‘बासेन्जी’ चलचित्र असोज २६ देखि प्रदर्शनमा, निर्देशक भन्छन्– आँखाले होइन, दिमागले हेर्ने चलचित्र-Sutra News

‘बासेन्जी’ चलचित्र असोज २६ देखि प्रदर्शनमा, निर्देशक भन्छन्– आँखाले होइन, दिमागले हेर्ने चलचित्र

बिहिबार, १८ असोज २०८०

बिहिबार, १८ असोज २०८०

काठमाडाैं । निर्देशक इयन स्कट क्लेमेन्टको दोस्रो चलचित्र ‘बासेन्जी’ यही २०८० असोज २६ मा प्रदर्शन हुँदै छ ।



चलचित्रको ट्रेलर र यसका विषयमा भनिएका र लेखिएका तथ्यहरूले यो चलचित्र एउटा ‘साइकोलोजिकल थ्रिलर’ चलचित्र हो भन्ने बुझिन्छ । निर्देशक क्लेमेन्ट आफै भन्छन्, “यो चलचित्र आँखाले हेर्ने होइन, दिमागले हेर्ने हो । यो चलचित्रलाई मैले यस्तो तरिकाले प्रस्तुत गरेको छु, जसले दर्शकलाई एउटा सीमित दृष्टिकोणमात्र दिन्छ र त्यही दृष्टिकोणमा बसेर कथा बुझ्न आवश्यक छ । त्यसैले चलचित्र हेर्न आउँदा आफ्नो दिमाग खुला गरेर आउनुहोला ।”

‘बासेन्जी’ नेपालमा पहिलो पटक भिडियो गेम खेलेको जस्तो तरिकाले निर्माण गरिएको चलचित्र हो । यो चलचित्र प्रथम पुरुष वा तृतीय पुरुष दृष्टिकोणमा हेर्न सकिन्छ, जुन आजसम्म भिडियो गेमहरूमा मात्र देख्‍न पाइन्थ्यो । यस्तो क्यामराको कोण प्रयोग भएका कारण दर्शकले कथाको प्रमुख पात्र ‘प्रवेश’ लाई छोड्नै पाउँदैनन् – कि उसले देखेका दृश्यहरू हेरिन्छ कि उसलाई नै हामीले केन्द्रमा राखेर हेरेका हुन्छौं ।

यस्तो प्रकारको क्यामरा कोण प्रयोग भएकाले नै निर्देशक क्लेमेन्टले, “दिमागले हेर्न आउनुस्” भनेका छन् । वरिपरिको परिवेश, वातावरण, अन्य कलाकारको हाउभाउ, भङ्गिमा, आदि सबै निर्धारित र साँघुरो दृष्टिकोणले हेर्नुपरेकाले दर्शकहरू पनि उसै गरी साइकोलोजीमा निश्चित भएर नै चलचित्र हेर्नुपर्ने हुन्छ । यसले एउटा थ्रिलर भावना उत्पन्न गर्छ र चलचित्रको कथाक्रम बिस्तारै एउटा रहस्य खुलेको जस्तो गरेर खुल्छ ।

“बासेन्जी” चलचित्र गौरीशङ्कर इन्टरटेनमेन्टका सुरज मैनाली र गौरव बस्नेतले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रवेशको भूमिकामा कलाकार असिम निरौला आबद्ध छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् । वरिष्ठ कलाकार मिथिला शर्मा र सरिता गिरीको पनि यो चलचित्रमा प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट