अब शिक्षित र नयाँ पुस्ताको नेतृत्व चाहिन्छ भन्नु ऱ्याल चुहाउने पुस्ताको अपमान होइन-Sutra News

अब शिक्षित र नयाँ पुस्ताको नेतृत्व चाहिन्छ भन्नु ऱ्याल चुहाउने पुस्ताको अपमान होइन

आइतबार, १५ साउन २०७९

आइतबार, १५ साउन २०७९

नारायण गाउँले । बुहारी या ज्वाइँ खोज्दा हामीलाई ‘पढेको’ चाहिन्छ । लमीले नपढे पनि केटा योग्य छ भन्यो भने हामी कन्भिन्स हुन्नौं । पढेको मात्र होइन, त्यो पढ़ाइ मार्केटमा बिक्न सक्ने क्वालिटीको हो होइन भन्ने पनि चाहिन्छ । आफ्नो छोरा या छोरीले स्कुल ‘बङ्क’ गर्दै पढेर के हुन्छ र भन्यो भने हामी हो त नि भन्न पक्कै सक्दैनौं । हामीलाई थाहा छ, नपढी त झन केही हुँदैन ।



एउटा सामान्य स्कुल खोल्यौं भने पनि चिन्जानकै भरमा नपढेको व्यक्तिलाई शिक्षकको जागिर दिन हामीलाई अप्ठेरो लाग्छ । एउटा निजी कम्पनी खोल्नुभो भने जानेको छ भन्ने भरमा स्कुल पनि पूरा नगरेको कसैलाई लेखापालको जिम्मेबारी पक्कै दिनुहुन्न । गर्दै जाँदा सिकिहाल्छ नि भन्ने तर्क यहाँ चल्दैन । तपाईंलाई थाहा छ, सामान्य हिसाब त गर्ला, तर कुनै दिन ठूलो अप्ठेरोमा उसले डुबाउन पनि सक्छ ।

तर जब देशको कुरो आउँछ, राजनीतिको कुरो आउँछ, एकाएक नपढे पनि योग्य छ भन्ने दिव्य ज्ञान कसरी आउँछ ? तपाईंको कम्पनीमा लेखापाल हुन अयोग्य मान्छे तपाईंकै नजरमा देशको अर्थमन्त्री हुन कसरी योग्य हुन्छ ? तपाईंको स्कुलमा

पढ़ाउन समेत अयोग्य मान्छे देशकै शिक्षामन्त्री हुन कसरी योग्य हुन्छ ? तपाईंले नपढेको व्यक्तिलाई शिक्षकको जागिर नदिनु उसको अपमान होइन ।तपाईंले अयोग्य व्यक्तिलाई भोट नदिनु उसको अपमान होइन । देशप्रतिको तपाईंको आस्था र कर्तव्य हो ।

हाम्रो बुबाको पाला एसएलसी पास गरेपछि सम्मानित जीवन बिताउन पर्याप्त हुन्थ्यो । जिन्दगी भागदौडमैं थियो, तर साइकिलको स्पिडले त्यसलाई भेटाउन सकिन्थ्यो । मेरो समय आइ पुग्दा नपुग्दै मास्टर गर्न पर्ने भयो । प्रतिष्पर्धा तीव्र हुँदै जाँदा साइकिलको स्पिडले जिन्दगीलाई भेटेन । मोटरसाइकिल चढ्न पर्ने भयो ।

अबको पुस्ता मजत्तिको स्पिडले कहीँ पुग्दैन । मेरो बुबाको स्पिडले त बाँच्न पनि सक्दैन । हरेक दिन नयाँ चुनौती, नयाँ आयाम, नयाँ प्रविधि, नयाँ ज्ञान र नयाँ सम्भावना थपिएका छन् र स्पर्धा पनि हरेक दिन झन कड़ा हुँदै गएको छ । मेरो बुबाको लागि एउटा समाचार हप्ता दिनसम्म नयाँ हुन्थ्यो, मेरा लागि हरेक दिन अपडेट चाहिन्छ । मेरो छोरा हरेक घण्टा अपडेट हुन सकेन भने पछि पर्छ । यो तपाईंलाई राम्ररी थाहा छ ।

देश पनि यस्तै हो । हिजोको देश जसले चलाए पनि चल्थ्यो, र चलेजस्तो लाग्थ्यो । हिजो भारत चिने पुग्थ्यो, आज विश्वसँग प्रतिस्पर्धा गर्न पर्छ । अब देशको नेतृत्व फेर्ने बेला भयो । छोरालाई पीएचडी नगरी ‘करियर’ सफल हुँदैन भन्नु नपढेको हजुरबुबाको अपमान होइन, फेरिएको समय र प्रतिष्पर्धाको सम्मान हो । अब शिक्षित र नयाँ पुस्ताको नेतृत्व चाहिन्छ भन्नु ऱ्याल चुहाउने पुस्ताको अपमान होइन ।

सबै कुरा एकै पटक फेर्न सकिन्न । पूर्ण रूपान्तरण एकै पल्ट पक्कै हुँदैन । यसपालि दलहरूबीच रूपान्तरणको बिउ छरौं । कथित शीर्ष भनिने र बारम्बार परीक्षित नेतालाई बिदा गरौं । खाली ठाउँ युवा पुस्ताले लिन्छ । यति खराब नेताबाट शासित छौं कि कम्तिमा यसभन्दा खराबको डर हामीलाई छैन । #पूर्वप्रधानमन्त्रीहराऊँ अभियान व्यक्तिविशेष भन्दा पनि साङ्केतिक अभियान बनोस्, सुरुवात बनोस् ! मेरो ऐक्यबद्धता !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट