नेताहरूले धमाधम उम्मेद्वारी दिन थालेपछि तुहियो सर्वसम्मत पदाधिकारी चयन गर्ने ओलीको सपना-Sutra News

नेताहरूले धमाधम उम्मेद्वारी दिन थालेपछि तुहियो सर्वसम्मत पदाधिकारी चयन गर्ने ओलीको सपना

सोमबार, ६ मंसिर २०७८

सोमबार, ६ मंसिर २०७८
फाइल फोटो

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आगामी महाधिवेशनमा महासचिवमा उठ्ने घोषणा गरेका छन् । यसबारे उनले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरिसकेको बताए पनि ओली भने मौन छन् ।



यही मङ्सिर १० देखि १२ सम्म चितवनमा आयोजना हुने महाधिवेशनमा पाण्डेले आफू महासचिवमा उठ्ने बताएका हुन् ।

‘यसबारे मैले अध्यक्ष ओलीजीसँग कुरा गरिसकेको छु,’ पाण्डेले भने, ‘उहाँले कुनै प्रतिक्रिया जनाउनु भएको छैन ।’

वडा र पालिका अधिवेशन सर्वसम्मत टुंग्याएको एमालेमा पदाधिकारी चयन भने  सर्वसम्मत हुने देखिएको छैन । उपाध्यक्ष भीम रावलले आइतवार आफू अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन् ।

पाण्डेले यो एकताको महाधिवेशन भएकाले आफू सर्वसम्मत रूपमा महासचिव चुनिनुपर्ने बताए । एमालेको नवौं महाधिवेशनमा तत्कालीन नेता माधवकुमार नेपालको प्यानलबाट पाण्डे महासचिवमा उठेका थिए । तर उनलाई ईश्वर पोखरेलले हराएका थिए ।

एमालेको पदाधिकारीमा आकांक्षीहरूको सूची लामो छ । ओलीलाई पूर्व माओवादी, माधव नेपाल छोडेर एमालेमै बसेका नेताहरू र आफ्नै गूटका नेताहरूलाई मिलाउन चुनौती देखिएको छ ।

ओलीले अहिलेसम्म पदाधिकारीका विषयमा मुख खोलेका छैनन् । कास्कीका खगराज अधिकारीले सचिव दाबी गरेका छन् भने ओलीनिकट मानिएका गोकुल बास्कोटाले पनि आफू सचिवमा उठ्ने बताइसकेका छन् ।

सबै मनोविज्ञान मिलाएर लैजानुपर्ने भएकाले ओली आफू अध्यक्ष बनेर पदाधिकारीमा सर्वसम्मत नेतृत्व छान्ने तयारीमा थिए । तर महाधिवेशन नजिकिदै जाँदा नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरेपछि अहिले उनी तनावमा देखिन्छन् ।

यसैबीच सोमवार ओलीले स्थायी कमिटी बैठक डाकेका छन् । महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने सम्बन्धमा बैठकमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमालेको विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि केन्द्रीय समितिले मनोनयन गर्न सक्ने व्यवस्था छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट