वामदेव गौतम भन्छन्- ओलीको अत्याचार सहने स्थिति छैन-Sutra News

वामदेव गौतम भन्छन्- ओलीको अत्याचार सहने स्थिति छैन

मंगलबार, २६ साउन २०७८

मंगलबार, २६ साउन २०७८

काठमाडौं- एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीले एकलौटी रूपमा विधान संशोधन गरेर अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।



स्थायी कमिटी बैठकमा गौतमले ओलीले अधिकार केन्द्रित गर्ने मनसायसहित विधान संशोधन गरेको बताए  । विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका अधिकारहरू’ भन्ने शीर्षक राखेर अरू अधिकार थप्न गौतमले सुझाएका थिए ।

‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ भन्ने बुँदा पनि थप्नुस्,’ उनले भनेका थिए, ‘अनुशासनात्मक कारबाहीसम्बन्धी धाराको व्यवस्थालाई परिमार्जन गरेर कतिलाई अपराधी भन्न सकिने, कतिलाई गद्दार र कतिलाई देशद्रोही भन्न सकिनेछ भन्ने बुँदा पनि थपौं  ।’

राजनीतिक मतभिन्नताका सन्दर्भमा ओलीले नेपाललाई अपराधी, गद्दार र देशद्रोही भनेको भन्दै गौतमले भने, ‘अध्यक्षले यस्तो भन्न पाइन्छ भन्ने व्यवस्था पनि गरौं तर अध्यक्षले अनुशासन उल्लंघन गर्दाचाहिँ के गर्ने ?’

गौतमले बैठकमा आफूले छुट्टै प्रतिवेदन ल्याएको र त्यसलाई छलफलको विषय बनाउन आग्रह गरेका थिए तर ओलीले अस्वीकार गरेपछि उनी केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भन्दै हिँडेका थिए ।

‘केपीको अत्याचार सहन सक्ने स्थिति छैन, उनलाई जे–जे लाग्छ, त्यो हामीले मान्नैपर्छ भन्ने कुरा आयो, मैले ती सबै कुराको प्रतिवाद गरें,’ उनले कान्तिपुरसँग भने, ‘मेरो छुट्टै डकुमेन्ट छ । त्यसलाई छलफलमा लैजान भनें । उनीहरूले मानेनन् । त्यसपछि म हिँडें ।’, कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट