वामपन्थीहरुबीच फेरि सहकार्यको चर्चा : सम्भावना कति ?-Sutra News

वामपन्थीहरुबीच फेरि सहकार्यको चर्चा : सम्भावना कति ?

बुधबार, ९ फाल्गुन २०८०

बुधबार, ९ फाल्गुन २०८०

काठमाडौं । सत्ता गठबन्धनभित्र सकस बढ्दै गइरहेका बेला पुनः एमाले र माओवादी केन्द्र नजिकिन थालेका छन् । हालै प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच नयाँ गठबन्धनकै विषयमा छलफल भएको छ । सत्तारूढ नेपाली कांग्रेस महासमिति बैठकमा केन्द्रीत रहेको बेला प्रचण्ड र ओलीबीच सहकार्यको सन्दर्भमा छलफल चलेको हो ।



अहिले कांग्रेस महासमिति बैठकमा सत्ता गठबन्धनको सन्दर्भमा विशेष छलफल चलिरहेको छ । इतर पक्षले विशेषगरी गठबन्धनको विषयमा पुनर्विचार गर्नुपर्ने बताउन थालेको छ । इतर पक्षले आगामी चुनावमा गठबन्धन नगर्ने विषयमा पनि शीर्ष नेतृत्वबीच सहमति नै गराएको छ । उक्त प्रस्ताव बैठकबाट पारित गराउने तयारी छ ।

कांग्रेसभित्र भइरहेको छलफलसँगै माओवादी केन्द्रभित्र आगामी समय कसरी जाने भन्ने अन्योलता बढेको छ । एमाले पनि अहिले सत्ताबाट बिमुख हुनुपर्दा सकसमा छ । यस्तोमा दुई दलबीच पुनः सहकार्य गर्ने सन्दर्भमा छलफल चल्न थालेको हो ।

हालै सम्पन्न माओवादी केन्द्रको विधान अधिवेशनमा ‘वामपन्थीबीच सहकार्य वा एकता गर्ने गरी अघि बढ्नुपर्ने’ कोणबाट छलफल भएको थियो । हालको गठबन्धनबाट निरन्तर धोका पाइरहेको समीक्षा पनि माओवादीभित्र भएको थियो । यद्यपि, तत्कालै गठबन्धन छाड्न नहुने निष्कर्षमा माओवादी पुगेको थियो । स्वयम् प्रचण्डले तत्काल गठबन्धन छाड्दा घाटा हुने निष्कर्ष सुनाएका थिए ।

यद्यपि, कांग्रेसभित्रको पछिल्लो छलफल माओवादी केन्द्रको जस्तो फितलो देखिएको छैन । स्वयम् पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठकमा कमजोर देखिएका छन् । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू हाबी भएका छन् । थापा र शर्मासहितका नेताहरूको अडानपछि निर्वाचनमा गठबन्धन नगर्ने सहमति जनाउन देउवा बाध्य बनेका थिए ।

अर्कोतर्फ, अहिले कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा अभियान नै चलेको छ । नेताहरूले हस्ताक्षर नै गराएर महासमिति बैठकमार्फत निर्णय गराउने तयारी गरेका छन् । यदि कांग्रेस विधिवत् रूपमा हिन्दु राष्ट्रको पक्षमा उभिएमा त्यसले गठबन्धनलाई नै सकस पार्ने स्पष्ट छ । जुन माओवादी केन्द्रका निम्ति अनुकुल होइन ।

अहिले विशेषतः एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ र माओवादी केन्द्रका महासचिव देव गुरूङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुनलगायत एमाले–माओवादी गठबन्धन गराउन सक्रिय छन् । नेताहरूले सार्वजनिकरूपमै पनि वामपन्थीहरू एक ठाउँमा उभिनुपर्ने बताइरहेका छन् ।

यस्तोमा आगामी निर्वाचनमा समेत गठबन्धन गर्नेगरी अहिलेदेखि नै गठबन्धन गरेर जाने तयारी चल्न थालेको हो ।

एकीकृत समाजवादी पनि वामपन्थी गठबन्धनको पक्षमा

एकीकृत समाजवादीको नेतृत्व पंक्ति निरन्तर एमाले विरोधी देखियो । नेताहरुले एमाले र एमाले नेतृत्वको खुलेर आलोचना मात्रै गरेको पाइन्छ । तर, पछिल्लो समय एकीकृत समाजवादी क्रमशः वामपन्थी सहकार्यको पक्षमा उभिन थालेको छ ।

हालै एक सार्वजनिक कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश विकास गर्न वामपन्थीहरु एक ठाउँमा उभिनुपर्ने राय राखेका थिए । इन्जिनियरिङ एसोसिएसन नेपाल, मधेशले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रचण्ड र ओलीलाई आफूले एक पटक बसेर छलफल गर्न आग्रह गरेको बताएका थिए ।

“मैले ओलीजीलाई पनि भनेको थिएँ, प्रचण्डजीलाई पनि पटक–पटक भनेको छु, हामी बसौं, यो देश कसरी बनाउने, कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरौं”, उनले ओली–प्रचण्डसँगको संवादबारे भनेका छन्, “देश विकासका लागि एक ठाउँमा बसौं, मार्गचित्र बनाएर अघि बढौं ।”

अध्यक्ष नेपाल पहिलो पटक एमाले–माओवादीलगायतबीच सहकार्यको पक्षमा उभिएका हुन् । यद्यपि, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरु भने निरन्तर वामपन्थी सहकार्यको पक्षमा उभिँदै आएका छन् । कांग्रेससँगको सहकार्यले देशलाई घाटा भइरहेको नेताहरुको विश्लेषण छ ।

वामपन्थी विश्लेषक भन्छन्– वामपन्थी सहकार्यको ढोका खुल्यो

वामपन्थी राजनीतिक विश्लेषक लोककृष्ण भट्टराई वामपन्थीहरुबीच सहकार्यको ढोका खुल्दै गरेको बताउँछन् । दलहरु एजेन्डागतरुपमै धुव्रिकृत भइरहेको भन्दै उनले वामपन्थीहरुलाई जबरजस्त नजिक हुने अवस्था बनेको बताए ।

“जसरी दलहरुभित्र एजेन्डागतरुपमा छलफल चलिरहेको छ, यसले वामपन्थीहरुबीच सहकार्यको वातावरण बनाइरहेको छ”, भट्टराईले भनेका छन्, “कांग्रेस हिन्दु राष्ट्रको एजेन्डामा आएको छ, वामपन्थीसँग सहकार्य गर्नु हुन्न भन्ने पक्षमा उभिएको छ, जसले वामपन्थीहरुबीच सहकार्यको ढोका खोलिदिएको छ ।”

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र पनि चलेको छलफलले सहकार्यको वातावरण बनाउँदै लगेको उनले बताए । “माओवादीको विधान अधिवेशनले स्पष्टरुपमै वामपन्थीहरुबीच सहकार्य गरेर जानुपर्छ भन्ने म्यान्डेड दियो, एमालेभित्र पनि सोही कोणबाट छलफल चलिरहेको छ, माधव स्वयम् पछिल्लो समय वापमन्थी सहकार्यको पक्षमा बोल्न थाल्नुभएको छ”, उनले भनेका छन्, “अब छिट्टै पुनः दलहरु एक ठाउँमा आउने अवस्था बनेको छ ।”

राष्ट्रियसभाको अध्यक्षको निर्वाचले पनि दलहरुलाई एक ठाउँमा ल्याउन सहयोग पुग्ने उनको विश्लेषण छ । “अहिले जसरी राष्ट्रियसभाको अध्यक्षको पदलाई लिएर कांग्रेस र माओवादीबीच दुरी बढेको छ, यसले नै नयाँ गठबन्धन बनाउन सहयोग गर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट