राष्ट्रियसभा सदस्य निर्वाचन: एमाले हार्ने लगभग पक्का-Sutra News

राष्ट्रियसभा सदस्य निर्वाचन: एमाले हार्ने लगभग पक्का

शनिबार, १ माघ २०७८

शनिबार, १ माघ २०७८

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हँुदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।



निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।

लुम्बिनी प्रदेशमा प्रतिपक्षी एमाले र स्वतन्त्र सांसद मिल्दासमेत सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कुनै सम्भावना छैन । एमाले र एक स्वतन्त्र सांसदबाहेक अरू सबै दल पाँच दलीय गठबन्धनमा छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा विभिन्न समूहतर्फको १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको हो । पाँच दलीय गठबन्धनसँग एमालेका उम्मेदवारहरू सबै प्रदेशमा पराजित हुने मतभारले देखाउँछ । लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समूह गरी तीन सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् ।

तीनवटै समूहबाट एक–एक जना निर्वाचित हुनेछन् । तीनवटै समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको छ । महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र प्रमुख प्रतिपक्षी एमालेकी भारती उपाध्याय खनालले उम्मेदवारी दर्ता गराएका छन् । दलिततर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा र एमालेका कृष्ण सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, अन्य समूहतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसका युवराज शर्मा र एमालेका रामदयाल गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । कसको मतभार कति ? लुम्बिनी प्रदेशमा ८२ जना प्रदेशसभा सदस्य रहेका छन् । यस्तै स्थानीय तहका प्रमुख, उपप्रमुख २ सय १४ जना रहेका छन् । यिनीहरूले नै राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई मतदान गर्ने कानुनी व्यवस्था रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८ हो ।

लुम्बिनी प्रदेशमा जम्मा मतभार ७ हजार सात सय ८८ रहेको छ । प्रदेशसभाका सदस्यको ३ हजार ९ सय ३६ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार ३ हजार ८ सय ५२ रहेको छ । सत्तारूढ गठबन्धनमा रहेको कांग्रेसको लुम्बिनी प्रदेशमा सांसद संख्या १९ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ६६ रहेको छ । जसको मतभार २ हजार १ सय हुन्छ । माओवादी केन्द्रको सांसद संख्या १९ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ४२ रहेको छ । जसको मतभार १ हजार ६ सय ६८ हुन्छ । एकीकृत समाजवादीको लुम्बिनी प्रदेशमा एक जना सांसद छन् भने प्रमुख, उपप्रमुखको संख्या शुन्य रहेको छ । एकीकृत समाजवादीको मतभार ४८ मात्रै छ । जसपाको सांसद संख्या चार रहेको छ ।

लुम्बिनी प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको संख्या १४ रहेको छ । जसपाको मतभार ४ सय ४४ हुन्छ । सत्तारूढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेशमा सांसद संख्या एक र प्रमुख, उपप्रमुखको संख्या पाँच रहेको छ । जनमोर्चाको मतभार १ सय ३८ हुन्छ । प्रमुख प्रतिपक्षी दल एमालेको लुम्बिनी प्रदेशमा सांसदको संख्या ३७ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ८७ रहेको छ । यसआधारमा एमालेको मतभार ३३ सय ४२ हुन्छ ।

यस्तै, यस प्रदेशमा एक स्वतन्त्र सांसद रहेको छ । जसको मतभार ४८ हुन्छ । लुम्बिनी प्रदेशमा सत्तारूढ गठबन्धनको मतभार ४ हजार ३ सय ९८ हुन्छ । सत्तारूढ दलबाहेकका एमाले र स्वतन्त्र सांसदबीच गठबन्धन गर्दा उनीहरूको मतभार ३ हजार ३ सय ९० मात्रै हुन्छ । लुम्बिनी प्रदेशमा अरू दलभन्दा बलियो रहेको एमालेले सत्तारूढ गठबन्धनसँग एक्लै प्रतिपस्पर्धा गर्न सक्ने अवस्था छैन ।

स्वतन्त्र सांसदसमेतले एमालेलाई समर्थन गर्दा सत्तारूढ गठबन्धनका उम्मेदवारहरू सहजै विजयी हासिल गर्न सक्छन् । अरू प्रदेश जस्तै लुम्बिनी प्रदेशमा समेत सत्तारूढ गठबन्धनका उम्मेदवारहरू विजयी हुने निश्चित रहेको मतभारले देखाउँछ ।

लुम्बिनी प्रदेशमा दलहरूको मतभार
एमालेः ३३४२
कांग्रेसः २१००
माओवादीः १६६८
जसपाः ४४४
जनमोर्चाः १३८
एकीकृत समाजवादीः ४८
स्वतन्त्रः ४८
सत्तारूढ गठबन्धनः ४३९८
सत्ताइतरः ३३९०

राजधानी दैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट