सांसद अपहरण र बन्धक बनाएको आरोप लागेका लुम्बिनीका मुख्यमन्त्री पोखरेलको ‘दिनगन्ती’ शुरू-Sutra News

सांसद अपहरण र बन्धक बनाएको आरोप लागेका लुम्बिनीका मुख्यमन्त्री पोखरेलको ‘दिनगन्ती’ शुरू

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गते प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ ।



सामाजिक सञ्जालमा निकै आलोचित बनेका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले बहुमत जुटाएर अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसामू अविश्वासको प्रस्तावसँगै संसदको विशेष अधिवेशन आह्वान गर्न समावेदन गरिएको थियो । शेरचनले सोही समावेदनअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम साउन २७ गते प्रदेशसभा आह्वान गरेका हुन् ।

८० सदस्यीय प्रदेशसभा भएको लुम्बिनीमा एमाले एक्लैको सांसद संख्या जम्मा ३८ रहेको छ । त्यस्तै माओवादी केन्द्रका १९, कांग्रेसका १९, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेका छन् ।

लुम्बिनीमा सरकार बनाउन ४१ सांसद चाहिन्छ । अहिले विपक्षी गठबन्धन एक भएको अवस्थामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सोझै पारित हुने देखिन्छ ।

उपनिर्वाचनमा नेकपाबाट निर्वाचित सांसद बिमला वलीलाई आफ्नो पक्षमा ल्याउन मुख्यमन्त्री पोखरेलले निकै कसरत गरेका थिए । उनीमाथि सांसद वलीलाई अपहरण र बन्धक बनाएको आरोप लागेको छ ।

उनले बिहीवार पत्रकार सम्मेलन गरेर आफू माओवादी केन्द्रमै रहेको सार्वजनिक गरिसकेकी छन् ।

यससँगै माओवादी केन्द्रका सांसद कूलप्रसाद केसीको मुख्यमन्त्री बन्ने बाटो सहज भएको छ । गण्डकीमा विपक्षी गठबन्धनले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाएर कृष्णचन्द्र नेपाली पोखरेललाई बनाएको थियो ।

गण्डकीपछि लुम्बिनीबाट एमालेको सरकार खोस्ने योजना शुरू भएको थियो । अब मुख्यमन्त्री पोखरेलको दिनगन्ती शुरू भएको लुम्बिनीका एक सांसदले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट