त्रिविका प्राध्यापक चलाउनेमाथि नेविसंघको आक्रमण-Sutra News

त्रिविका प्राध्यापक चलाउनेमाथि नेविसंघको आक्रमण

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विभागका उप–प्राध्यापक प्रेम चलाउनेमाथि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध विद्यार्थीहरूले आक्रमण गरेका छन्।



बिहान ९ बजेपछि बैंक जाने क्रममा मोटरसाइकलमा आएका समूहले कीर्तिपूरमा आक्रमण गरेको समाजशास्त्र विभागका सहायक प्राध्यापक केशव सिलवालले जानकारी दिए।

गम्भीर घाइते भएका उनी मेडिसिटी अस्पतालमा उपचाररत छन्। ‘उहाँको दाहिने खुट्टा नचल्ने र टाउकोमा गम्भीर चोट लागेको छ,’ सहायक प्राध्यापक सिलवालले भने।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता सोमेन्द्र सिंह राठौरले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए । ‘मोटरसाइकलमा आएका दुई जनाले रड प्रहार गरेको जानकारी आएको छ । कसले गर्‍यो भनेर भन्न सकिन्न । हामी अनुसन्धानको क्रममा छौं,’ प्रवक्ता राठौरले भने। 

दुई महिनादेखि नेविसंघको दादागिरी

दुई महिनाअघि समाजशास्त्र विभागमा सिनियर प्राध्यापक डा.युवराज लुइँटेल विभागको प्रमुखमा नियुक्त भएपछि नेविसंघ रुस्ट बनेको थियो।

डा.टीका गौतमलाई विभाग प्रमुख बनाउन माग राख्दै नेविसंघले तालाबन्दी गरेको थियो। विभागका सबै प्राध्यापकले ताला खोल्न आग्रह गर्दा पनि संघले अटेर गर्दै आएको थियो।

‘ताला प्रहरीको रहोरबमा खोल्नुपर्यो भन्दा पनि नेविसंघ वार्तामा आउन नमानेको सहायक प्राध्यापक सिलवालले बताए। ‘डिपार्टमेन्टको पक्षमा लागेका सरहरूलाई हात काटिदिने धम्कीसहितको सूचना नै लेखेका थिए। आज उप–प्राध्यापक प्रेम चलाउनेमाथि रडले हानेर आक्रमण गरे,’ सहायक प्राध्यापक सिलवालले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट