काठमाडौं- ‘कीर्तिपुरमा घर भाडाकै निहुँमा घरबेटीले बहालमा बस्नेहरूलाई मारे। आफूले पनि भाडा नतिरेको सात महिना भइसक्यो। यो बेला डेरामा कुन मुख लिएर जानु!’ हतास मुद्रामा अधवैंशे उमेरका तीर्थ अधिकारीले सुनाए।
उनी भन्दै थिए, ‘७ हजारको दरले ७ महिनाको भाडा कति भयो कुन्नी! घरबेटीले अर्को ताल्चा ठोकिदिएका छन्। डेरामा जाने बाटै बन्द भएको छ।’
१३ असोज, मंगलबार।
सूर्य ढल्दै गर्दाको समय। साँझ ५ बजेको हुँदो हो। हामी गोंगबु बसपार्कभित्र टहल्दै थियौं। दसैंको छेकोमा उपत्यका छाड्नेहरू टिकट काउन्टर वरिपरिका प्रतिक्षालयमा बसिरहेका देखिन्थे। कोही यात्रु गाडी चढ्ने तरखरमा थिए, घरी आफ्नो हातको मोबाइलतिर हेरिरहेका देखिन्थे, घरी गाडीमा आँखा जुधाइरहेका भेटिन्थे।
काउन्टर वरिपरि कोही गुन्गुनाउँदै थिए, ‘छैनन्, पोहोर सालजस्तो यात्रु यो पटक पटक्कै छैनन्।’
उनीहरूको आपसी सम्वादबाट बुझ्न सकिन्थ्यो, यात्रुहरूको चहलपहल अघिल्लो वर्षको तुलनामा पातलिएको रहेछ।
त्यसकै विपरीत दिशामा अर्का दुई अधवैंशे पुरुष निरास मुद्रामा बोलिरहेका सुनिन्थे, ‘प्लेन र गाडी भाडा उति नै बनाएपछि कसरी आउँछन् यात्री?’
‘अब गाडी थन्क्याएर बस्ने कि!’
हामी उनीहरूतर्फ अघि बढ्यौं। र, जिज्ञासा लिँदै सोध्यौं, ‘काठमाडौं बाहिर जाने यात्रुहरू खासै छैनन् र दाइ?’
हामीतर्फ हेर्दै दुईमध्ये एकले बोले, ‘यात्रु नपाएर गाह्रो भएको छ। मान्छे पाउनै कठिन छ।’
चिनजानबिनै सुरु भएको थियो सम्वाद। दुई पुरुष थिए, झापाका तीर्थ अधिकारी र हेटौंडाका उमेश मिश्र। हाम्रो परिचय पाएपछि तीर्थले अलि फरक लवजमा बोले, ‘मिडियाले हामी ड्राइभरको दुःख नै लेख्दैन।’
लामो रुटका बसहरूमा यात्रुहरू नहुँदा बस चालकहरू निकै मारमा परेको उनीहरूको भनाइबाट प्रष्ट हुन्थ्यो। सरकारले लामो सवारी साधनमा सिट क्षमताको आधामात्र यात्रु राख्नुपर्ने आदेश दिएको छ। त्यसमाथि भाडादर ५० प्रतिशत बढेको छ। ‘हवाइ भाडा तीन हजार भयो भने एसी बसको गाडी भाडा २५ सय जति पर्न आउँछ अनि कहाँ गाडीमा चढ्न आउँछन् र मानिसहरू, प्लेनमा गइहाल्छन् नि’ अर्का चालक उमेशले गुनासो पोखे।
साहुले नयाँ कम्पनीबाट नयाँ रुटमा ३ वटा गाडी हालेका रहेछन्, काठमाडौंदेखि दाङसम्मको यात्राका लागि।
उमेशलाई भने उस्तो कठिन छैन। सुनाउँछन्, ‘छोरा विदेशमा छ। उसले उताबाट पैसा पठाउने भएकाले घर धान्न सहज भएको छ। तर, आफ्नो कमाइ भने खान पुग्ने खालको छैन।’
एक हप्ता भयो, उनीहरू यात्रुको पर्खाइमा बस रुँघेर बसेको। ‘यात्रु एक-दुई जनामात्र हुन्छन्, त्यति त लिएर जाने कुरै हुन्न,’ तीर्थ भन्छन्।
कुनै उपलब्धि नभएपछि उनीहरूलाई चिन्ताले घेरेको छ। भोक लाग्छ। छाक कसरी टार्ने? तीर्थ साथीभाइसँग सरसापट र उधारोमा हरेक दिनको छाक टार्न बाध्य छन्। ‘यो बीचमा ऋणै मात्र कति भयो, साध्य छैन,’ उनी दुःख पोख्छन्, ‘खल्ती टक्टकायो भने रित्तो छ।’
साँझ डेरामा जाने अवस्था उनको छैन। ढोकामा उनले लगाएको ताल्चामाथि घरबेटीले अर्को ताल्चा झुण्ड्याइदिएका छन्। उनी भन्छन्, ‘गाडीमै सुतेर रात काट्छु। अरु विकल्प छैन, के गर्नु!’
तीर्थको परिवार दमकमा छ। मासिक रुपमा घरमा पैसा पठाउनुपर्ने बाध्यता छ। त्यो पनि पठाउन उनलाई सकस छ अहिले। ‘पहिले त १० टिप गर्दा २० हजार हुन्थ्यो, धान्न सहज थियो,’ उनी सुनाउँछन्, ‘अहिले त महिनौं भयो कमाइ शून्य छ। कसरी पठाउनु?’
उमेशलाई भने उस्तो कठिन छैन। सुनाउँछन्, ‘छोरा विदेशमा छ। उसले उताबाट पैसा पठाउने भएकाले घर धान्न सहज भएको छ। तर, आफ्नो कमाइ भने खान पुग्ने खालको छैन।’
(साथमा विकास अर्याल)