एसपीपी : गठबन्धन दलका शिर्ष नेतालाई ढुक्क बनाउँदै देउवा-Sutra News

एसपीपी : गठबन्धन दलका शिर्ष नेतालाई ढुक्क बनाउँदै देउवा

सोमबार, ६ असार २०७९

सोमबार, ६ असार २०७९

काठमाडौं – अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विवाद समाधान हुने देखिएको छ । एसपीपीको विपक्षमा उभिन सत्ता गठबन्धनमा आबद्ध पाँच दल सहमत देखिएपछि यो समस्या समाधान हुने देखिएको हो ।



आइतबार सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकमा एसपीपीबा बिषयमा छलफल भएको थियो । सोही बैठकमा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको हित विपरीतका कुनै सम्झौता नगर्ने र यसमा ढुक्क हुन गठबन्धन दलका शिर्ष नेतालाई बनेका थिए ।

एकीकृत समाजवादीका नेता झलनाथ खनालले बैठकमा सबैले एसपीपीको विपक्षमा उभिने कुराहरु राखेको जानकारी दिए । सत्ता गठबन्धनका दलहरुमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका बेला कुनै सम्झौता हुने होकी भन्ने डर पालिरहेको बेला आइतबारको बैठकमा सो सहमती भएको बताइएको छ ।

अमेरिका भ्रमणको बिषयमा प्रधानमन्त्री देउवाले संसदमा आएर जानकारी गराउनु पर्ने कुरा उठेको थियो । तर आइतबार प्रधानमन्त्री देउवाले अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसदलाई आफूले जानकारी गराउने बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको केही दिनअघिको बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारेका थिए ।

बैठकमा बोल्ने अधिकांश समिति सदस्यले एसपिपी सन् २०१९ पछि अमेरिकाकै ‘इण्डो प्यासिफिक रणनीति’ मा आबद्ध भएको प्रतिवेदनमा उल्लेख भएपछि नेपाल त्यसबाट फिर्ता हुन नेपाल सरकारले पत्र लेख्नुपर्ने सुझाव दिएका थिए ।

एसपीपीमा सहभागी हुन नेपाली सेनाले अमेरिकालाई लेखेको पत्र सार्वजनिक भएपछि यो विवाद शुरु भएको हो । पत्र सार्वजनिक भएपछि नेपाली सेनाले २०७२ सालमा नै एसपीपीमा सहभागी हुन अमेरिकालाई पत्र लेखेर अनुरोध गरेको खुलेको हो । पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको छ ।

पत्रमा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजदूतलाई सम्बोधन गरी लेखेका छन् । त्यस समय केपी शर्मा ओली नेतृत्वको सरकार रहेको थियो । ओली २०७२ असोज २५ गते पहिलो पटक देशको प्रधानमन्त्री बनेपछि १५ दिनमा नै सेनाले अमेरिकी राजदूतलाई एसपीपीमा सहभागी हुन पत्र लेखेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट