पूर्वमुख्यसचिव भोजराज घिमिरेले ल्याए ‘इन्द्रमाया’-Sutra News

पूर्वमुख्यसचिव भोजराज घिमिरेले ल्याए ‘इन्द्रमाया’

सोमबार, ३२ साउन २०७८

सोमबार, ३२ साउन २०७८

काठमाडौं- साहित्यकार एवं पूर्वमुख्यसचिव भोजराज घिमिरेको उपन्यास ‘इन्द्रमाया’ सार्वजनिक भएको छ ।



नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास ‘तीन घुम्ती’की प्रमुख पात्र इन्द्रमायालाई केन्द्रमा राखेर लेखिएको ‘इन्द्रमाया’ उपन्यासमाथि समालोचकद्वय साधना प्रतीक्षा र महेश पौड्यालले टिप्पणी गरेका थिए ।

समीक्षक साधनाले बिपी कोइरालाको उपन्यासकी एक विद्रोही र सचेत पात्र इन्द्रमायालाई भोजराज घिमिरेले पुनः सशक्त जीवन दिएको बताइन् । उपन्यासको भाषा, शिल्प र कला पक्षमा टिप्पणी गर्दै साधनाले इन्द्रमाया नेपाली समाजको समग्र चित्र भएको उल्लेख गरिन् ।

अर्का समीक्षक महेश पौड्यालले इन्द्रमायामा बिपीकी प्रिय पात्र इन्द्रमायालाई भोजराज घिमिरेले अत्यन्त न्याय गरेको बताए ।

पौड्यालले पूर्वकथा र पूर्वपात्रहरूलाई नयाँ परिवेशमा नयाँ शिल्प र सौन्दर्यका साथ प्रस्तुत गर्ने काम सजिलो नभए पनि घिमिरेले उठाएको जोखिम प्रशंसनीय भएको उल्लेख गरे । 

समीक्षक तथा पुस्तकका सम्पादक घनेन्द्र ओझाले लामो समय सरकारी सेवामा बिताएर उच्च प्रशासक र कुशल कूटनीतिज्ञका रूपमा सफल घिमिरे अवकाशपछि पूर्णकालीन लेखक भएका र हरेक वर्षजसो उनका नयाँ कृति आइरहेको उल्लेख गरे ।

घिमिरेका यसअघि नै गीत, गजलका पुस्तक र एल्बम प्रकाशन भइसकेका छन् ।

भर्चुअल कार्यक्रममा ओझाले इन्द्रमायामा घिमिरेले ५० वर्षअघिको नेपाली सामाजिक, राजनीतिक परिवेशका साथै लैंगिक विभेद, कर्मचारीतन्त्रको अवस्था, महिला र पुरुष दुवैको सूक्ष्म यौन मनोविज्ञान प्रस्तुत गरेको बताए ।

त्यसवेलाको समाजमा रहेको उच्च मानवीयताको उदाहरण पनि इन्द्रमायाका पात्रहरूमार्फत देखाएको ओझाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट