सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस अधिवेशन अनिश्चित-Sutra News

सुदूरपश्चिमका ३ जिल्लामा कांग्रेस अधिवेशन अनिश्चित

बिहिबार, २४ भाद्र २०७८

बिहिबार, २४ भाद्र २०७८

धनगढी- सुदूरपश्चिमका तीन जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । १८ भदौदेखि सुरु भएको अधिवेशन अन्तर्गत प्रदेशका ६ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भए पनि कैलाली, डडेल्धुरा र बाजुरामा भने अनिश्चित बनेको छ ।



क्रियाशिल सदस्यतामा भएको विवादका कारण ३ जिल्लामा अधिवेशन हुन नसकेको हो । विवादित तीनै जिल्लामा मनोमानी क्रियाशील सदस्यता वितरण गरेको भन्दै विवाद भएको छ ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा देखिएको कांग्रेस कैलालीका उप-सभापति प्रकाश बमले जानकारी दिए । उनले विवाद समाधान गर्न छानविन भइरहेको बताए । 

डडेल्धुरामा मनोमानी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै कर्ण मल्ललगायतका नेताले विरोध गरेपछि वडा अधिवेशन हुन सकेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ताले पुराना नेतालाई पाखा लगाएर मापदण्ड नै नपुगेका खल्तीका कार्यकर्तालाई क्रियाशील सदस्यता वितरण गरेको भन्दै डडेल्धुरामा विवाद सुरु भएको हो । डडेल्धुरामा निर्वाचन समितिले यही २५ भदौका लागि वडा अधिवेशन तोकेको छ ।

तर जिल्ला सभापतिले विज्ञप्ति जारी गर्दै तोकिएको अधिवेशन स्थगित गरेका छन् । डडेल्धुरामा कांग्रेसका ४ सय बढी पुराना नेताको नाम क्रियाशील सदस्यताबाट हटाइएको उनको आरोप छ । 

बाजुरामा पनि क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको छ ।  संस्थापन पक्षले अवैधानिक तरिकाले क्रियाशील सदस्यता बाँडेको भन्दै विवाद भएपछि बाजुरामा अधिवेशन कहिले हुने टुंगो छैन । असन्तुष्ट समूहले क्रियाशील सदस्यता छानविनको माग गरेको छ ।

कांग्रेस बाजुराका नेता तथा त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले जिल्ला सभापतिको मिलेमतोमा अवैधानिक तरिकाले क्रियाशील सदस्यता बाँडेको आरोप लगाए । ४ सय ५१ जनाको फर्जी नामावली तयार गरी संस्थापन पक्षले एकलौटी गर्न खोजेको र कांग्रेस बाजुरालाई कम्जोर बनाउन खोजिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट