भरतपुर महानगरपालिकाद्वारा सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण-Sutra News

भरतपुर महानगरपालिकाद्वारा सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

भरतपुर– भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ। पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई साइकल वितरण गरिएको हो। जसमा वडा नं ६, १३, २२, २३ र २४ का १७ विद्यालयका छात्रा छनोटमा परेका थिए।



भरतपुर महानगरपालिका वडा नं २२ को राष्ट्रिय आधारभूत विद्यालय धनौजीमा आयोजित कार्यक्रममार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साइकल वितरण शुभारम्भ गरिन्। विद्यालय शिक्षामा छात्रालाई शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरी छात्रालाई साइकल वितरण गरिएको प्रमुख दाहालले बताइन्।

उनले भनिन्, ‘महानगरपालिकाभित्रका विपन्न, गरिब र जोखिममा परेका परिवारका छात्रालाई साइकल वितरण गरेका छौँ, आगामी दिनमा यसलाई निरन्तरता दिनेछौँ।’ उनले दैनिक ज्यालादारी काम गरेर खाने श्रमिकका परिवारलाई प्राथमिकता दिइएको बताइन्। ‘वडाको सिफारिसका आधारमा विद्यालय छनोट गरेका हौँ’, उनले भनिन्, ‘सही सदुपयोगका लागि अनुगमनसमेत गरेका छौँ।’

उनले साइकल विरतणपछि टाढा–टाढाबाट विद्यालय आउने छात्राका लागि सहज हुने बताइन्। उनले साइकल वितरणपछि छात्रालाई नियमित विद्यालय आउन उत्प्ररित गर्ने धारणा राखिन्।

शिक्षा क्षेत्रको विकासमा महानगरपालिकाले चालेको कदम हरेक विपन्न वर्गले अनुभूति गर्ने खालको हुने उनको भनाइ छ। दाहालका अनुसार महानगरपालिकाभित्रका १२ वडाका विभिन्न विद्यालयका ३३० छात्रालाई क्रमशः साइकल वितरण गरिनेछ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्रालाई लक्ष्य गरी गरिएको यो कार्यक्रमले छात्रालाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताइन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरका विद्यालयको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर लागिपरेको र सरकारी विद्यालयलाई विद्यार्थीको प्रमुख रोजाइको केन्द्रका रूपमा विकास गर्ने गरी काम भइरहेको बताए।

महानगरले आफ्नो आन्तरिक स्रोतबाट मात्रै रु नौ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरी काम थालेको र केन्द्र तथा प्रदेश सरकारबाट पनि शिक्षामा पर्याप्त बजेट आएको उनले जानकारी दिए।

गत वर्ष पनि महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा र पाठ्यपुस्तक वितरण गरेको थियो। महानगरपालिकाले यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको छ। कार्यक्रममा उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापकलगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट