कोटा प्रणाली लागू गरेर बजारबाट अक्सिजन ‘अपहरण’ : स्वास्थ्य मन्त्रालयको दावी – अहिले व्यवस्थापन सहज भएको छ-Sutra News

कोटा प्रणाली लागू गरेर बजारबाट अक्सिजन ‘अपहरण’ : स्वास्थ्य मन्त्रालयको दावी – अहिले व्यवस्थापन सहज भएको छ

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

कोभिड १९ को दोस्रो लहरले यतिबेला देश आक्रान्त छ । अक्सिजनको अभावमा संक्रमितहरूको मृत्यु भएको खबर आइरहेका छन् । दैनिक ९ हजारको हाराहारीमा संक्रमितको संख्या बढिरहेको छ भने सोमवार मात्र २ सय भन्दा बढी संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।



तर अहिले अक्सिजन व्यवस्थापन केही सहज भएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । काठमाडौँ उपत्यका र बाहिर उत्पादन हुने अक्सिजनले मोटामोटी माग धान्ने स्थिति रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सूत्र न्यूजलाई बताए ।

उनले भारतबाट पनि तरल अक्सिजन ल्याएर यहाँ भर्ने काम भइरहेको जानकारी दिए । ‘अहिले अक्सिजनको व्यवस्थापन केही सहज भएको छ,’ डा. गौतमले भने, ‘भारतबाट पनि दैनिक ६/७ हजार सिलिन्डर बराबरको तरल अक्सिजन ल्याएर हामीले भरेर राखेका छौं ।’

एक तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा दैनिक करीब ६ हजार सिलिन्डर अक्सिजनको व्यवसायीक उत्पादन हुने गर्छ भने अस्पतालमा भएका प्लान्टहरूले दैनिक २५ सय अक्सिजन सिलिन्डर उत्पादन गर्छन् । उपत्यका बाहिर चाहिँ दैनिक करीब १० हजार सिलिन्डर अक्सिजन उत्पादन हुने गर्छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार नेपालमा अहिले दैनिक ४० हजार सिलिन्डर अक्सिजनको आवश्यकता रहेको छ । नेपालमै हुने उत्पादन र भारतबाट आयात गरिने अक्सिजनले माग धान्न अहिले पनि कठिन भइरहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले भने अक्सिजन व्यवस्थापन अहिले सहज बन्दै गइरहेको दाबी गरेको छ ।

कसरी भयो अक्सिजन अभाव ?

अहिलेसम्म अक्सिजनको अभाव भएकै कारण दर्जनौं संक्रमितको मृत्यु भएको छ । अक्सिजनको सहज व्यवस्थापन नहुँदा र बिना कुनै तयारी कोटा प्रणाली लागू गर्दा संक्रमितलाई अक्सिजन अभाव हुन गई मृत्युवरण गर्नुपरेको हो ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अक्सिजन अभाव देख्नेबित्तिकै केही दिनअघि कोटा प्रणाली लागू गरेको थियो । कोटा प्रणाली लागू हुनासाथ अस्पतालहरूमा अक्सिजन अभाव झन् बढ्न थाल्यो । अक्सिजनको सहायतामा उपचार गराइरहेका दर्जनौं संक्रमितहरूको ज्यान गयो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गरिएको त्यो विवादित निर्णयकै कारणले संक्रमितहरूको ज्यान गएको आरोप स्वास्थ्य मन्त्रालयकै अधिकारीहरूले लगाउने गर्छन् ।

नाम उल्लेख नगर्ने शर्तमा स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सूत्रन्यूजसँग भने – ‘सीसीएमसीको त्यो विवादित निर्णयकै कारण चरम अक्सिजन अभाव देखिएको हो ।’

उनले अक्सिजन अभाव भएको अवस्थामा कोटा प्रणाली लागू गरेकै कारणले बजारमा भएको अक्सिजन ठूलाबडाले घरघरमा लगेर राख्ने वातावरण सिर्जना भएको तर्क गरे ।

‘जब बजारमा अक्सिजन अभाव देखियो, त्यतिबेलै कोटा प्रणाली लागू गरियो । कोटा प्रणाली लागू भएपछि घरघरमा लगेर अक्सिजन सिलिन्डर थुपार्न सजिलो भयो । अहिले पनि मन्त्री र सांसदका घरमा छापा मार्ने हो भने सयौ सिलिन्डर भेटिन्छन्,’ ती अधिकारीले भने ।  

कोटा प्रणालीका नाममा यसरी पारियो अक्सिजन गायब 

गत बिहीवार ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले सामाजिक सञ्जालमा ठूला बडाहरूले प्रहरी लगाएर अक्सिजन सिलिन्डर उठाएर लिएर गएको खुलासा गरेका थिए । उनले त्यस्तो स्ट्याटस लेखेपछि सरकार अत्तालियो ।

ट्रमा सेन्टरमा ल्याउन लागिएको अक्सिजन सिलिन्डरलाई प्रहरीले बाटैबाट जफत गरेपछि उनले भावुक स्ट्याटस लेखेका थिए ।

कोटा प्रणाली लागू गर्ने नाममा प्रहरीहरूले धेरै ठाउँबाट अक्सिजन सिलिन्डर जफत गरेका थिए । तर जफत गरिएका अक्सिजन सिलिन्डर कहाँ छन् अहिलेसम्म पत्तो छैन ।

प्रहरीका एक उच्च अधिकारी भन्छन् – ‘नेताहरूले आफू सोर्स फोर्स लगाएर कोटा प्रणाली भन्दै धेरै ठाउँबाट अक्सिजन सिलिन्डर बरामद गर्न लगाए । अहिले ती सिलिन्डर न प्रहरीसँग छ, न अस्पतालमा छ ।’

पछिल्लो समय नेता तथा सांसदहरू अक्सिजन सिलिन्डर बोकेर आफ्नो गृहजिल्ला हिंड्न थालेका छन् । केही दिनअघि चीनबाट व्यवसायीहरूले ल्याएका धेरै जसो सिलिन्डर नेताहरूको हातमा परेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतम भन्छन् – ‘अक्सिजन सिलिन्डर नेताहरूले लिएर हिंड्ने होइन, त्यो सरकारले व्यवस्थापन गर्ने हो र अस्पतालमा चिकित्सकले प्रयोग गर्ने हो । भोलि नेताहरूले नै उपचार गर्छौं भन्दै हिंडे के हुन्छ ?’

अनि स्वास्थ्य मन्त्रालयले गर्यो हस्तक्षेप

अक्सिजन अभावका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि सीसीएमसीले लिएको स्वास्थ्यसम्बन्धी जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइयो ।

३ दिनअघि मन्त्रालयले जिम्मेवारी लिएलगत्तै कोटा प्रणाली हटाइएको थियो । कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्तिको व्यवस्थापन सहज बनेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

अहिले स्वास्थ्य मन्त्रालयले डाक्टरले भनेबमोजिम बाहेक घर या अन्य ठाउँमा अक्सिजन सिलिन्डर नराख्न आग्रह गरिरहेको छ । त्यस्तै विरामीका आफन्तहरूलाई अक्सिजन खोज्न पठाउने अस्पतालहरूको क्रियाकलापलाई पनि बन्द गर्न मन्त्रालयले चेतावनी दिएको छ ।

के छ नेपालको अवस्था ?

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले नेपालमा जम्मा ३२ वटा अस्पतालमा मात्र अक्सिजन प्लान्ट छन् भने ४ वटा अस्पतालमा तरल अक्सिजन ट्यांक छन् । काठमाडौँमा दैनिक करीब ६ हजार सिलिन्डर अक्सिजनको व्यवसायीक उत्पादन हुन्छ । काठमाडौँ उपत्यका बाहिर करीब १० हजार सिलिन्डर अक्सिजन उत्पादन हुन्छ ।

चीन सरकारले २० हजार अक्सिजन सिलिन्डर दिने भनेको तर अहिलेसम्म ८ सय सिलिन्डर मात्र आउन सकेको मन्त्रालय स्रोतले जानकारी दियो । चीनबाट निजी पहलमा पनि अक्सिजन आइरहेको छ ।

केही दिनअघि खाडी क्षेत्रमा काम गर्ने नेपालीहरूले ओमानबाट ५ सय ५५ सिलिन्डर पठाएका थिए । गैरआवासीय नेपाली संघका तर्फबाट थप सिलिन्डर नेपाल पठाउन पहल भइरहेको छ ।

नेपालमा दैनिक करीब ४० हजार अक्सिजन सिलिन्डरको माग छ तर उत्पादन भने २० हजार पनि छैन । भारतबाट तरल अक्सिजन नियमित ढंगले आउने गरेपनि त्यो पर्याप्त छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट