ओली रणनीति : नेपाल र रावललाई एमालेमा छिर्न नदिने, बाँकीका लागि लचकता-Sutra News

ओली रणनीति : नेपाल र रावललाई एमालेमा छिर्न नदिने, बाँकीका लागि लचकता

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

सत्तारूढ दल एमालेभित्रको बढिरहेको मनमुटाव शान्त पार्न दोस्रो पुस्ताका नेताहरूको तीव्र दौडधूपले कुनै आशा जगाउन सकेको छैन । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र साधारण सदस्यबाटै निष्कासित गरिएका वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो डम्फु बजाउन व्यस्त छन् ।



ओलीले नेता नेपालसँग कुनै पनि हालतमा मिल्न नसकिने ब्रिफिङ आफूनिकट नेताहरूलाई गर्ने गरेका छन् । ‘माधव र भीम रावलसँग कुनै हालतमा सम्झौता हुन सक्दैन,’ ओलीनिकट एक नेताले भने, ‘पार्टी एकतालाई ध्वस्त पार्न क्रियाशील हुनुहुन्छ उहाँहरू । बाँकीका हकमा प्रधानमन्त्री लचक हुनुहुन्छ ।’

नेता नेपाललाई एक्ल्याएर बाँकीसँग वार्ता गर्दै जाने ओलीको रणनीति रहेको छ । सोमवार साँझ ओलीले आफूनिकट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीलाई नेपालनिकट नेताहरूसँग भेट गर्न होटेल याक एण्ड यति पठाएका थिए ।

पढ्नुहोस् यो पनि – 

एमाले फुट्न नदिन दोस्रो तहका यी नेताहरू सक्रिय एमाले फुट्न नदिन दोस्रो तहका यी नेताहरू सक्रिय

भेटमा नेपाल समूहबाट अलि लचक मानिएका नेताहरू सहभागी थिए । सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भेटमा ओलीनिकट नेताहरूले एउटै प्रस्ताव ल्याएका थिए, त्यो हो, पार्टीलाई जेठ २ गते फिर्ता गर्न सकिन्छ तर नेता नेपाल र अन्य केहीले सार्वजनिक आत्मालोचना गर्नुपर्छ ।

ओली पक्षबाट यस्तो प्रस्ताव आएपछि एकजना नेताले माधवकुमार नेपाललाई त्यहींबाट म्यासेज गर्दै यस्तो कुरा छ भनेर भनिदिए । उनले शर्तसहित पार्टी एकता नहुने सुनाइदिन आग्रह गरे । कुनै निष्कर्षबिना राति ११ बजे छलफल सकियो । त्यसयता नेताहरूबीच भेटघाट भएको छैन ।

नेता युवराज ज्ञवालीले अब वार्ताको कुनै अर्थ नरहेको बताएका छन् । उनी भन्छन् – हाम्रा केही साथीहरूलाई पार्टी अझै पनि एक रहन सक्छ कि भन्ने लागेको हुनसक्छ । उहाँहरूले प्रयास गर्नु नराम्रो होइन । ओली हाम्रा अध्यक्ष पनि होइनन् । उनले एमाले होइन, ‘ओली पार्टी’ चलाइरहेका छन् ।’  

पार्टी एकताको कुरा पनि गर्ने तर ११ नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने ओलीको कदमप्रति नेता नेपाल पक्षका धेरै नेताहरू खुसी छैनन् ।

अनेरास्ववियूका पूर्व अध्यक्षसमेत रहेका एमाले नेता राजेन्द्र राई भन्छन् – ‘एमालेभित्र निर्लज्ज वार्ता चलिरहेको छ ।’

बुधवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै राईले वार्ता र चाहिएको, चाहेको हो भने वार्ता आरम्भ भएर सहमतिको खाका निर्माण गरिदै गर्दा फेरि एकपछि अर्को गर्दै कारबाहीको डण्डा किन चलाएको भन्दै प्रश्नसमेत गरेका छन् ।

‘खुदै वार्ता टोलीका शीर्ष सदस्यलाई समेत कारबाही किन गर्नु ?’ राईको प्रश्न छ, ‘एकता चाहने हो भने बरु गरिएका कारवाहीहरुको फुकुवा गर्दै पो जानु पर्छ त !’ उनले यथाअवस्थाको वार्ता अनाधिकृत वा व्यक्तिगत मात्र हो र यो वार्ता निर्लज्ज प्रकृतिको समेत रहेको आरोप लगाए ।

पढ्नुहोस् यो पनि – 

एमालेभित्र चलिरहेको वार्ता निर्लज्ज - नेता राई एमालेभित्र चलिरहेको वार्ता निर्लज्ज – नेता राई

नेता नेपाललाई एक्ल्याउने रणनीतिमा ओली अघि बढेको धेरै नेताहरूको बुझाइ छ । शुरूमा नेपाल पक्षमा ४० को हाराहारीमा सांसद थिए । पुस ५ गतेको संसद विघटनपछि नेता नेपालको शक्ति क्षीण हुँदै गइरहेको देखिन्छ । पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै नेपाल पक्षका २३ निवर्तमान सांसदहरूले सर्वोच्चमा रिट हालेका छन् ।

बालुवाटारले यो शक्ति अझै घट्दै जाने प्रक्षेपण गरेको छ । ओलीनिकट एक नेता भन्छन् – ‘उहाँहरू २/३ जनामात्र रहनुहुन्छ । बाँकी सबैलाई एमालेको र चुनाव चिह्न सूर्यको महत्त्व छ ।’

गोकर्ण बिष्ट र योगेश भट्टराईलाई आफूतिर तान्न सके नेपाल समूह छिन्नभिन्न हुने बालुवाटारको आंकलन देखिन्छ । यी दुवै जनाले सर्वोच्चमा रिट हालेका छैनन् । भट्टराईले अन्तिम समयमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए भने बिष्टले आफूलाई ज्वरो आएको भनी सचिवालयमार्फत सूचना सार्वजनिक गरेका थिए ।

तर पछिल्लो समयमा ओलीको आलोचना गर्दै १५ स्थायी सदस्यहरूले निकालेको विज्ञप्तिमा भने भट्टराई र बिष्ट दुवैको हस्ताक्षर रहेको छ ।

ओली सरकारको हरेक गतिविधिमाथि प्रश्न उठाउने भीम रावल नयाँ पार्टी गठन गरेर अघि बढ्नुपर्ने धारणा राख्छन् । उनले आफूनिकट नेता कार्यकर्तालाई ओलीबाट पार नलाग्ने निष्कर्ष सुनाउने गरेका छन् ।

‘जति दिन एमालेमा रह्यो, त्यति शक्ति क्षीण हुँदै जान्छ,’ रावलको ब्रिफिङ सुनेका सुदूरपश्चिमका एक जिल्ला नेताले सूत्रन्यूजसँग भने, ‘अब नयाँ पार्टी गठन गरेर वृहत वामएकता गर्दै गए मात्र हामीले खोजेको समाजवादमा पुगिन्छ । ओली प्रधानमन्त्री भएकाले शक्तिशाली जस्तो देखिएको तर भित्रभित्रै खोक्रो हुँदै गएका छन् ।’

पढ्नुहोस् यो पनि – 

भीम रावलको नजरमा प्रधानमन्त्री ओलीले गरेका यी पाँच अनिष्ट काम भीम रावलको नजरमा प्रधानमन्त्री ओलीले गरेका यी पाँच अनिष्ट काम

केही दिनअघि नेता नेपालनिकट एक युवाले निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता गरेको समाचार बाहिरिएको थियो । चुनाव चिह्न कलम राखेर दर्ता गरिएको उक्त पार्टी नेता नेपालले नै दर्ता गर्न लगाएको चर्चा राजनीतिक वृत्तमा छ ।

चुनाव घोषणा भइसकेको अवस्थामा नयाँ दल दर्ता गर्न मिल्ने कानूनी प्रावधान छैन । कथंकदाचित एमालेबाट कानूनी रूपमै छुट्टिने अवस्था आए पुरानै कुनै अन्य पार्टीबाट चुनाव लड्नुपर्ने स्थिति आउनेमा नेता नेपाल सचेत देखिन्छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभाको विघटन सदर गरिदियो भने तोकिएको समयमा निर्वाचन गर्नैपर्ने संवैधानिक बाध्यतामा ओली रहनेछन् । जसरी पनि चुनाव हुने भयो भने नेता नेपालसँग दुईवटा विकल्प हुनेछ ।

पहिलो आफूनिकट युवा नेताले दर्ता गराएको पार्टी र चुनाव चिह्न लिने । दोस्रो नेकपा माओवादी केन्द्रले प्रयोग गर्दै आएको हसिया हथौडाबाट चुनाव लड्ने । दुवै विकल्प नेता नेपालका लागि प्रिय छैनन् ।

पढ्नुहोस् यो पनि – 

माधव र झलनाथ अब कुन पार्टीका नेता ? नेम्वाङ भन्छन् - अन्त कता हुनुहुन्छ थाहा भएन, एमालेमा हुनुहुन्न माधव र झलनाथ अब कुन पार्टीका नेता ? नेम्वाङ भन्छन् – अन्त कता हुनुहुन्छ थाहा भएन, एमालेमा हुनुहुन्न

प्रतिनिधि सभा पुनःस्थापना भएपनि या नभएपनि माओवादी केन्द्र, नेपाली कांग्रेस, माधव नेपाल समूह र जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह आगामी चुनावसम्मै गठबन्धन गरेर जाने विषयमा छलफल गरिरहेका छन् । कांग्रेस भने एक्लै चुनाव लड्नुपर्ने सभापति शेरबहादुर देउवाको अड्डी छ ।

ओलीविरुद्ध महागठबन्धन बन्ने र त्यसमा नेपालको स्थान कहाँ रहने भन्ने विषयले उनी र उनीनिकट नेताहरूको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट