के बिमला वलीले मुख्यमन्त्री पोखरेलसँग १ करोड मागेकी थिइन् ? यस्तो छ स्रोतको दाबी-Sutra News

के बिमला वलीले मुख्यमन्त्री पोखरेलसँग १ करोड मागेकी थिइन् ? यस्तो छ स्रोतको दाबी

शनिबार, २३ साउन २०७८

शनिबार, २३ साउन २०७८

घरि माओवादी केन्द्र, घरि एमालेमा रहेको दाबी गर्ने लुम्बिनी प्रदेश सभा सदस्य बिमलाकुमारी खत्री वली संसद किनबेचको एउटा महत्त्वपूर्ण उदाहरण बनेकी छन् । केही दिनअघि उनले एमालेमै रहेको वक्तव्य जारी गरेकी थिइन् भने त्यसको दुई दिनमै पत्रकार सम्मेलन गरेर आफूलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको आरोप लगाइन् ।



पत्रकार सम्मेलनमा उनले आफू उपचारका लागि नेपालगंज जाँदै गरेको बेलामा एमालेका मुख्य सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कार्यालय पुर्याएर तीन दिनसम्म बन्धक बनाएको आरोप लगाइन् । उनले ट्वाइलेटको चप्पल लगाएर भाग्न सफल भएको र माओवादी केन्द्रको कार्यालयमा सम्पर्क गरेको बताइन् ।

तर के बास्तवमै उनलाई अपहरण गरेर बन्धक बनाइएको थियो त ? यसको स्वतन्त्र पुष्टि अहिलेसम्म भएको छैन । उनले आफूलाई बन्धक बनाइएको भन्दै पत्रकार सम्मेलनमा दाबी गरे पनि कहीं कतै उजुरबाजुर गरेकी छैनन् । मुख्य सचेतक ढकालले वलीले नै मुख्यमन्त्री पोखरेलसँग भेट गर्न आग्रह गरेको र आग्रह बमोजिम नै उनलाई मुख्यमन्त्री कार्यालय लगिएको स्पष्टिकरण दिइसकेका छन् ।

आफ्ना पति तथा सांसद उत्तरकुमार वलीको निधन भएपछि उपनिर्वाचनमा बिमला वली निर्वाचित भएकी थिइन् । उत्तरकुमार वली एमालेको टिकटबाट निर्वाचित भएका थिए भने बिमला तत्कालीन नेकपाको टिकटमा उम्मेदवार बनेर बिजयी भएकी थिइन् ।

उनलाई एमालेले आफ्नो सांसद भएको दाबी गरेको छ । तर उनले पहिलोपटक मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा आफू माओवादी केन्द्रमा रहेको बताएकी थिइन् ।

स्रोतका अनुसार उनी तानातानमा पर्नुमा ठूलो आर्थिक चलखेल भएको छ । ‘पहिला ५५ लाख लिएर उनले माओवादी केन्द्रमा जाने निर्णय गरेकी थिइन्, अहिले मुख्यमन्त्री पोखरेलसँग एक करोडको बार्गेनिङ गरेकी थिइन् । उनले माग गरेको रकममा पोखरेलले तीन दिनसम्म कुनै प्रतिक्रिया नजनाएपछि माओवादी केन्द्रको सम्पर्कमा पुगेकी हुन्,’ स्रोतले भन्यो ।

यसबारे माओवादी केन्द्रका नेताहरू केही बोल्न चाहन्नन् । उनलाई ५५ लाख दिइएको विषय पनि गोप्य नै छ । माओवादी केन्द्रका एक सांसदले सूत्रन्यूजसँग भने, ‘पैसा दिएर उनलाई यता ल्याइएको कुरा सरासर झुट हो ।’

तर बिमला वलीले आफूले पूर्व सभामुख तथा माओवादी नेतृ ओनसरी घर्ती र प्रदेश सांसद सुदर्शन बरालमार्फत ५५ लाख लिएको आफ्ना आफन्तलाई बताउने गरेको स्रोतको दाबी छ । आफू चुनाव लड्दा आर्थिक भारले थिचिएका कारण माओवादी केन्द्रसँग पैसा लिएको उनको दाबी छ ।

यद्यपि मुख्य सचेतक ढकालले उनलाई मुख्यमन्त्री पोखरेलसँग भेट्न र आर्थिक सहयोग माग्न उत्प्रेरित गरेका थिए । ‘मुख्यमन्त्रीसँगै कुरा गर्नुस् पैसाको, तपाईलाई कति चाहिएको हो, त्यही अनुसार कुरा गरौंला,’ मुख्य सचेतक ढकालले यही भनेर उनलाई मुख्यमन्त्री कार्यालयसम्म पुर्याएका थिए ।

तर करोड चाहिँ निकै धेरै भएको भन्दै पोखरेलले वलीको डिमाण्डलाई वास्ता गरेनन् । पोखरेल निवासमै रहँदा पनि उनले पटक-पटक माओवादी केन्द्रका नेताहरूसँग फोन सम्पर्क गरेकी थिइन् । ‘सायद उहाँलाई उतैबाट अझ बढी आर्थिक सहयोग गर्ने आश्वासन आयो होला र उतै जानुभयो,’ एमालेका एक सांसदले भने ।  

उनी मुख्यमन्त्री कार्यालयमै रहँदा माओवादी केन्द्रनिकट ठेकेदार एकराज बस्नेतसँग कुराकानी गरेकी थिइन् । त्यसपछि उनको मन फेरिएको स्रोतको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट