एनआईसी एसिया बैंकप्रति किन गुम्दैछ विश्वास ?-Sutra News

एनआईसी एसिया बैंकप्रति किन गुम्दैछ विश्वास ?

बिहिबार, ३ फाल्गुन २०८०

बिहिबार, ३ फाल्गुन २०८०

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनाको आर्थिक विवरणलाई हेर्दा, अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको छ । औसतमा खराब कर्जा ३ प्रतिशत नाघेको देखिन्छ । जसको कारण एकातिर बैंकहरुको नाफा प्रभावित भएको छ भने अर्कोतिर लगानी क्षमता घटेको छ ।



वित्तीय विवरणअनुसार यस अवधिमा २० वाणिज्य बैंकमध्ये ९ वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतमाथि छ । बैंकहरुमा सबैभन्दा कम एभरेष्ट बैंकको छ, जसको खराब कर्जा १ प्रतिशत मुनि छ ।

उसो अधिकांश बैंककै खराब कर्जा बढेको छ तर, अहिले सबैभन्दा बढी एनआईसी एशिया बैंकको खराब कर्जाको चर्चा भएको छ ।

एनआईसी एशियाको खराब कर्जा १.१९ प्रतिशत छ । जुन औसत वाणिज्य बैंकहरुको भन्दा निकै कम हो । खराब कर्जा बृद्धिको अनुपातलाई हेर्दा यसरी चर्चा गरिहाल्नु पर्ने होइन । तथापि, जुन दरमा खराब कर्जा बढेको छ, त्यसलाई सामान्यरुपमा पनि लिन भने मिल्दैन ।

यद्यपि, बैंकसँग जोडेर आएका अन्य विवरणले बैंकमाथि ठूलो अविश्वास पैदा गराएको छ । विशेषगरी एनआईसी एसिया बैंकले पुँजीकोष मिलान गर्न वासलात रिपोर्टमा एक खर्ब ३४ अर्ब रुपैयाँ फर्जी कर्जा देखाएको तथ्यले धेरैमाथि प्रश्न उठाएको छ । बैंकको २ खर्ब ९३ अर्ब कुल कर्जा प्रवाहमध्ये आवासीय कर्जामा मात्रै करिब ४७ प्रतिशत पुग्नुले प्रश्न उठाउँछ ।

यहीबीच बैंकभित्र व्यवस्थापनको विषयले अर्को किचलो सिर्जना गराएको छ । किचलोकै बीच लामो समयदेखि बैंकमा कार्यरत नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डे जिम्मेवारीबाट बाहिरिन खोजेका छन् । जसलाई बैंकले अफबा भनेको भएपनि यो बैंकबाटै बाहिरिएको तथ्य हो । जसलाई थामथुम गर्ने प्रर्यत्नमा बैंक लागेको देखिन्छ ।

यहीबीच बैंकका अन्य घटनाहरु पनि बाहिर आएका छन् । बैंकले ५० जति शाखा बन्द गर्नको निम्ति राष्ट्र बैंकलाई निवेदन दिएको छ भने काठमाडौं महानगरले आफ्नो मौज्दात बैंकबाट निकाल्ने विषयमा छलफल चलाएको छ । बैंक समस्यामा पर्दै गएको निष्कर्षसहित महानगरपालिकाभित्र त्यस्तो छलफल भएको हो ।

एनआईसी बैंकसँग सम्बन्धित विवादकै बीच सोमबार प्रहरीले दुई करोड नक्कली नोटसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको नोटमा एनआइसी एसिया बैंककै ट्याग देखिन्छ । जुन घटनापछि प्रहरीले एनआइसीमाथि पनि छानबिन बढाएको छ ।

एकातिर फर्जी वासलात रिपोर्टपछि केन्द्रीय बैंकले छानबिन थालेको छ भने अर्कोतिर नक्कली नोटको विषयमा बैंकमाथि छानबिन बढेको छ । यहीबीच बैंकका आन्तरिक थुप्रै विवाद छताछुल्ल मात्रै भएका छैनन् अन्य घटनाहरु पनि एकपछि अर्को गरी बाहिर आएका छन् । जसले बैंकमाथि नै प्रश्न उठाएको छ ।

लगानीकर्ता त्रसिए

एकपछि अर्को विवरण बाहिर आउँदा बैंकमाथि विश्वास गरी लगानी गरेका लगानीकर्ता त्रर्सिएका छन् । एकपछि अर्को गर्दै बैंकबाट रकम निकाल्न थालेका विवरण बाहिर आएका छन् । काठमाडौं महानगरपालिका भित्रको बहसले पनि बैंक सकसमा पर्दै गएको देखाउँछ ।

बैंकमा महानगरको आम्दानी–खर्च खाता मात्रै होइन, केही अर्ब रकम निक्षेपमा पनि छ । २०७८ मा सम्झौता हुँदा बैंकले ७ अर्ब निक्षेपमा राखेको थियो । जुन अहिले बढेको छ ।

यसरी विभिन्न तथ्य बाहिरिरहेका बेला दोस्रो बजारमा बैंकप्रति विश्वास गुम्न थालेका छ । एकातिर वित्तीय विवरणले लगानीकर्तालाई अन्योलमा छन् भने अर्कोतिर बैंकबारे आइरहेका अन्य समस्याका घटनाले पनि लगानीकर्तालाई निरुत्साहित पारेको छ । फलतः दोस्रो बजारमा बैंकको मूल्य तीन वर्षयताकै कम छ ।

२०७७ बैंकको प्रतिकित्ता मूल्य सरदर ४ सय हाराहारीमा झरेको छ । पछिल्लो सातामा मात्रै ५० रुपैयाँभन्दा बढीले प्रतिकित्ता मूल्य गिरावट आएको छ । जुन निरन्तर ओरालोमा देखिन्छ । बैंकिङ्ग विश्लेषक यो बैंकमाथि बढ्दै गएको चरम अविश्वास भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट