अलमलमा एमाले विवाद समाधान कार्यदल : गठन भएको २४ घण्टामा पनि बैठक बस्न सकेन-Sutra News

अलमलमा एमाले विवाद समाधान कार्यदल : गठन भएको २४ घण्टामा पनि बैठक बस्न सकेन

सोमबार, ३ जेष्ठ २०७८

सोमबार, ३ जेष्ठ २०७८

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद समाधानका निम्ति बनाइएको १० सदस्यीय कार्यदल अलमलमा परेको छ ।



आइतवार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्तापछि दुवै पक्षबाट ५/५  जनाका दरले १० जनालाई विवाद समाधानको जिम्मेवारी दिइएको थियो ।

कार्यदललाई विवाद समाधानसहितको प्रतिवेदन तयार गर्न ३ दिनको समयसीमा दिइएको थियो । तर कार्यदल बनेको २४ घण्टामा पहिलो बैठकसमेत बस्न सकेको छैन ।

ओलीका तर्फबाट प्रतिनिधित्व गरेर कार्यदलको सदस्य बनेका सुवासचन्द्र नेम्वाङले सोमवार कार्यदलको बैठक नबस्ने बताए । ‘हामीबीच हुनुपर्ने अनौपचारिक छलफल भइरहेको छ,’ नेम्वाङको भनाई छ, ‘तर आज औपचारिक बैठक बस्ने कार्यक्रम छैन ।’

कार्यदलले विवाद समाधान गर्न सक्ला त भन्ने प्रश्नमा नेम्वाङको जवाफ छ, ‘विवाद समाधान गर्नकै निमित्त बनाइएको कार्यदलले विवाद समाधान नगरे के गर्छ त ?’

कार्यदलमा ओलीका तर्फबाट नेम्वाङको नेतृत्वमा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल र प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल रहेका छन् ।

त्यस्तै कार्यदलमा माधव नेपालको प्रतिनिधित्व गर्दै भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएको थियो । माओवादी केन्द्र एकतापूर्वको अवस्थामा पुग्यो भने एमालेलाई अध्यक्ष ओलीले पछि फर्काउन चाहेनन् ।

प्रतिनिधि सभा विघटनपछि ओलीले जे जसरी समानान्तर कमिटीको अभ्यास गरेका थिए, त्यसैलाई निरन्तरता दिएपछि नेपाल समूहले आपत्ति जनाएको थियो ।

एमालेलाई पहिलाकै अवस्थाबाट सुचारू गर्नुपर्ने नेपाल समूहको मागमा ओली सकारात्मक देखिएका छन् । कार्यदललाई पार्टी एकतापूर्वको अवस्थाबाट नै समाधान खोज्ने म्यान्डेट दिइएको छ ।

तर कार्यदल गठन भएको २४ घण्टामा पनि एकपटक बैठक बस्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट