राप्रपाभित्रको विवाद उत्कर्षमा, पूर्वराजाले भैरहवामै बोलाए शीर्ष नेताहरुलाई-Sutra News

राप्रपाभित्रको विवाद उत्कर्षमा, पूर्वराजाले भैरहवामै बोलाए शीर्ष नेताहरुलाई

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडौं । राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । केन्द्रीय समिति बैठकले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने वा नगर्ने भन्ने विषयमा बढेको विवाद उत्कर्षमा पुगेको हो ।



विशेषगरी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणा गुटगतरुपमै विभाजित भएका छन् । राणा पक्षधरले केन्द्रीय समितिको निर्णयअनुसार अगाडि बढ्नुपर्ने अडान लिएको छ भने लिङ्देन पर्ख र हेरको स्थितिमा रहेको नेताहरुले बताएका छन् ।

राप्रपाको केन्द्रीय समिति बैठकले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा आन्दोलन चलाउने निर्णय गरेको थियो । जुन निर्णयलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि अनुमोदन गरेको थियो । तर, पार्टीले अनुमोदन गरेको निर्णय कार्यान्वयनमा लिङ्देन इच्छुक नदेखिएपछि विवाद उत्पन्न भएको हो ।

स्रोतका अनुसार हालै बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देन र महामन्त्री राणाबीच निकै भनाभन भएको थियो । आन्दोलन समितिको संयोजक राणाले गरेको प्रस्तावलाई लिङ्देनले ठाडै अस्वीकार गरेपछि दुई नेताबीच भनाभन भएको राप्रपा स्रोत बताउँछ । जुन घटनापछि नेताहरुले पार्टी विभाजन नै गरेर अगाडि बढ्नुपर्ने तहमा देखिएका छन् ।

राणा पक्षधरले नेतृत्वकै विकल्प खोज्नुपर्ने अभियान चलाएको छ । जसमा पार्टी अन्य पदाधिकारी पनि सहमत देखिएको स्रोत बताउँछ ।

पूर्वराजाले डाके नेताहरुलाई

पूर्वराजा ज्ञानेन्द्र शाह अहिले भैरहवामा छन् । पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न भन्दै भैरहवा झरेका शाह अहिले राजनीतिक भेटवार्तामा जुटिरहेका छन् । उनी सक्रिय भइरहँदा राजसंस्था पक्षधर राप्रपा भने विभाजित बनेको छ ।

राप्रपा विभाजित बनेपछि दिग्दारीमा पुगेका शाहले पार्टी अध्यक्ष लिङ्देनसहितका पदाधिकारी टिमलाई नै भैरहवा बोलाएका हुन् । पार्टीभित्रको विवाद समाधानका लागि नेताहरुसँग लन्च मिटिङ्ग गर्ने पूर्वराजाको तयारी रहेको राप्रपा स्रोतले बताएको छ ।

पूर्वराजाले अध्यक्ष लिङ्देनसहित नेताहरु रविन्द्र मिश्र, धवल शमशेर राणा, दिपकबहादुर सिंह, बुद्धिमान तामाङ, दिपक बोहोरालगायतका बोलाएको बुझिएको छ ।

पूर्वराजाले राप्रपाका नेताहरुपछि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि भेट्ने तयारी गरेका छन् । तराई–मधेश केन्द्रीत कार्यक्रममा झरेका थापालाई राप्रपा नेताहरुसँगको छलफल पछि भेटवार्ता गर्ने पूर्वराजाको तयारी रहेको बताइएको छ ।

यसअघि पनि पूर्वराजा शाहले नेताहरुसँग झापामा छलफल गरेका थिए । तत्कालिन भेटवार्तामा राप्रपा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

सम्बन्धित समाचार

राजेन्द्र लिङ्देनसँग रिसाए पूर्वराजा ज्ञानेन्द्र !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट