फोहोरमाथि फोहोरी राजनीति नगरौं-Sutra News

फोहोरमाथि फोहोरी राजनीति नगरौं

सोमबार, ३० साउन २०७९

सोमबार, ३० साउन २०७९

रविन्द्र पाण्डे । अहिले उपत्याकामा फोहोर थुप्रिएको छ । फोहोरको कारण गाडीको टायर र जुत्ता हुँदै हैजा, झाडावान्ता, टाइफाइड, हेपाटाइटिस, डेंगी आदिका किटाणु घरघरमा पुग्दैछन् । यस्ता सरुवा रोग बिष्फोट भएभने हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन । हरेक देशको राजधानी त्यहाँको नगरपालिकाले मात्र हेर्दैन । राजधानीलाई बस्न योग्य, स्वस्थ्य र सभ्य बनाउन सबै प्रकारका सरकार र निकाय परिचालन भएका हुन्छन् । काठमाडौंको फोहोर भन्नाले कामनपा बाहेक अन्य धेरै पालिकाको फोहोर पनि हो ।



काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोरको समस्या समाधान गर्न धेरै प्रयत्न गरेको हामीलाई थाहा छ । एक्लै मेयर वा महानगरले फोहोरको ब्यबस्थापन गर्न सक्दैन । राजधानीको फोहोर संघीय सरकारले नै ब्यबस्थापन गर्नुपर्दछ । तीनवटा सत्तारुढ दल मिलेर फोहोर अबरुद्ध गर्ने बिज्ञप्ति निकाल्नु निकै लज्जाको बिषय हो । हाम्रा पार्टीहरुले भोटको राजनीति बाहेक केहि जानेका छैनन् वा जनताप्रति पटक्कै जिम्मेवार छैनन् भन्ने यो ताजा उदाहरण हो ।

फोहोर ब्यबस्थापन रोक्ने दलीय खेलबिरुद्ध आम जनता एकबद्ध भएर सरकारलाई दवाव दिनु जरुरी छ । फोहोरमाथि भएको मासिक अर्बौंको खेल खेल्ने बिचौलियाको मुकुण्डो उतार्नु जरुरी छ । यदि सरकारले तत्काल फोहोरको ब्यबस्थापन गर्दैन भने काठमाडौं महानगरपालिकाले बिकल्प सोंच्नु पर्दछ ।

१. उपत्याकका हरेक पालिकाले आफ्नो फोहोर आफै बिसर्जन गर्ने आआफ्ना डम्पिङ साइट बनाउनु पर्दछ ।
२. हरेक वडाले आफ्नो वडाको फोहोर ब्यबस्थापन गर्नको लागि इन्सिनेटर लगायतका उपकरण खरिद गरेर संचालन गर्नुपर्दछ ।
३. सबै पालिकाले दातृ संस्था वा सहयोगी संस्थासंग फोहोरको आधुनिक ब्यबस्थापन, मल उत्पादन र रिसाइकलको लागि सम्झौता गर्नुपर्दछ।
४. जनस्वास्थ्यमाथि फोहोरी राजनीति गर्ने दललाई जनताले आगामी चुनावमा जमानत जफत गरिदिनु पर्दछ।
५. कामनपाले बिभिन्न ठाउँमा पाइलट डम्पिङ एबम प्रशोधन साइट पहिचान गर्नुपर्दछ ।
६. सधै कुनै न कुनै निहुँ पारेर फोहोर बिसर्जनमा अबरोध गर्ने सिसडोल र बन्चरे डांडासंग गरिएका सम्झौता रद्द गर्नुपर्दछ ।
७. हामी आम नागरिकले महानगर र मेयरको सिमितता बुझेर फोहोरलाई ब्यबस्थापन नहुने बेलासम्म बाटोमा फाल्नु हुँदैन ।

८. मेयर भनेको जननिर्वाचित व्यक्ति हो । चुनावमा हारेका वा आगामी चुनावमा हार्ने डर भएका नेताले स्वतन्त्र व्यक्तिले केहि गर्न सक्दैन भन्ने भाष्य स्थापित गर्नको लागि फोहोरी राजनीति गरेको तथ्य हामीले बुझ्नु पर्दछ ।धरानका मेयर हर्क सांपांगलाई गरिरहेको असहयोग हामीले देखेका छौं | यो प्रवृतिलाई हामीले जसरी पनि रोक्नु पर्दछ ।

हामीलाई राजनीति गर्नु छैन । राजधानीलाई सफा, स्वच्छ, पर्यटकमैत्री तथा सभ्य बनाउनको लागि काम गर्ने हरेक व्यक्ति, नेता वा संस्थालाई हामीले सम्मान गर्छौं | जनस्वास्थ्यमाथि खेलवाड गर्ने जोकोही हुन्, उनीहरुको बिरुद्ध ऐक्यबद्ध भयौं भने फोहोरी राजनीति सधैको लागि अस्ताउने छ । सहि कुरामा कसैको झोले र चम्चे हुनु भनेको आफ्नो स्वाभिमान बिक्रि गर्नु हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट