विद्यार्थीले बनाए गुरुका लागि घर-Sutra News

विद्यार्थीले बनाए गुरुका लागि घर

बुधबार, ५ फाल्गुन २०७७

बुधबार, ५ फाल्गुन २०७७

चितवन- चितवन खैरहनीनगरपालिका-१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरूलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन् ।



घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरूसँग रकम संकलन गरेको थियो ।

स्वतस्फूर्तरूपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए । सोही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीले ‘गुरु आवास’ नाम दिएर सुविधायुक्त घर निर्माण गरेको पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले बताए ।

घर निर्माणमा झण्डै २४ लाख खर्च भएको छ । चार लाख जिन्सीसहित २४ लाखमा घर निर्माण गरिएको अध्यक्ष लम्सालले बताए । घरमा फर्निचरदेखि ‘वासिङ मेशिन’ सम्म व्यवस्था गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण घर हस्तान्तरणमा ढिलाइ भए पनि सरस्वतीपूजाका अवसर पारेर उपहार प्रदान गरिएको अध्यक्ष लम्सालले बताए । शिक्षक कर्णको यहाँ आफ्नै घर छैन । कङ्काली माविअगाडि शिक्षक आफैंले थोरै जग्गा खरीद गरे पनि घर निर्माण गर्न सकेका थिएनन् ।

सो घर मंगलबार सरस्वतीपूजाका अवसर पारेर हस्तान्तरण गरिएको छ । महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा एक समारोहबीच सो घर शिक्षक कर्णलाई हस्तान्तरण गरिएको थियो । 

सो अवसरमा महानायक हमालले विद्यार्थीहरुले नमूना काम गरेको भन्दै प्रशंसा गरे । ‘शिक्षकप्रति पूर्वविद्यार्थीले देखाएको माया उत्कृष्ट छ’, महानायक हमालले भने ।

शिक्षक कर्णले नयाँ घर पाउँदा खुसीको सीमा नरहेको प्रतिक्रिया दिए । घर प्राप्त गरेपछि शिक्षक कर्णले खुसी व्यक्त गर्दै भने, ‘विद्यार्थीको यो कामको उच्च सम्मान गर्छु ।’ रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट