रविको इन्ट्रीसँगै जीबी राईको खोजी सेलाएको हो ?-Sutra News

रविको इन्ट्रीसँगै जीबी राईको खोजी सेलाएको हो ?

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहेका रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार जीबी राईलाई जसरी पनि खोजेर ल्याउने बताएका थिए । राईलाई खोज्न सरकारले पूर्ण बल लगाएको लामिछानेको भनाई थियो ।



“म भन्न चाहन्छु, आकाश–पाताल जहाँ रहेको भए पनि समाएर ल्याउँछौं, समय लाग्ला, कसले भगायो त्यो पनि खोज्छौं”, लामिछानेले भनेका थिए ।

तर, जसरी अन्य काण्डमा जोगाइएका मानिसको पक्राउ तथा खोजी कार्यमा तदारुकता देखाइएको छ, यसमा भने त्यस्तो तदारुकता देखाइएको छ । सहकारी ठगी प्रकरणमा स्वयम् लामिछाने पनि मुछिएका छन् । लामिछानेकै योजनामा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनको निम्ति नै विभिन्न सहकारीबाट अर्बाैं रकम संकलन गरिएको थियो । तत्कालिन समय ग्यालेक्सी टिभीको सञ्चालक संस्था गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई भएपनि समूहमा लामिछाने पनि थिए ।

यदि लामिछाने निष्पक्षरुपमा सहकारी ठगी प्रकरणमा मुछिएका राईसहितलाई कठघारामा ल्याउन चाहन्छन् भने कुनै दिनको भाका राख्नुपर्दैन । यसअघि नै जीबी राई मलेसियामा छन् भन्ने सूचनाका आधारमा नेपाल प्रहरीले अन्तराष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोललाई पत्राचार गरिसकेको छ । लामिछाने गृहमन्त्री हुनुअघि गरिएको उक्त पत्राचार अहिले सेलाएको देखिन्छ ।

यदि सरकारले तदारुकता देखाउने हो भने प्रहरीले तत्कालै राईलाई समात्न सक्छ । राईको राहदानी खोस्दै नेपाल पठाउन सक्छ । सरकारले चाहँदा यति गम्भीर कसुरमा संलग्न व्यक्ति देशमा झिकाउन कुनै जटिलता आउँदैन ।

यसअघि पनि विभिन्न देशबाट सरकारले इन्टरपोलको सहयोगमा विभिन्न कसुरका व्यक्तिलाई पक्राउ गरी मुलुकमा ल्याएको छ । यस्तोमा मलेसियाबाट पक्राउ गर्न कुनै दिन कुर्नुपर्दैन । तर, गृहमन्त्री लामिछानेकै अभिव्यक्तिलाई हेर्दा राई थप गुमनाम बनाउन खोजिएजस्तो देखिन्छ । मलेसियामा भएको भन्ने सूचनालाई नै अफबा बनाउन खोजिएको छ ।

गृहमन्त्री लामिछानेले आफूलाई चोख्याउने सन्दर्भमा प्रयोग गरेको मञ्चमा विरोधीलाई चेतावनी पनि दिएका थिए । उनले कालोधन लुकाउने कसैलाई नछाडिने बताएका थिए । “जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीहरूमा क–कसको अवैध पैसा लागेको छ, राखिएको छ, अब त्यसको पनि हिसाब हुन्छ”, चेतावनीपूर्ण भाषामा लामिछानेले भनेका छन्, “कसले आफ्नो कालोधन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ, दूधको दूध, पानीको पानी निस्कन्छ ।”

तर, कुनै अपराधीलाई बाँकी राख्दिन भन्ने गृहमन्त्रीले किन यतिका दिनसम्म पनि राईलाई खोज्न सकेका छैनन् ? अन्य प्रकरणका फाइललाई सहजरुपमा खोल्न खोजेका लामिछानेले किन सहकारी प्रकरणको फाइललाई सहज मानिरहेका छैनन् ? प्रश्न असामान्य छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट