जन्मदिनमा दीपाश्रीको आत्मबोध, ‘अग्रज कलाकारमाथि टिप्पणी गरेर भुल गरेँ’-Sutra News

जन्मदिनमा दीपाश्रीको आत्मबोध, ‘अग्रज कलाकारमाथि टिप्पणी गरेर भुल गरेँ’

आइतबार, ७ भाद्र २०७७

आइतबार, ७ भाद्र २०७७

काठमाडौं– हास्य अभिनेत्री तथा निर्मात्री दिपाश्री निरौलाले केही दिनअघि एक टिभी कार्यक्रममा आफूले अभिनेता राजेश हमालमाथि गरेको टिप्पणीलाई लिएर माफी मागेकी छन्। आइतबार आफ्नो जन्मदिनको अवसरमा फेसबुकमा एक भिडियो राख्दै उनले आफूले बोलेको विषयमा माफी मागेकी हुन्।



उनले आफूले काममा सफलता पाए पनि व्यक्तित्व विकासमा असफल भएको बताएकी छन्। ‘मिडियामा कसरी बोल्ने, कसरी जवाफ दिने भन्ने कुरामा मेरो कमजोरी रहेछ,’ उनले भनेकी छन्।

केही समयअघि उनले फिल्मसम्बन्धी एक कार्यक्रममा राजेश हमाल महानायक हो र भनेर प्रश्न सोझाएकी थिइन्। आफू उक्त अन्तर्वार्तामा विना तयारी गएकोमा बोल्दा गल्ती भएको दिपाले उल्लेख गरेकी छन्। भिडियोमा उनले भनेकी छन्, ‘अन्तर्वार्तामा ममाथि गरिएका पेचिला प्रश्नहरुले मैले आफूलाई कन्ट्रोल नै गर्न सकेकी थिइनँ । म आवेशमा आएँ । मैले अन्तर्वार्तामा कूटनीतिक चलाखी देखाउन नसकेर आफूभन्दा अग्रज कलाकारमाथि टिप्पणी गरेर भुल गरेँ।’

भिडियोमा निकै भावुक हुँदै उनले राजेश हमालमाथि गरेको टिप्पणीमा आफूले शब्द चयनमा गल्ती गरेको बताएकी छन्। उनले भनेकी छन्, ‘मलाई दिनानुदिन निकै गाली गलोजका शब्दहरु आए। मलाई निकै आत्मग्लानी भयो।’

आफ्नो कारणले आफूसँग रहेको चलचित्रको टिमलाई समेत आक्रमण भएको भन्दै उनले भनेकी छन्, ‘मेरो कारण मेरो टिममा पनि आक्रमण भयो । टिम पनि संकटमा पर्‍यो । यो घटनाले मलाई निकै आत्मग्लानी भयो ।’

विवादको लामो समयपछि जन्मदिनको अवसरमा फेसबुक लाइभमा आएकी उनले आगामी दिनमा कहिल्यै यसरी गल्ती नगर्ने बताएकी छन् । सँगै, आगामी दिनमा आफ्नो व्यक्तित्व विकासमा ध्यान दिने र राम्रा चलचित्र बनाउने प्रण गरेकी छन् ।

तर, दिपाले माफी मागिरहँदा राजेश हमालको ‘महानायक’ पदवीमाथि प्रश्नहरु गर्नेहरु पनि छन् । हमालले आफ्नो २५ वर्ष लामो करिअरमा सिनेमाको संख्या बढाउन भूमिका खेलेपनि स्तरीय सिनेमा निर्माण चुकेको तर्क गर्नेहरु पनि छन् ।

दीपाश्रीको विवादपछि फिल्म समीक्षक एवं निर्देशक दीपेन्द्र लामाले स्टाट्स नै लेखेका थिए, ‘पत्रकार मित्र कुसुम भट्टराईले राजेश हमाल होइन, भुवन केसी महानायक हुन् भनेर लेख्नुभएछ। हो राजेश हमालभन्दा भुवन केसीका फिल्म तैबिसेक राम्रा छन्। तर मेरो विचारमा राजेश, भुवन र शिव श्रेष्ठ कोही पनि महानायक होइनन्। उनीहरु आफ्नो जमानाका सफल अभिनेता हुन्। तीनै जनाले कालजयी फिल्म खेल्न बाकी रहेको छ। इतिहासको समीक्षा गर्न र सत्य बोल्न किन डराउने?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट