एमालेका मध्यमार्गी नेताहरू विभाजित : कोही ओलीतिर, कोही रावलतिर-Sutra News

एमालेका मध्यमार्गी नेताहरू विभाजित : कोही ओलीतिर, कोही रावलतिर

सोमबार, ११ असोज २०७८

सोमबार, ११ असोज २०७८

गत असार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखिरहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १० मध्यमार्गी नेताहरूबीच नै फूट आएको छ ।



गत शुक्रवारदेखि आइतवारसम्म चलेको केन्द्रीय कमिटी बैठकमा दश भाइमध्ये कतिपय नेताहरू चुप बसेका थिए भने घनश्याम भुसाल, भीम रावल र केही केन्द्रीय सदस्यले भने दश बुँदे कार्यान्वयनमा नेतृत्त्व इमान्दार बन्नुपर्ने आवाज उठाएका थिए ।

उनीहरूले पनि त्यो आवाज औपचारिकताका लागि मात्र उठाएको टिप्पणी हुन थालेको छ । दश बुँदे कार्यान्वयन नभएपछि आफू सुदूरपश्चिमको इन्चार्ज बन्न नपाएको इख भीम रावललाई छ भने घनश्याम भुसालले प्रतिनिधि सभाको विघटन गलत थियो भनेर अध्यक्ष केपी शर्मा ओलीले रियलाइज गर्नुपर्ने कुरा राखेका थिए ।

तर योगेश भट्टराई, गोकर्ण बिष्ट, अष्टलक्ष्मी शाक्य, भीम आचार्य लगायतका नेताहरूले भने विधान महाधिवेशनका लागि प्रस्तुत गरिएका दस्तावेजमाथि कुनै आवाज उठाएनन् । उनीहरू ओलीकै लाइनमा हिँडेको विश्वास गर्न थालिएको छ ।

तर स्थायी कमिटीका रावल र भुसाललगायत केही केन्द्रीय सदस्य भने दश बुँदे सहमति जसरी पनि कार्यान्वयन हुनुपर्छ भन्ने लाइनमा उभिएका छन् ।

यद्यपी आज बस्ने स्थायी कमिटीमा दश बुँदेको कार्यान्वयनबारे छलफल हुने नेताहरूले बताएका छन् ।

गत भदौ २ गते एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन हुँदा त्यतिबेलासम्म नेता नेपाललाई साथ दिएका दश स्थायी कमिटी सदस्यहरूले ओलीलाई साथ दिएका थिए । दश बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ भन्ने थेगो उनीहरूको फेस सेभिङ थियो ।

नवौं महाधिवेशनदेखि नै नेता माधवकुमार नेपाललाई सहयोग गर्दै आइरहेका मध्यमार्गी नेताहरूले अन्तिम अवस्थामा नेपालको साथ छाडेका थिए । तर केन्द्रीय कमिटी बैठकमा ओली पक्षले बारम्बार आफूमाथि कारवाही गर्नपर्ने कुरा उठाउन थालेपछि उनीहरू जंगिएका थिए ।

‘दुई दुई पटक संसद विघटन गर्नेले कान समातेर कतिपटक उठबस गर्नुपर्ने हो ? यो कुरा पनि उठाइदिए हुन्थ्यो,’ जवाफमा एक नेताले भनेका थिए ।

गत असार २७ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपाल र अध्यक्ष ओली पक्षबीच १० बुँदे सहमति भएको थियो । उक्त दशबुँदे सहमति हुबहु लागू गर्न ओलीले चासो देखाएका छैनन् । ओलीले आफ्नो सरकार ढालेर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्दै मध्यमार्गी नेताहरूमाथि आफ्नो दस्तावेजमै तितो पोखेका थिए ।

एमालेलाई २०७५ सालको जेठ २ गते फर्काउने मध्यमार्गी नेताहरूको प्रयास सफल हुन सकेको छैन । सुदूरपश्चिममा भीमबहादुर रावलको इन्चार्ज खोसिएको छ भने वागमतीमा अष्टलक्ष्मी शाक्यको ठाउँमा माओवादी छोडेर गएका रामबहादुर थापा कायमै छन् ।

एमालेले यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा विधान महाधिवेशनको आयोजना गर्दैछ । त्यसैको छलफलका लागि भन्दै शुक्रवारदेखि केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकमा ओलीले राजनीतिक दस्तावेज पेश गरेका छन् भने महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रस्ताव पेश गरेका छन् ।

विधान महाधिवेशनका लागि प्रस्तावित दस्तावेजमा छलफल गर्न बोलाइएको केन्द्रीय कमिटी बैठकमा असन्तुष्ट नेताहरूले आफ्नो माग सम्बोधन गर्न आवाज उठाइरहेका छन् ।

‘दशबुँदे सहमतिलाई स्थायी र केन्द्रीय कमिटीले सर्वसम्मत ढंगले कार्यान्वयनमा लैजाने भनेको छ  तर व्यवहारमा लागू भएको छैन,’ केन्द्रीय सदस्य झपट रावलले भने, ‘यसको बुझाइ, कार्यान्वयन र आत्मसात् गर्ने सन्दर्भमा एकरूपता छैन । एकरूपता बनाउन छलफल गरौँ भन्ने माग राखेको हो ।’

तर ओली पक्षका नेताहरूले भने केन्द्रीय कमिटी बैठक लगत्तै स्थायी कमिटी बैठक डाकिने र दशबुँदे सहमतिबारे छलफल गरिने बताएका छन् । ‘पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने, ‘दश बुँदे सहमति लागू भइसकेको छ, यसबारे छलफल गर्नुपर्ने कुनै आवश्यकता छैन । यदि यसबारे थप छलफल गर्ने हो भने यसलगत्तै स्थायी कमिटी बैठक आयोजना गरेर त्यहीं गरे भइहाल्यो नि !’

रावलले त केन्द्रीय कमिटी बैठक नै छोडेरसमेत हिँडेका छन् । असन्तुष्ट मानिएका रावल केन्द्रीय कमिटी बैठक छोडेर हिंड्नु र उपस्थित नै नहुनुलाई अर्थपूर्ण रूपले हेरिएको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट