लियोनेल मेस्सीको २० वर्षे बार्सिलोना यात्रा : न्यापकिनमा हस्ताक्षरदेखि ६ वटा ब्यालोनडिआरसम्म-Sutra News

लियोनेल मेस्सीको २० वर्षे बार्सिलोना यात्रा : न्यापकिनमा हस्ताक्षरदेखि ६ वटा ब्यालोनडिआरसम्म

बिहिबार, १ असोज २०७७

बिहिबार, १ असोज २०७७
काठमाडौं-लियोनेल मेस्सीलाई अनेकौँ उपनामले बोलाइन्छन् । ती उपनामहरुमा कतिले सहमति जनाउछन् त कतिले विमति । तर, उनलाई एउटा उपनामले बोलाईंदा कहिल्यै विवाद हुँदैन। त्यो उपनाम हो, ‘वान म्यान क्लब ।’ उनले आफ्नो खेल जीवनको सुरुवात आफ्नै देशको क्लबबाट गरे पनि उनको पछिल्लो करिअरको सुरुवात बार्सिलोनाबाट भएको हो । उनी यो क्लब बाहेक अन्त कतै गएर खेलेका छैनन्।
 
बाल्यकालमा उनलाई गम्भीर खालको ‘ग्रोथ डिफिसेन्सी’ नामक रोग लागेको थियो। परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उनलाई उपचार गर्न सकेका थिएनन्। उनलाई उपचार गर्न ठूलो रकम खर्च गर्न उनले खेलिरहेको क्लब ‘न्यू वेल्स वल्ड बोइज’ पनि असमर्थ भएको थियो। सानै उमेरमा फुटबल कौशलमा एकदम माहिर मेस्सीमाथि बार्सिलोनाको आँखा परेको थियो। पछि उनको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने सर्तसहित उनलाई बार्सिलोनाको एकेडेमीमा अनुबन्ध गरिएको थियो।
मेस्सीलाई बार्सिलोनाले नयाँ जीवनदान नै दिएको थियो। त्यसैले पनि उनी र बार्सिलोनाबीच छुट्टै सम्बन्ध रहेको छ। पटक–पटक बार्सिलोना छाड्ने हल्ला चले पनि उनले नछोड्नु पछाडिको प्रमुख कारण यसलाई पनि मानिन्छ।
messi.jpg
सबै भन्दा रोचक कुरा त यो हो कि मेस्सी र बार्सिलोनाबीच भएको अनुबन्ध पत्र ‘न्यापकिन’ मा लेखिएको थियो। न्यापकिनमै लेखिएको भए पनि मेस्सी र बार्सिलोनाबीचको सम्बन्ध कहिल्यै कच्चा भएन। सानो न्यापकिनमा लेखिएको सम्बन्ध आजसम्म पनि यति दिगो देख्दा संसारमा जो कोहिलाई आहरिस लाग्नु स्वभाविक हो। मेस्सी र क्लबबीच डिसेम्बर १४ मै अनुबन्ध पत्रमा हस्ताक्षर भएता पनि मेस्सीले ठीक २० वर्ष अघि आजकै दिन सेप्टेम्बर १७ मा बार्सिलोनाको माटोमा पाइला टेकेका थिए।
 
बार्सिलोनाबाट मेस्सीले जित्न बाँकी उपाधि सायदै होलान् । उनलाई क्लबले जति गरेको थियो, त्यति नै गुण मेस्सीले क्लबका लागि उपाधि जितेर तिरेका छन्।हाल मेस्सी संसारकै महान खेलाडी मध्ये एक हुन् । विभिन्न सन्चारमाध्यम र संघ–संस्थाले गरेको सर्वे तथा अनुसन्धानले पटक–पटक मेस्सीलाई संसारकै महान खेलाडीको पहिलो नम्बरमा राख्दै आइरहेका छन। यस तथ्यलाई मान्ने संसारमा अरबौँ मान्छे छन् भने नमान्नेहरुको जमात पनि उतिकै छ।
मेस्सीको अन्तर्राष्ट्रिय करिअरलाई साइडमा राखेर हेर्ने हो भने चाहिँ उनको प्रदर्शन र सफलतालाई कसैले खोट लगाउने ठाउँ छैन । यस तथ्यमा कसैले विमति राख्न सक्दैन।
 
मेस्सीले बार्सिलोना टेकेको ठीक २० वर्ष पुगेको अवसरमा उनको २० वर्षे बार्सिलोना यात्रकै चर्चा गर्दा उपयुक्त हुन्छ । मेस्सीले बार्सिलोनाको सिनियर टोलीमा भने सन २००४ मा डेब्यू गरेका थिए। सुरुवातको वर्ष नौ खेलमा मात्रै एक गोल गरेका थिए भने दोस्रो वर्ष २५ खेल खेल्ने मौका पाएका मेस्सीले ८ गोल गर्न सफल भए । तेस्रो वर्ष ३६ खेलमा १७ गोल गरेका मेस्सीले त्यसपछि त आफूलाई संसारकै खतरनाक ‘गोल मेसिन’ को रुपमा स्थापित गरिरहेका छन्।
 
मेस्सीले बार्सिलोनाबाट बनाएका रेकर्डहरु अनगिन्ती छन। ती मध्य केही रेकर्डहरु कसैले तोड्न नसक्ने खालका छन् । मेस्सीले सन २०१२ मा एकै वर्षमा ९१ गोल गरेका थिए। यो रेकर्डको नजिक अहिले सकृय खेलाडीहरु आसपास पनि पुग्न सकेका छैनन्। ती ९१ गोल मध्ये उनले ७९ गोल त बार्सिलोनाको जर्सी लगाएर ठोकेका थिए । यही तथ्यांकको वरिपरि पनि कोही पनि सकृय खेलाडी पुग्न सकेका छैनन्।
 
लियोनेल मेस्सीले हालसम्म छ वटा ब्यालोनडिआर जितेका छन् । फुटबल इतिहासमै सर्वाधिक उपाधी जित्ने मेस्सी एक्ला खेलाडी हुन् । उनलाई कृष्टियानो रोनाल्डोले पछ्याइरहेका छन्। यो संख्या आफैमा रेकर्ड हो भने ब्यालोनडिआरको मामिलामा मेस्सीको अर्को रेकर्ड पनि जो कोहीले तोड्ने कल्पनासमेत गर्न सक्दैन। त्यो हो, मेस्सीले लगातार चार वटा ब्यालोनडिआर जित्तेका छन् । उनले सन् २००९ देखि लगातार चार ब्यालोनडिआर जितेका थिए।
 
कृष्टियानो रोनाल्डोले सन् २०१७ मा करिअरको चौथो युरोपियन गोल्डेन बुट जितेपछि भनेका थिए, ‘फिफामा भोट बिना जित्न सकिने कुनै व्यक्तिगत अवार्ड छ भने त्यो हो, गोल्डेन बुट।’ उनको आसय थियो, ‘मैले सबै भन्दा धेरै गोल्डेन बुट जितेका छु, जुन आफ्नै मेहनतले जितिन्छ । ब्यालोनडिआर जस्तो भोटले जितिन्न।’
त्यस ताका मेस्सीसँग उनको भन्दा धेरै, चार वटा ब्यालोनडिआर थियो। र, उनीसँग मेस्सीसँग भन्दा धेरै गोल्डेन बुट थियो। त्यसयता रोनाल्डोसँग जम्मा चार वटा मात्रै गोल्डेन बुट छन् ।तर मेस्सीले त्यो संख्या बढाएर छ पुर्याइसकेका छन् । मेस्सीले सन् २०१७ देखि लगातार तीन गोल्डेन बुट जितेका छन् ।
 
मेस्सीले जितेका उपाधि र अवार्डहरुको बारेमा लेख्न थालियो भने एउटा ठेली पनि अपुग हुन सक्छ। उनले हालसम्म बार्सिलोनाको जर्सीमा कुल ७ सय ३१ खेलमा ६ सय ३४ गोल गरेका छन् भने २८५ गोलका लागि सिधा पास मिलाइदिएका छन् । उनी बार्सिलोनाको इतिहासकै सर्वाधिक गोलकर्ता हुन् भने ला लिगा इतिहासकै पनि सर्वाधीक गोलकर्ता र एस्सिटकर्ता हुन् ।
 
messi1.jpgउनले ला लिगामा मात्रै ४ सय ४४ गोल गरेका छन् भने १ सय ६९ गोलका लागि पास मिलाइदिएका छन् । हालसम्म उनले च्याम्पियन्स लिगमा १ सय १५ गोल गरेका छन् भने कोपा डेल रेमा ५३ गोल । यसै गरी उनले हालसम्म स्पेनिस सुपरकपमा १४, क्लब वर्ल्डकपमा पाँच र युरोपियन सुपरकपमा ३ गोल गरेका छन् । मेस्सी फुटबल इतिहासकै सर्वाधिक अस्सिस्ट कर्ता पनि हुन् । उनले हालसम्म ३१९ गोलका लागि सिधा पास मिलाइदिएका छन् ।
 
३३ वर्षिय मेस्सीले बार्सिलोनाको जर्सीमा हालसम्म ३३ वटा उपाधी जितेका छन्, जसमा उनले १० वटा लालिगा, ४ वटा च्याम्पियन्स लिग, ६ वटा कोपा डेल रे, ८ वटा स्पेनिस सुपर कप, ३ वटा क्लब वर्ल्डकप, ३ वटा युरोपियन सुपर कप र एउटा स्पेनिस लिग कपको उपाधी जितेका छन् ।
 
व्यक्तिगत रुपमा पनि उनले अनगिन्ती उपाधी र अवार्डहरु जितेका छन् । उनले एक दशको भित्रमा २ सय २५ खेलमा ‘म्यान अफ द म्याच’ उपाधी जितेका छन् । उनको आसपास कोही छैनन् । उनलाइ १ सय २५ उपाधिका साथ रोनाल्डोले पछ्याइरहेका छन् । उनले युरोपियन गोल्डेन बुट र ब्यालोनडिआर ६–६ पटक जितेका छन् । उनी फिफाको सर्वाधिक सर्वोत्कृष्ट अवार्ड ६ पटक जित्ने एक्ला खेलाडी हुन् ।
 
उनले ला लिगामा ६ पटक सर्वाधिक गोलकर्ताको उपाधी जितेका छन् । त्यस्तै ५ पटक कोपाडेल रे र ५ पटक च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको उपाधी जितेका छन् । उनले लालिगाको सर्वोत्कृष्ट खेलाडीको उपाधी ७ चोटी जितेका छन् भने युइएफए बेस्ट प्लेयरको उपाधी दुई पटक जितेका छन् । उनी बार्सिलोना क्लबको इतिहासमै सरवाधिक १० वटा ‘प्लेयर ओफ द इयर’ जित्ने खेलाडी हुन् ।
 
बार्सिलोनाले हालसालै कूल १० हजार गोलको आँकडा पार गरेको थियो। ती १० हजार मध्य मेस्सीले कम्तीमा १० प्रतिशत गोलमा सिधा सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट