अनि प्रमोदले ‘छाती चिरेर’ लेखे… [भिडियो]-Sutra News

अनि प्रमोदले ‘छाती चिरेर’ लेखे… [भिडियो]

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

छाती चिरेर माया देऊ भन
माया दिन्छु म
सारा खुसी चैन देऊ मात्रै भन
हाँसी हाँसी दिन्छु म



गायक प्रमोद खरेलको पछिल्लो समय लोकप्रिय बनेको गीत हो– छाती चिरेर। जुन गीत खरेल आफैंले रचेका हुन्। २८ सेप्टेम्बरमा गायक प्रमोदको आफ्नै युट्युब च्यानलबाट रिलिज भएको उक्त गीतलाई ५ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। गीतमा हरि लम्सालको संगीत रहेको छ।

१० मिनेट ५५ सेकेण्डको म्युजिक भिडियोमा प्रमोद र ऋचाको अभिनय देख्न सकिन्छ, जसले पूरा अवधिभर दर्शकलाई बाँधिरहन सक्छ। प्रमोदकै भाषामा भन्नुपर्दा गीतले दुखान्त कथा भने पनि यो ‘लभ सङ’ हो। एउटा दम्पतीको प्रेमिल जोडी, जो एक अर्काबाट छुट्टिन सक्दैनन्। जस्तै विपत्तीमा पनि एक अर्काको कसिलो साथ रहन्छ। गीतको भिडियोले दिने बलियो सन्देश नै यही हो– प्रेममा समर्पण र साथको आवश्यक छ।

दुर्घटनाले अशक्त बनाएको आफ्नो श्रीमान्‌को स्याहारमा जीवन समर्पण गरेकी महिलाको कथा गीतको भिडियोमा समावेश छ। 

ऋचासँगको अभिनयमा सुहाउँदिलो देखिएका गायक प्रमोद भन्छन्, ‘कुनै कुनै गीत मलाई निकै मन परेपछि त्यसलाई न्याय गर्न सक्छु भन्ने लाग्यो भने आफैं अभिनय गर्छु।’

यसरी लेखियो गीत
हुन त आफ्नो जीवनको पहिलो रेकर्डेड गीत प्रमोद स्वयम्‌ले रचना गरेका थिए। त्यसपछि उनले थुप्रै गीत आफ्ना लागि लेखे। भलै, त्यसको चर्चाबारे खोजी गर्न सकिएला। ‘मुस्किल छ पोखरामा’ गाएपछि अत्यधिक चर्चामा आएका प्रमोदले त्यसपछि सायद आफ्नो करिअरमा कहिल्यै पछाडि फर्कनु परेन।

यिनै चर्चित गायक अरुको शब्दमा मीठो आवाज भर्न त माहिर छन्। कहिलेकाहीँ आफ्नै लागि पनि आफैंले गीत लेख्छन्। ‘छाति चिरेर’ गीत उनले आफ्नै लागि लेखेका सुनाउँछन्। ‘एकदिन युरोपबाट नेपाल आउन कतार फर्कँदै थिएँ। फ्लाइटमा ८ घण्टाको समय थियो। सायद त्यतिबेला म फिल्म हेर्दै थिएँ। त्यही क्रममा एउटा लभ सिनले मन खिच्यो। त्यसैबाट प्रभावित भएर मैले यो गीत लेखें,’ प्रमोद भन्छन्।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट