सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा-Sutra News

सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

सोलु- हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुंगाले जनाएको छ ।



कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको कांगेलमा बिहीबार बेलुकीबाट सो सेवा सञ्चालन भएको हो ।

यस्तै सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामुको स्याङबोचेमा यसअघि नै यस किसिमको सेवा सञ्चालन भइसकेको टेलिकमले जनाएको छ ।

क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि केही दिनभित्रमा सेवा सञ्चालन गर्ने गरी काम भइरहेको कार्यालय प्रमुख पन्थीको भनाइ छ ।

उता छिमेकी जिल्ला खोटाङमा २८ वटा फोर लेग टावरमध्ये चार वटा सञ्चालनमा आएको छ । जिल्लाको दिक्तेल, रुपाकोट र मझुवागढी नगरपालिकाअन्तर्गत देवीस्थान, दिक्तेल बजार र खोटेहाङ गाउँपालिकाको सिमपानी र जन्तेढुंगा गाउँपालिकाको चिसापानीमा सेवा सञ्चालन भएको छ ।

यस्तै केपिलासगढीको बाक्सिला, हलेसी तुवाचुङको च्यास्मिटार, दिक्तेल रुपाकोटको बाम्राङ, बुइपा, दोर्पाआले, दिप्रुङको बतासे, डाँडागाउँ, साकेला गाउँपालिकाको बाँझेच्यान डाँडा र मात्तिम विर्तामा २० दिनभित्रमा सेवा पुनः सञ्चालन हुने गरी काम भइरहेको बताइएको छ । यता ओखलढुंगा जिल्लामा पनि फोर जी सेवा सञ्चालन भएको छ ।

कूल २५ वटा फोर लेग टावरमध्ये छ वटाबाट फोर जी सेवा सञ्चालन भएको टेलिकम शाखा कार्यालयले जनाएको छ ।

सिद्धीचरण नगरपालिकाको वीरेन्द्र पार्क, तलुवा, ओखलढुंगा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो । साथै अन्य टावरमा एन्टिना राख्ने कामसँगै लिंक मिलाउने काम भइरहेको पन्थीको भनाइ छ ।

हङकङस्थित चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसन (सिसिएसआई) ले रेडियो एक्सेस नेटवर्क (र्यान) एवं जेडटिइले सामग्री जडानको काम गरिरहेको छ । अहिले नेपालमा टेलिकमका सक्रिय फोर जी प्रयोगकर्ता ३० लाख नाघेको टेलिकमले जनाएको छ ।

पहिला नेट चलाउनकै लागि आधा घण्टा हिँडेर इन्टरनेट भएको स्थानमा पुग्नुपर्ने बाध्यता हटेको भन्दै फोसेवाग्राही हर्षित भएका छन् । गाउँगाउँमार जी सेवा पुनः सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुका सुजन खत्रीले बताए ।

घरबाहिर भएकाले बुबाआमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेका छन् । जिल्लाको विकट गाउँ माप्यदूधकोशीमा रहेका आमासँग ललितपुरबाट भिडियो कुरा गरेको भन्दै चन्द्र घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत पहलकर्ता सबैलाई धन्यवाद दिए ।

विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नुपर्ने माप्यदूधकोशीमा फोर जी सेवा सुरु भएपछि स्थानीयवासी दंग परेका छन् ।

यस्तै खोटाङ जस्तो विकट जिल्लामा फोर जी सेवा सञ्चालन भएसँगै घरैमा बसेर सामाजिक सञ्जालको माध्यमबाट विश्वका विभिन्न क्षेत्रलाई नजिकैबाट नियाल्न सकिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका कविराज रिजालको भनाइ छ ।

केही महिना अगाडि नै ७७ ओटै जिल्लामा फोर जी विस्तार भइसकेको टेलिकमले घोषणा गरिसकेको थियो ।

टेलिकमको फोर जी विस्तारको कूल लागत १८ अर्ब ७१ करोड रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको फोर जी सेवाको पहुँच हालसम्म ६१५ स्थानीय तहमा पुगेको छ भने देशैभर फोर जीको पहुँच पुर्‍याउने गरी २०७५ पुसमा सम्झौता भई काम अगाडि बढाएको थियो ।
नेपाल टेलिकमले गत पुस मसान्तसम्ममा दुई हजार ९५५ स्थानमा पाँच हजार १७६ ओटा बिटिएस टावरमार्फत फोर जी सेवा उपलब्ध गराएको छ ।

कोभिड–१९ का कारण काममा केही ढिलाइ भए पनि अहिले भने द्रुतगतिमा काम भइरहेको टेलिकम कार्यालयका प्रमुख पन्थीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट