‘बाह्रखरी कथा प्रतियोगिता-२०७८’ तेस्रो संस्करणकाे घोषणा, यस्ता छन् शर्त तथा नियम-Sutra News

‘बाह्रखरी कथा प्रतियोगिता-२०७८’ तेस्रो संस्करणकाे घोषणा, यस्ता छन् शर्त तथा नियम

आइतबार, ३१ साउन २०७८

आइतबार, ३१ साउन २०७८

काठमाडौं- नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न १२ खरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ (तेस्रो संस्करण) घोषणा गरेको छ । प्रतियोगितामा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ ।



प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई रु. एक लाख, द्वितीयलाई रु. ६० हजार तथा तृतीय हुनेलाई रु. ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

बाह्रखरी कथा प्रतियोगिता २०७८ को प्रमुख निर्णायकको जिम्मेवारी समाल्न प्रख्यात आख्यानकार तथा साहित्यकारको नारायण ढकालले स्वीकार गरेका छन् । त्यस्तै निर्णायक समूहका अन्य दुई सदस्यमा स्थापित कथाकार विवश पोखरेल तथा विख्यात समालोचक कुमारी लामा रहेका छन् ।

निर्णायक समूहले आफूलाई प्राप्त कथामध्येबाट उत्कृष्ट २५ र तिनै कथामध्येबाट प्रथम, द्वितीय तथा तृतीय कथाको छनोट गर्नेछ । निर्णायक समूहलाई छनोटका क्रममा आवश्यक सबै निर्णय लिने पूर्ण स्वतन्त्रता रहनेछ ।

कथा प्रतियोगिताको सर्त उल्लङ्घन नहुने गरी पठाइएका सम्पूर्ण कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गर्नेछ । ती ५० वटा कथा निर्णायक समूहलाई उपलब्ध गराइनेछ ।

आन्तरिक निर्णायक मण्डलले चुनेका ५० कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७८’ का लागि २५ वटा कथा छान्नेछन् र तिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ । यस प्रतियोगितामा गतवर्ष सात सयभन्दा बढी कथाकारले भाग लिएका थिए भने यो वर्ष अझै ठूलो सहभागिता रहने हाम्रो विश्वास छ ।

बाह्रखरी कथाका उत्कृष्ट २५ कथाको सँगालो २०७६ सालमा पुस्तकाकार रूपमा आएको थियो भने २०७७ सालमा कोरोना महामारीका कारण ‘डिजिटल भर्सन’मा ल्याइएको थियो जुन बाह्रखरी डट कमबाट पनि प्रकाशित गरिएको थियो ।

यो वर्ष अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन र विक्री वितरण गरिनेछ । पहिलो संस्करण अर्थात् २०७६ वैशाखमा बजारमा आएको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद पनि प्रकाशित भइसकेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौँ । दोस्रो कथा संग्रहको ‘अडियो भर्सन’ पनि प्रकाशित गरिएको थियो भने तेस्रो कथा संग्रह पनि ‘अडियो भर्सन’मा समेत उपलब्ध हुनेछ ।

उत्कृष्ट २५ मध्येमा पर्ने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मान स्वरुप प्रदान गरिनेछ । आन्तरिक निर्णायक मण्डलले छनोट गरेका ५० कथामध्ये २५ भित्र नपरेका बाँकी कथालाई बाह्रखरी डट कममा प्रकाशित गरिनेछ र कथाका।लाई उचित पारिश्रमिकको व्यवस्था गरिनेछ ।

कथा प्रतियोगिताको नतिजा २०७८ मंसीर ३ गते शुक्रबार एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिनेछ । सोही दिन ‘उत्कृष्ट कथा–२०७८’ को लोकार्पणसमेत हुनेछ । आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्नेछन् ।

विगतका वर्षहरूमा १२खरी कथा प्रतियोगितामा उत्कृष्ट कथाकारहरू पुरस्कृत भइसक्नु भएको छ । प्रतियोगिताको पहिलो संस्करणमा बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ कथा तृतीय भएको थियो । त्यस्तै दोस्रो संस्करणमा मुना चौधरीको ‘लार’ प्रथम भएको थियो भने श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।

शर्त तथा नियम

–कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।

–अघिल्लो वर्षमा प्रतियोगिताका लागि प्राप्त कथा दोहो¥याएर पठाउन पाइनेछैन ।

–कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ र प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कतै प्रकाशन तथा प्रसारण गर्न पाइनेछैन ।

–छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।

–‘बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।

– कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।

– भदौ ३१ पछि प्राप्त कथालाई प्रतियोगितामा समावेश गरिनेछैन ।

–प्रतियोगीले कथासँगै आफ्नो परिचय, सम्पर्क नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।

–प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले इमेल तथा फोनमार्फत् सम्पर्क गर्नेछ ।

–कथा पठाउनका लागिः

ईमेल

[email protected]

 [email protected]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट