सांसद संख्या बढाउँदै नेकपाका एकता पक्षधर-Sutra News

सांसद संख्या बढाउँदै नेकपाका एकता पक्षधर

सोमबार, २६ साउन २०७७

सोमबार, २६ साउन २०७७

काठमाडौं–पार्टी एकताका लागि हस्ताक्षर सार्वजनिक गरेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एकताको पक्षमा अन्य  सांसदहरुलाई पनि ल्याउने भएका छन्। आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन गरेर पार्टी विभाजन गर्न नहुने भन्दै नेकपाका ६१ सांसदले हस्ताक्षर सार्वजनिक गरेका थिए।



सांसद् नारदमुनी रानाले पार्टी विभाजन गर्न नहुने पक्षमा रहेका सांसदहरुको संख्या बढाउन र हिजोको कार्यक्रमको समीक्षा गर्न बैठक बस्न लागेको जानकारी दिए। ‘संख्या अलि बढाउनका लागि आज हाम्रो बैठक छ,’ रानाले सूत्रन्यूजसँग भने,‘त्यसपछि सबै नेतालाई भेट्ने योजना छ। हिजोको  कार्यक्रमको समीक्षा पनि हुन्छ। ’उनले पार्टी एकताका पक्षमा अझै संख्या थपिने बताए।

नेतासँग समय मिलाइँदै

आइतबार हस्ताक्षर सार्वजनिक गर्दै पार्टी एकता पक्षधर सांसदहरुले संकलन गरिएको हस्ताक्षर प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने बताएका थिए ।

आवश्यक परे मुख्य नेताहरुको घरमै गएर धर्ना दिइने पनि उनीहरुको भनाइ थियो। सांसद रानाले नेताहरुलाई भेटघाटका लागि सूचना पठाइ सकिएको बताए। समय मागे पनि आफ्ना निवासमा कार्यरत सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएका कारण ‘होम क्वारेन्टिन’मा बसेका कारण कसरी भेट्ने भन्ने बिषयमा छलफल भइरहेको उनले जानकारी दिए।

‘हामीले आउँदै छौं भनेर सूचना दिएका छौं,’रानाले भने,‘अहिले प्रचण्ड कमरेड कहाँ पनि भेटघाट बन्द छ। निवासमै रहेका सुरक्षाकर्मीमा कोरोना देखिएका कारण उहाँ होम क्वारेन्टाइनमा हुनुहुन्छ। अरुतिर पनि परिस्थिति हेरेर हुन्छ। अहिले समय पनि त्यस्तै छ।’

आजको स्वाथ्य सुरक्षाको प्रोटोकल अपनाएर कसरी हस्ताक्षर बुझाउने भन्ने विषयमा आज छलफल गरि टुंग्याइने रानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट