नेपालको परराष्ट्रमन्त्री चीनको प्रवक्ता जसरी बोल्नुहुन्छ : प्रकाशरण महत [भिडियो वार्ता]-Sutra News

नेपालको परराष्ट्रमन्त्री चीनको प्रवक्ता जसरी बोल्नुहुन्छ : प्रकाशरण महत [भिडियो वार्ता]

सोमबार, ३ कार्तिक २०७७

सोमबार, ३ कार्तिक २०७७

नेपाली कांग्रेसले चीनले हुम्लामा नेपाली भू-भाग अतिक्रमण गरेको बताउँदै आएको छ। हुम्लाको सीमानामा अनुगमनपछि फर्केका कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा गएको टोलीले तयार पारेको स्थलगत प्रतिवेदनमा चीनले नेपाली भू-भाग अतिक्रमण गरेको उल्लेख छ।



के साँच्चै चीनले सीमा मिचेकै हो ? यदि चीनले सीमा मिचेकै हो भने अब नेपाल सरकारले कस्तो कदम चाल्नुपर्छ ? र, कोरोना नियन्त्रण सम्बन्धी गतिविधिमा सरकारको कामको मूल्यांकन कांग्रेसले कसरी गरिरहेको छ ? यी र यस्तै विषयमा नेपाली कांग्रेस सह-महामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग सूत्र टिभीका ऋषि थपलियाले गरेको कुराकानीको सम्पादित अंशः

नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको हो भन्दै आएको छ, तपाईंहरूले यस विषयमा अध्ययनका लागि आफ्नो पार्टीको प्रतिनिधि नै पठाउनु भएको थियो, के रहेछ त्यहाँको अवस्था ? चीनले साँच्चिकै सीमा मिचेकै हो ?

हाम्रो कर्णाली प्रदेश संसदीय दलको नेता, पार्टीको केन्द्रीय सदस्य, पूर्वमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा एक टोली पठाएका थियौं। उहाँ हुम्ला जिल्लाकै सांसद् हुनुहुन्छ । त्यहाँको यथार्थ के हो भन्ने बुझ्न त्यहाँ जानुभयो र स्थानीयको समेत सहभागितामा व्यापक अध्ययन गर्नुभयो। पहिलाका प्रमाणहरू जम्मा गर्नुभयो । नेपाल सरकार र चीन सरकारको बीचमा भएको समझदारीमा सीमा स्तम्भ के लाई मान्ने भनेको थियो त्यसको आधारमा अध्ययन गर्दा के स्पष्ट देखियो भने त्यहाँ सीमा मिचेकै हो।

तपाईंले यसो भनिरहँदा नेपालका परराष्ट्रमन्त्री र नेपालस्थित चिनियाँ दूतावासले नेपाली भूमि नमिचेको बताइसकेका छन् नि ?
यस्तो अवस्थामा सरकार जिम्मेवार हुनुपर्छ । तर, यस्तो अवस्थामा सरकारका परराष्ट्रमन्त्री हत्त न पत्त सीमा मिचेकै छैन भन्नुहुन्छ । सरकारकै प्रतिनिधि सहायक प्रजिअले यस्तो देखियो भनेर आउँछन्, उल्टो उसैलाई कारबाही गरुँला झैँ गरेर सरकार प्रस्तुत हुन्छ। नेपालको परराष्ट्रमन्त्री नेपाल सरकारको प्रवक्ता भएर चीनको प्रवक्ता जसरी बोल्नुहुन्छ, यो भन्दा दूर्भाग्पूर्ण कुरा के हुनसक्छ ? नेपाली कांग्रेस पार्टी चाहे भारतले मिचेको जमिन होस् चाहे चीनले मिचेको जमिन होस्, हाम्रो राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताको बचाउ गर्ने प्रतिनिधि सरकार हो। तर, सरकार गैरजिम्मेवारी तवरले प्रस्तुत हुने, त्यसको सत्यतथ्य छानवीन गर्छौं समेत नभन्ने, उल्टै आफ्नै सहायक प्रजिअलाई हप्काउने ? मुख बन्द गराउने ? यो भन्दा गैरजिम्मेवार के हुन सक्छ ? यो देशप्रतिको बइमानी हो। परराष्ट्र सम्बन्ध भनेको देशको हित र आवश्यकतामा केन्द्रित हुनुपर्छ। तर, यो सरकारमा त्यस्तो पटक्कै देखिएन।

त्यसो भए यो सरकार जिम्मेवारीबाट च्यूत भएको हो त ?
हामीले एउटा देशको हकमा एउटा दृष्टिकोण, अर्को देशको हकमा अर्को दृष्टिकोण राख्नुहुन्न। यसरी देशको परराष्ट्र नीति सञ्चालन हुँदैन। हाम्रो जमिनको कुरामा हामी थप संवेदनशील हुनुपर्छ। हाम्रो पार्टीले एउटा निष्कर्ष निकालेको छ, त्यो यथार्थ स्थलगत अध्ययनको आधारमा हो, त्यसैले सरकार यसमा जिम्मेवार हुनुपर्छ। १२ नम्बर सीमा स्तम्भ रहेको लाप्चा नजिकै लोलुङजोङमा चीन सरकारले नेपाली भूमि अतिक्रमण गरेको छ, यसमा सरकारले तत्कालै कूटनीतिक प्रयास गर्नुपर्छ।

बाँकी भिडियोमा:

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट