गणेश थापा, जो फुटबलमा गोल ठोक्न मात्र होइन, चङ्गा चेटमा पनि उत्तिकै माहिर छन्-Sutra News

गणेश थापा, जो फुटबलमा गोल ठोक्न मात्र होइन, चङ्गा चेटमा पनि उत्तिकै माहिर छन्

शनिबार, ३ असोज २०७७

शनिबार, ३ असोज २०७७

काठमाडौं– नेपाली फुटबल जगतमा स्थापित नाम हो, गणेश थापा। तिनै थापा मंगलबार (३० भदौ) मा भने अलिक फरक खालको तस्बिरमा देखिए। उनको हातमा चङ्गाको धागो राखिने लट्टाई थियो। साथमा उनका छोरा पनि थिए।



फेसबुकमा उनले अपलोड गरेको तस्वीरमा लेखिएको थियो, ‘पुरानो सम्झना गर्दै छोराहरूसँग बसेर चङ्गा उडाउने काम भयो। निकै संघर्षपूर्ण रूपमा एउटा चङ्गा चेट गर्ने काम पनि भयो। अहिलेको समयमा समयको सदुपयोग पनि भयो।’

तत्कालीन समयका चर्चित ‘फुटबलर’ थापा पछि एन्फाको अध्यक्ष हुँदा विवादित पनि भए। यद्यपि, नेपाली फुटबलको समृद्धिका आधारहरूचाहिँ उनले नै निर्माण गरेका हुन्। ‘सहीद स्मारक ए डिभिजन लिग’ को सुरुवात र एन्फा एकेडेमीको स्थापना जस्तो महत्वपूर्ण कामको थालनी उनैले गरेका हुन्।

हुन त, थापालाई मानिसहरूले एक फुटबलर र फुटबल निकायको प्रशासकका रूपमा मात्रै चिन्छन्। तर, कतिलाई थाहा छैन कि, खेलसँग जोडिएको उनको अर्को रमाइलो पाटो।

अर्थात्, उनी चङ्गाका पारखी हुन्। सानैदेखि उनी चङ्गा उडाउन पोख्त थिए। त्यसैले, नजिकिदो दशैं र लकडाउनले सिर्जना गरिदिएको फुर्सदको समयमा घरको छतमा स–साना केटाकेटीसँग रमाउँदै चङ्गा उडाउन थालेका छन्।

गणेश बाल्यकालदेखि नै चङ्गाको खुब सौखिन थिए। चङ्गा त अहिले पनि धेरैले उडाउँछन्। तर, धेरैलाई यसको सैद्धान्तिक पक्षबारे जानकारी हुँदैन। उनलाई भने चङ्गाको सैद्धान्तिक पक्षबारे पनि धेरै जानकारी छ।

केटाकेटी छँदा उनले चङ्गामा ‘माजा’ लगाउँदा अनि विपक्षीको चङ्गा चेट गर्दा कैयौं पटक आफ्नै औंलाबाट रगत बगाए।

अनि चेट भएका चङ्गा खोस्न सडकमा दौडिँदा कैयौँ बल्ड्याङ पनि खाए। तर, उनलाई यी कुराको पर्वाह लाग्दैनथ्यो, किनभने उनलाई विपक्षीको चङ्गा चेट गर्नुमा जति मज्जा अरू कुरामा हुँदैनथ्यो। उनका घरमा सबै दाजुभाईले चङ्गा उडाँउथे। उनका दाजुभाई अर्थात् राप्रपा अध्यक्ष कमल थापा र नेपाली सेनाका पूर्वरथी नेत्रबहादुर थापा, जो केही हप्ताअघिसम्म राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षा सल्लाहकार थिए।

छोराहरूसँगै बसेर चङ्गा उडाएको तस्बिर आफ्नो फेसबुकमा राखेको देखेपछि मैले थापासँग चङ्गा सम्बाद गरेँ।

‘हामी दाजुभाईबीच एक अर्कामा खुब प्रतिस्पर्धा हुन्थ्यो’ उनले याद गरे, ‘१५–१६ वर्षको उमेरसम्म नै चङ्गा उडाएँ । जेठा दाइ नेत्रबहादुर थापा र माइलो दाइ कमल थापाले पनि खुब उडाउनु हुन्थ्यो। जेठा दाइ त झन सिपालु हुनुहुन्थ्यो। हामी तीनै भाइ चङ्गाको एकदम सौखिन थियौँ।’

उनको बालापनमा मनोरन्जनका लागि अहिले जस्तो धेरै विकल्प थिएनन्। त्यसैले, पनि चङ्गा उडान उनको एकदम प्यारो खेल बन्न पुग्यो। अहिले मनोरन्जनका धेरै विकल्प छन्। त्यही भएर चङ्गाको क्रेज त्यति छैन। उनका आफ्नै छोराहरुले पनि सानो छँदा चङ्गा उडाउन त्यति ध्यान दिएनन्।

अहिले उनले आफूले बालापनमा चङ्गा उडाउने गरेका किस्साहरु छोराहरुलाई सुनाएका छन् । त्यसैले उनका छोराहरुले पनि चङ्गा उडाउन रहर गरेका छन् । र, उनी छोराहरुलाई चङा उडाउन सिकाइरहेका छन् ।

‘छोराहरुलाई चङ्गाको बारेमा त्यति धेरै जानकारी छैन। ‘पक्का हाल्ने’, माजा हाल्ने’ जस्ता चङ्गाको भाषा बोल्दा उनीहरु अचम्म मान्दा रहेछन् । गणेश सुनाउँछन्, ‘उनीहरु सजिलै हावामा चङ्गा उडेको सोच्दा रै’ छन्। तर, चङ्गा उडाउन गाह्रो पो छ त!’

उनका अनुसार, ‘पक्का हाल्ने’ भनेको चङ्गाको दुईतिर भागमा बीच पर्ने गरी प्वाल पारेर, धागो गाँसेर चङ्गालाई उड्न योग्य बनाउने प्रकृया हो। र, ‘माजा हाल्ने’ भनेको चाहिँ चङ्गाको धागोमा सिसाको कणहरु टाँसेर विपक्षीको चङ्गालाई काट्न योग्य बनाउने प्रकृया हो।

उनलाई बाल्यकालमा धागोमा ‘माजा हाल्न’ बहिनी रीता थापाले सघाउँथिन्। पहिला अहिले जस्तो तयारी धागो आउँदैनथ्यो। आफैँले माजा हाल्नु पर्थ्यो। ‘माजा हाल्नको लागि आफैले सिसाहरु खोजेर ल्याउँथ्यौ ।आफैले फुटाएर धुलो बनाउथ्यौँ। त्यसलाई टाँस्ने काम घ्यु कुमारी ल्याएर त्यसको चोप निकालेर गर्थ्यौं’ उनी सुनाउँछन्, ‘माजा हालेको धागो हावा आएन भने सुक्दैनथ्यो । त्यसलाई सुकाउन रुखहरुमा बेरेर सुकाउथ्यौँ।’

अहिलेका बच्चाहरुले चङ्गाप्रति खास चासो नदिएको देख्दा उनलाई नमज्जा लाग्छ। ‘हाम्रो पालामा दशैँ, तिहार आउँदा आकाशभरि चङ्गा हुन्थ्यो’ उनी याद गर्छन्, ‘चाडपर्वको मज्जा नै चङ्गासँग जोडिएको हुन्थ्यो। हाम्रो मौलिक चाडसँग जोडिएको चङ्गा खासमा विशेष छ।’

हावा नलागेको बेला चङ्गा उडाउन धागोलाई लामो मात्रामा खुकुला छोडेर पर पुगेर दौडिन पर्थ्यो। अनि, विपक्षीको चङ्गा चेट गरेपछि त्यसलाई खोस्न आकास हेर्दै कहिले खुल्ला सडक, त कहिले गल्ली गल्ली दौडिन्थे।

यसरी गल्ली र सडकमा उनी कति दौडिए कति! ती दिनहरु अहिले सम्झिँदा चाहिँ उनलाई कहाली लाग्छ।

किन?

‘त्यतिबेला अहिले जस्तो सडकभरि गाडी हुँदैनथ्यो। अहिले जस्तो हुँदो हो त दुर्घटना पो हुन्थ्यो कि!’ उनी डर व्यक्त गर्दै सुनाउँछन्, ‘त्यतिबेलाको त्यो जोश खोइ कहाँबाट आँउथ्यो आँउथ्यो। चङ्गा भने पछि हुरुक्कै हुन्थेँ। बाटोमा लडेर वा ठोक्किएर दुर्घटनामा परिन्छ कि भन्ने कुराको पनि पर्वाह हुँदैनथ्यो।’

गणेश थापाको जिन्दगीमा फुटबल भन्दाअर्को कुनै ठूलो प्रतिस्पर्धा भनेकै चङ्गा चेट मात्रै थियो। उनले बाल्यकालमा चङ्गा चेट कति गरे–गरे, असंख्य पटक भएकाले अंकमा भन्न सक्दैनन्।

चङ्गा चेटमा बिरलै हार्थे उनी। सधैं विपक्षीको चङ्गा चेट गर्न माहिर उनी आफ्नो जीत पक्का बनाउन धागोमा माजा हाल्न एकदम मेहनत गर्थे। त्यसका लागि सुइमा प्रयोग हुने औषधिको सिसा खोज्न भौतारिरहन्थे। त्यस्तो सिसालाई धुलो पारेर माजा हाल्दा प्रभावकारी राम्रो हुन्थ्यो। उनी खोजी–खोजी त्यस्तो सिसा ल्याउँथे। त्यसलाई धुलो बनाएर धागोमा लगाउँथे।

‘यो कुरा अहिलेका बच्चाहरुलाई थाहा छैन’ उनी भन्छन्, ‘पसलमा जस्तो चङ्गा पाइन्छ, त्यस्तै किनेर उडाउँछन। उनीहरुमा हाम्रो समयको जस्तो ‘प्यासन’ छैन।’

उमेरले अब छ दशक लागेका उनले अहिले न त पहिला जस्तो चङ्गा उडाउने माहोल देखेका छन्, न त पहिलाको जस्तै गुणस्तरीय चङ्गा र धागो नै। उनी आफैंले अहिले उडाइरहेको चङ्गाप्रति पनि उनी सन्तुष्ट छैनन्। किनभने, बालापनमा उनले उडाउने चङ्गाहरु अहिलेका भन्दा फरक खालका हुन्थे। चङ्गा चेटका लागि ती प्रभावकारी थिए।

‘पहिले–पहिले कागजका राम्रा–राम्रा चङ्गा आउँथे। अहिले प्लाष्टिकका चङ्गा आउँछन्, ती पहिलेका जस्ता राम्रा हुँदैनन्’ उनी सुनाउँछन्, ‘अहिले पुच्छर भएका चङ्गा आउन थाले। पहिला पुच्छर नभएका चङ्गा हुन्थे। पुच्छर भएका चङ्गा उडाउन सजिलो हुन्छ। पुच्छर नभएको चङा उडाउन गाह्रो हुन्छ। तर, गाह्रो भएपनि उडाउन मज्जा चाहिँ पुच्छर नभएकै हुन्छ।’

उनको भनाइमा, चङ्गा उडाउन जान्नेहरूले पुच्छर नभएकै चङ्गा उडाउँछन्। पुच्छर नभएको चङ्गालाई खुल्ला आकासमा उडाएर नियन्त्रणमा लिनु एक हिसाबले अचम्मको सीप हो।

उनलाई लाग्छ, चङ्गा उडाउनु एक कला हो।

119712141_3416140051781074_1315149045025208461_n.jpg

कतिपयले उडाएको चङ्गा नदेखिने गरी माथिमाथि आकासमा उड्छन भने कसैले उडाएको चङ्गा अलिमाथि नपुग्दै झर्छन्। उडेको चङ्गालाई कति माथिसम्म पुर्याउने हो, यो कुरा उस्को सीप र कलामा भर पर्छ। कतिबेला धागोलाई खुकुलो गर्ने, कति खेर साह्रो बनाउने, अनि लट्टाइलाई कसरी समाउने, कता ढल्काउने, कति ढल्काउने भन्ने कुरा पनि व्यक्तिको सीपमा पर पर्छ। यी सीपलाई उत्कृष्ट रूपमा प्रयोग गरी चङ्गालाई स्थिर रुपमा उडाएर अनि चङ्गा चेट गर्नु विशेष कला हो।

उनी भन्छन्,‘चङ्गा चेट कसैले धागो तानेर गर्छन्, त कसैले धागो छोडेर गर्छन्। यो कुरा व्यक्तिको कलामा भर पर्छ। चङ्गा चेट गर्नु कठिन हुन्छ, जो सुकैले चङ्गा चेट गर्न सक्दैन।’

उनलाई अहिले चङ्गा उडाइरहँदा आफ्नो बालापनको याद आइरहेको छ। बहिनी रीतासँग मिलेर माजाको लागि सिसा खोजेर ल्याएको, त्यसलाई धुलो बनाएर माजा हालेको, अनि चङ्गा चेट गर्दा बहिनीले धागो तानेर मद्दत गरेको, अनि दाजुभाई मिलेर चङ्गा चेट पारेको क्षणहरु सबैभन्दा यादगार छन उनका लागि। उनी भन्छन्, ‘बहिनी र दाईहरुसँगको चङ्गा उडाउँदाको क्षण उमेर ढल्कँदै जाँदा विशेष लाग्दो रहेछ।’

अहिलेका बच्चाहरुले चङ्गाप्रति खास चासो नदिएको देख्दा उनलाई नमज्जा लाग्छ। ‘हाम्रो पालामा दशैँ, तिहार आउँदा आकाशभरि चङ्गा हुन्थ्यो’ उनी याद गर्छन्, ‘चाडपर्वको मज्जा नै चङ्गासँग जोडिएको हुन्थ्यो। हाम्रो मौलिक चाडसँग जोडिएको चङ्गा खासमा विशेष छ।’

अविभावकले पनि सुरक्षाका उपाय अपनाएर बालबालिकालाई चङ्गा उडाउन प्रेरित गर्न सके मौलिक खेलको संरक्षण हुने र बालबालिकाले पनि छुट्टै आनन्द लिन सक्ने बताउँछन् उनी।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट