चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुख घिमिरेको चासो-Sutra News

चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे सभामुख घिमिरेको चासो

बिहिबार, ४ फाल्गुन २०७९

बिहिबार, ४ फाल्गुन २०७९

काठमाडौं। सभामुख देवराज घिमिरेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन् ।



सभामुख घिमिरेले बिहीबार बिहान कीर्तिपुर अस्पतालका प्रमुख डा. किरण नकर्मीलाई फोन गरेर सांसद् भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

आमाछोराकै कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । सांसद भण्डारी र उनकी आमाको उपचारमा कमि हुन नदिन र संवेदनशील पनि सभामुख घिमिरेले अस्पतालका प्रमुख डा. नकर्मीलाई आग्रह गरेका छन् । साथै सभामुख घिमिरेले चन्द्र भण्डारी र उनकी आमाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

यता अस्पतालले दुवैजनाको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ । सांसद भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सिफारिस गरेका छन् । बुद्धनगरस्थित निवासमा बुुधबार राति ग्याँस सिलिण्डर विस्फोट हुँदा उनीहरु जलेर घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट