एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा-Sutra News

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

बुधबार, २८ माघ २०७७

बुधबार, २८ माघ २०७७

काठमाडाैं- विभिन्न संघसंस्था, कार्यालय वा संगठित संस्थाहरू तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकता हुनसक्छ ।



यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ । नेपाल टेलिकमले ग्राहकको आवश्यकता अनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब-बेस्ड बल्क एसएमएस गरी ३ प्रकारका एसएमएसमा आधारित सेवाहरू उपलब्ध गराइरहेको प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

विभिन्न मोबाइल नम्बरमा कुनै विषयवस्तुबारे जानकारी दिनुपर्ने र अर्कोतिरबाट कुनै उत्तरको अपेक्षा नहुने ‘वान वे’ अवस्थामा एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ ।

विभिन्न बैंक तथा वित्तीय संस्थाको आर्थिक कारोबारबारे जानकारी दिन, पेमेन्ट पक्का भएको जानकारी दिन, आफ्नो व्यवसायको जानकारी दिन र व्यापार प्रवद्र्धन गर्न उपयुक्त हुने सन्देश पठाउनका लागि समेत एसएमएस अलर्टको प्रयोग गर्न सकिने जोशीले बताए ।

कुनै सेवा प्रदायकले सेवा लिनुभन्दा पहिले यसको प्राविधिक परीक्षण गर्नुपर्छ । सम्बन्धित सेवा प्रदायकलाई यसका लागि ‘अलर्ट नेम’ प्रदान गरिन्छ । त्यही ‘अलर्ट नेम’बाटै संघरसंस्थाले मोबाइलमा एसएमएस पठाउन सक्छन् ।

एसएमएस सर्टकोड प्रयोग गरी दोहोरो अन्तर्क्रिया गर्न सकिन्छ । कुनै मोबाइलमा सर्टकोडमार्फत् केही एसएमएस आयो भने एसएमएस पाउने ग्राहकले पनि सो जानकारीमूलक सामग्रीबारे प्रतिक्रिया पठाउन वा थप जानकारीका लागि अनुरोध गर्न सक्छन् ।

विभिन्न परीक्षाका नतिजा थाहा पाउन, विभिन्न विषयवस्तुबारे पोलिङ गर्न, भोटिङ गर्न, क्विज सर्भिस सञ्चालन गर्न र आफ्नो व्यवसायको बजारीकरण वा प्रवद्र्धन गर्न समेत यो सेवा उपयोगी हुन्छ ।

सेवा सञ्चालन पूर्व प्राविधिक परीक्षण गर्नुपर्छ र ५ अंकको सर्टकोडका लागि नेपाल दूरसञ्चार प्राधिकरणको पनि स्वीकृति लिनुपर्छ । यो सेवा सञ्चालन गर्ने ग्राहक वा सेवा प्रदायकलाई न्युमेरिक सर्टकोड अर्थात् अंकमा आधारित सर्टकोड प्रदान गरिन्छ । अन्य व्यक्तिको मोबाइलमा एसएमएस जाँदा त्यही नम्बरबाटै गएको देखिन्छ ।

वेबमा आधारित बल्क एसएमएस एक प्रकारको ब्रोडकास्ट सर्भिस हो । यसबाट उहीँ सन्देश एकैपटक धेरै मोबाइल नम्बरमा पठाउन सकिन्छ । विद्यालय, कलेज, व्यापारिक प्रतिष्ठान, साना व्यवसायी वा अन्य कुनै पनि संस्थाले यसको प्रयोग गर्न सक्छन् । थोरै समयमा सहज तरिकाले सस्तो दरमा धेरै व्यक्तिलाई एकैपटकमा एसएमएस पठाउन पाउनु नै यसको मुख्य विशेषता हो ।

अतिरिक्त परीक्षण विना छोटो समयमै यो सेवा उपलब्ध गराउन सकिन्छ । यसका लागि सेवा प्रदायकलाई संस्थाको मिल्दोजुल्दो नाम ११ क्यारेक्टरमा नबढाई प्रदान गरिन्छ र त्यही नामबाटै धेरै नम्बरमा एसएमएस पठाउन सकिन्छ ।

एसएमएस अलर्ट र सर्टकोड सुविधा उपयोग गर्न चाहने संस्थाको आफ्नै एसएमएस एप्लिकेसन वा सिस्टम हुनु आवश्यक छ भने वेब–बेस्ड बल्क एसएमएस पठाउन चाहने संस्थाका लागि नेपाल टेलिकमले नै आवश्यक व्यवस्था मिलाइदिने हुनाले कुनै थप एप्लिकेसन वा सिस्टमको आवश्यकता पर्दैन ।

एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब–बेस्ड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिक रूपमा अनुरोध गरिएको एउटा पत्र तयार गर्नुपर्छ । सो पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गर्नुपर्छ ।

त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपी समावेश गर्नुपर्छ । यी सम्पूर्ण कागजात सहित तयार गरिएको पत्रलाई खबक२लतअ।लभत।लउ मा इमेलमार्फत् पठाउन सकिन्छ वा कम्पनीको नजिकको कार्यालयमा दर्ता गराउन सकिन्छ ।

वेब-बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भएपश्चात एसएमएस भोल्युम कोटाको आधारमा तोकिएको रकम बैंक खातामा बुझाउनु पर्छ । यसपछि नेपाल टेलिकमले ग्राहकको युजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउँछ ।

यसैको आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट