एमाले महाधिवेशनमा पूर्व माओवादीको हालत : दिए खाने, नदिए चुप लाग्ने-Sutra News

एमाले महाधिवेशनमा पूर्व माओवादीको हालत : दिए खाने, नदिए चुप लाग्ने

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

 सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेशनले यतिबेला सबैको ध्यान खिचेको छ । एमालेभित्र ओली समूह, ‘दश भाइ’ समूह र पूर्व माओवादी समूहको मनोविज्ञानलाई सम्बोधन गर्नैपर्ने दबाबमा रहेका अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय कमिटी र पदाधिकारीको नाम सूची छान्ने जिम्मेवारी दिइएको छ ।



नेतृत्व छान्ने जिम्मेवारी ओली आफैंले लिएको भए पनि संख्या भन्दा आकांक्षी धेरै भएपछि ओली यतिबेला तनावमा परेका छन् । अध्यक्षमै ओलीलाई भीम रावलले चुनौती दिएका छन् भने महासचिवमा ओली गुटकै नेताहरू भिडिरहेको अवस्था देखिएको छ ।

वरिष्ठ उपाध्यक्षमा पनि ओलीले सर्वसम्मत नेता प्रस्ताव गर्न सकिरहेका छैनन् । सबैभन्दा रोचक बनेको छ – पूर्वमाओवादीलाई समेट्ने विषय ।

ओली निकटकै नेताहरू पदका लागि रस्साकस्सी गरिरहेका भएता पनि माओवादी छोडेर एमालेमा लागेका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका नेताहरू मौन छन् । उनीहरूले ओलीले जति दिन्छन् त्यति खाने पक्षमा देखिन्छन् ।

ओलीले बादललगायतका केही पूर्व माओवादी नेताहरूलाई बोलाएर छलफल पनि गरेका थिए । १९ पदाधिकारी संख्यामध्ये ओलीले जम्मा दुई पदाधिकारी पूर्व माओवादी समूहलाई दिने बताए । त्यसमा उनीहरूले नाइँनास्ती गरेका छैनन् ।

‘हामी यतिबेला यही नै चाहिन्छ भन्ने पक्षमा छैनौं,’ एक पूर्व माओवादी नेताले सूत्रन्यूजसँग भने, ‘सहमतिका लागि गरिएको प्रयासमा हाम्रो समर्थन छ । यति उती चाहियो भनेर हामीले अध्यक्षलाई बाधा पुर्याएका छैनौं ।’

स्रोतका अनुसार ३०१ केन्द्रीय कमिटीमध्ये ओली ३० भन्दा बढी संख्या पूर्व माओवादीलाई दिने पक्षमा छैनन् । पदाधिकारीमध्ये पनि बादललाई एउटा उपाध्यक्ष बनाउने र टोपबहादुर रायमाझीलाई सचिव बनाउने तयारीमा ओली छन् ।

यससँगै लेखराज भट्टको सचिव बन्ने आकांक्षामा लगाम लागेको छ । एमालेभित्रै रडाको मचिरहेको बेला पूर्व माओवादी समूह भने यतिबेला शान्त बनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट