमिरे, अमिता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा, सुधिर श्रेष्ठ आदिको जोडी त उदाहरणका लागि केहि नामहरु मात्र हुन्।

त्यसो त ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गरेर भिडियो राख्ने गर्छन्। टिकटकमा रुचाइएका अनुहार अहिले म्युजिक भिडियो र फिल्ममा समेत देखिन थालेका छन्।

आउनुहोस् ती १० टिकटकरको चर्चा गरौं।

सुधिर श्रेष्ठको जोडी
सुधिर श्रेष्ठका अहिलेसम्म टिकटकमा ३ लाख ९५ हजार फ्लोवर्स छन्। टिकटकमा अपलोड गरेका भिडियोमा छिनभरमै उनले हजारौ लाईक र कमेन्ट पाइहाल्छन्। बजारमा नयाँ गीत सार्वजनिक हुँदा धेरै निर्देशकले त उनीहरुलाई टिकटकमा आफ्नो गीतको भिडियो बनाउन आग्रह पनि गर्छन्। टिकटकमा निकै रुचाइएको यो जोडी अहिले म्युजिक भिडियोमा समेत देखिन थालेको छ। ‘माया गरौँला’, ‘कहिले माया गर्यौ’ र ‘ए है माया’ सुधीरले अभिनय गरेका म्युजिक भिडियो हुन्। टिकटकमा चलचित्र ‘कोहिनुर’को गीतमा अभिनय गरेर राखेको भिडियोबाट यो जोडी चर्चामा आएको थियो। धेरैले यो जोडीलाई दिवंगत श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्काको जोडी जस्तै भनेर कमेन्ट गरेका थिए।

प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा (ट्विनी गल्र्स)
प्रिज्मा खतिवडा र प्रिन्सि खतिवडा जुम्ल्या दिदी बहिनी हुन्। यी दिदी बहिनीको टिकटकमा लोभलाग्दो क्रेज छ। टिकटकमा ६५ लाख फ्लोवर्स भएका यी दिदी बहिनीले धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। ‘हाम्रो माया जिन्दावाद’ प्रिज्मा र प्रिन्सिले अभिनय गरेको पहिलो म्युजिक भिडियो हो। हालसम्म ३६ लाख बढिले यो भिडियो हेरिसकेका छन्। यी दिदी बहिनीले एउटा म्युजिक भिडियोबाट ९० हजारसम्म प्राश्रमिक लिने चर्चा छ।

अमिता गुरुङ
अमिता गुरुङ पोखरामा बस्छिन। टिकटककी ‘कमेडी क्वीन’ भनेर चिनिने उनको पनि टिकटकमा लोभलाग्दो फ्यान फ्लोवर्स छन्। टिकटमा उनलाई १२ लाखले फलो गरेका छन्। उनले टिकटकमा राख्ने १५ सेकेण्डको भिडियोमा धेरै कमेडी हुन्छ। रमाइलो सम्वादमा उनले गरेको लिपसिन र हाउभाउले धेरैलाई हसाउँछ। ‘मंगसिर’ उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो हो। उक्त गीतलाई अहिलेसम्म १२ लाखभन्दा बढी द्रशकले हेरिसकेका छन्। म्युजिक भिडियोमा कम देखिए पनि टिकटकमा भने उनको क्रेज राम्रो छ।

मन्जिल बस्नेत
पछिल्लो समय धेरै म्युजिक भिडियोमा देखिने अनुहार हो, मन्जिल बस्नेतको चकलेटी फेस। अभिनय र नृत्य दुबैमा पोख्त मन्जिलको क्रेज पनि राम्रो छ। टिकटकमा उनको २ लाख ६९ हजार फ्लोवर्स रहेको छ। ‘घाममा सुकाईदेउ’ , ‘तरकारी’ र ‘लभलेटर’ दर्शकमाझ निकै लोकप्रिय भएका उनले अभिनय गरेका म्युजिक भिडियो हुन्।

रेश्मा घिमिरे
रेश्मा घिमिरे टिकटकमा प्रवेश गर्नुभन्दा अघि नै नायिका भैसकेकी थिइन्। चलचित्र ‘यो साइनो मायाको’बाट नेपाली रजतपटमा प्रवेश गरेकी रेश्माको फिल्म त् रिलिज भयो तर न फिल्मले चर्चा पायो, न उनले। नेपाली फिल्मबाट टाढा रहेकी रेश्मा जब टिकटकमा प्रवेश गरिन तब उनको चर्चा एकाएक चुलियो। उनलाई फिल्म र म्युजिक भिडियोमा काम गर्ने अफर आउन थाले। उनले फिल्ममा अभियन त गरिनन् तर म्युजिक भिडियोहरुमा भने अभिनय गरिन्। ‘गलबन्दी पछ्यौरी’ रेश्माले एक महिना अघि अभिनय गरेको म्युजिक भिडियो हो। रेश्मा अभिनयसँगै नर्सिङ पेसामा पनि आबद्ध छिन्। रेशमाको टिकटकमा ११ लाख फ्लोवर्स छन्।

एभिलिना खड्का
४ वर्षको उमेरमै हिरोइनहरु सरहको हाउभाउ र अभिनय कला प्रस्तुत गर्ने एभिलिना टिकटकमार्फत् सबै माँझ चिनिएकी छन्। उनी पनि टिकटक हुँदै अहिले म्युजिक भिडियोमा समेत ब्यस्त बन्न थालेकी छन्। उनको टिकटकमा २ लाख ४७ लाख भन्दा बढि फ्लोवर्स छन्।

शैलिन श्रेष्ठ
टिकटकमा भाइरल बालकलार भन्दा फरक नपर्ला शैलिन श्रेष्ठलाई। उनका बुबा सजित श्रेष्ठले खिचिदिएको टिकटक भिडियोबाट भाइरल बनेकी शैलिनको टिकटकमा फ्लोवर्स मात्र ४ लाख ६८ हजार छन। युट्युब र फेसबुकमा उनको भिडियो खोजी खोजी हेरिन्छ। उनी पनि केही म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन्। ‘आँखी झ्याल’, ‘नक्कली’ उनले अभिनय गरेका म्युजिक भिडियो हुन्। उनले धेरै विज्ञापनमा समेत अभिनय गरेकी छन्।

एलिसा मगर
एलिसा मगरले अभिनय गरेका धेरै म्युजिक भिडियो ‘ट्रेन्डिङ’मा पर्ने गर्छन्। उनले अभिनय गरेका ‘लाहुरे’ निकै नै रुचाईएको गीतमा पर्छ। त्यस्तै उनले ‘शिरफुल’ १ र २ मा पनि अभिनय गरेकी छन्। उनी पनि टिकटकबाट म्युजिक भिडियोमा प्रवेश गरेकी हुन्। ‘प्रदेशी’, ‘ हिजो आज’, ‘पहिलो भेटमै’ जस्ता लाखौं भ्युज गएका भिडियोमा उनले अभिनय गरिसकेकी छिन। उनको टिकटकमा ४ लाख ६९ हजार फ्लोवर्स छन्।

उषा उप्रेती
पछिल्लो समय म्युजिक भिडियोमा देखिएको नयाँ अनुहार हो उषा उप्रेतीको। ‘माया गरौला’ उनले अभिनय गरिरहेको म्युजिक भिडियो अहिले ‘ट्रेन्डिङ’मै छ। टिकटकमा ८ लाख ६९ हजार बढी फ्लोअर्स बटुलेकी झापाकी उषा उप्रेती पनि अहिले म्यूजिक भिडियोमा व्यस्त हुन थालेकी छन्।

सुनिषा बजगाई
सुनिषा बजगाईको टिकटकमा २ लाख ९५ हजार फ्लोवर्स छन्। उनी पनि पछिल्लो समय नेपाली म्युजिक भिडियोमा ब्यस्त हुन् थालेकी छन्। सानै उमेरदेखि कलाकारितामा रुचि राख्ने सुनिशाको ‘माया गरौला’ बोलको म्युजिक भिडियो हालसालै रिलिज भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट