नेपाल टेलिकमले सञ्चालनमा ल्‍यायो ‘एनटी च्याटबोट’-Sutra News

नेपाल टेलिकमले सञ्चालनमा ल्‍यायो ‘एनटी च्याटबोट’

मंगलबार, ४ फाल्गुन २०७७

मंगलबार, ४ फाल्गुन २०७७

काठमाडौं- नेपाल टेलिकमले आफ्ना विभिन्‍न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा शुभारम्भ गरेको छ ।



कम्पनीको वेबसाइट एनटीसी. डटनेट डटएपी खोल्नासाथ सुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्ने र त्यहाँ (निड हेल्प ? वेलकम टु एनटी च्याटबोट) भनेर लेखिएको हुने टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

उनका अनुसार कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली-अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिन्छ ।

कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिने उनको भनाइ छ ।

त्यसैगरी विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत-गुनासो समेत गर्न सकिन्छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभाग-पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गरिने छ ।

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ। कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जालहरु फेसबुक, ट्विटर, भाइबर कम्युनिटी र इन्स्टाग्राम प्रयोग गर्न सक्दछन् ।

ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्दछन् ।

गत माघ २२ गते कम्पनीको १७औं वार्षिकोत्सवको अवसरमा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एनटी च्याटबोट सेवाको शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट