निर्दयी घरबेटी: एक महिनाको भाडा नतिरेको भन्दै खालिखुट्टा लखेटिए यी युवक-Sutra News

निर्दयी घरबेटी: एक महिनाको भाडा नतिरेको भन्दै खालिखुट्टा लखेटिए यी युवक

बिहिबार, ६ जेष्ठ २०७८

बिहिबार, ६ जेष्ठ २०७८

काठमाडौँको बबरमहलस्थित एक घरमा भाडामा बस्ने एक युवकलाई घरबेटीले भाडा नदिएको भन्दै राति खालीखुट्टा सडकमा पुर्याइदिएका छन् ।



२ महिनाअघि भाडामा बस्न आएका पर्वतका रमेश तिवारी (नाम परिवर्तित)लाई घरबेटीले बुधवार राति ८ बजे दुर्व्यवहार गरी घरबाट बाहिर निकालिदिएका हुन् । एउटा सर्ट, हाफ पेन्ट लगाएका तिवारी यतिबेला घर न घाटको बनेका छन् ।

निकै थोरै तलबमा कन्सल्टेन्सीमा काम गरेर आफ्नो गुजारा धानिरहेका तिवारी उक्त घरमा २ महिना २० दिन अघि मात्र बस्न आएका थिए ।

‘शुरुको महिनाको भाडा ठूलोबुबाको सहायतामा तिरें, त्यसपछि दिएको थिइन,’ तिवारीले रुँदै सूत्रन्यूजसँग भने, ‘ठूलो बुबाले एक दुई दिनमा एकाउन्टमा हालिदिन्छु भन्नुभएको थियो । तर घरबेटीको छोराले रक्सी पिएर आए, अनि मलाई दुर्व्यवहार गरे । म डरले आत्तिएर भागें ।’

home.jpg

बुधवार राति करीब ८ बजे खाना खाएर सुत्ने तरखर गर्दै थिए उनी । एक्कासी घरबेटीको छोरा विवेक लामिछाने (नाम परिवर्तित) चिच्याएको सुनियो । आफ्नी आमासँग झगडा गर्दै थिए उनी ।

त्यसपछि रमेश बस्ने कोठामा झरेर विवेकले भाडा किन दिइनस् भनेर हप्काए । घरबेटीका २४ वर्षका छोरा विवेक एयरपोर्टतिर काम गर्छन् ।

मापसेको नशाले चुर भएका विवेक रमेशलाई पिट्न भनी ढोका हान्न थाले । रमेश अर्को ढोकाबाट खालीखुट्टा भागे ।

केही टाढासम्म विवेकले रमेशलाई मोटरसाइकलमा पछ्याए । नभेटेपछि विवेक आफ्नो घरमा फर्किए । तर रमेशको फर्किने ठाउँ कहिँ थिएन ।

‘धन्न यो फोन गोजीमा रैछ र यताउता फोन गर्न पाएँ,’ रमेशले भने ।

सँगै काम गर्ने चिनेको साथीले त्यो रात आफ्नो कोठामा लगेर राखे । बिहीवार उनी खालिखुट्टा बानेश्वरस्थित सूत्रन्यूजको कार्यालय आए ।

सूत्रन्यूजले घरबेटीलाई फोन गरेर के भएको हो भनेर सोधेको थियो । घरबेटी महिलाले भनिन् – ‘भाडा दिएको थिएन । आज दिन्छु, भोलि दिन्छु भनेर भनिरह्यो । हामीलाई जिस्क्याएको जस्तो लाग्यो ।’

उनले आफ्नो छोरा विवेक अलि ‘जंगी’ रहेको बताइन् । ‘मेरो छोरा अलि जंगी छ,’ उनले भनिन्, ‘हिजो अलिअलि पिएर आएको थियो । मसँग पनि झगडा गर्यो । भाडा नदिने त्यो भाइलाई पनि केके भनेछ रीसको झोंकमा ।’

त्यसपछि ती घरबेटीको छोरीले फोन समाएर सूत्र न्यूजलाई उल्टै पाठ पढाउन खोजिन् । उनले बिहीवार बिहान रमेशलाई फोन गरेर धम्कीसमेत दिएकी थिइन् ।

‘पुलिसलाई भने राम्रो हुँदैन भनेर घरबेटीकी छोरीले मलाई धम्कीसमेत दिइन्,’ रमेशले भने ।

बिहीवार अपराह्न मात्र रमेश सूत्र न्यूज टीमको सहयोगमा सिंहदरबारस्थित प्रहरी कार्यालय पुगेका छन् । उनले प्रहरीलाई आफ्नो जीवन रक्षा गरिदिन र कोठामा भएको आफ्नो ल्यापटप लगायतका सामानहरूको सुरक्षा गरिदिन आग्रह गरेका छन् ।

तिवारीसँग सूत्र न्युजले गरेको कुराकानीको यो भिडियो हेर्नुस्

(पीडित र पीडकको नाम गोप्य राखिएको छ – सम्पादक )

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट