कांग्रेसका नेता चन्द्र भण्डारी भन्छन्- तोकिएको मितिमा महाधिवेशन हुन नसके नेतृत्व दोषी-Sutra News

कांग्रेसका नेता चन्द्र भण्डारी भन्छन्- तोकिएको मितिमा महाधिवेशन हुन नसके नेतृत्व दोषी

सोमबार, २५ साउन २०७८

सोमबार, २५ साउन २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद् डा.चन्द्र भण्डारीले आजरभोलिभित्रै मन्त्रिपरिषद् विस्तार हुने स्पष्ट पारेका छन् । अहिले मन्त्री बन्ने आकांक्षीहरु धेरै भएको बताउदै भण्डारीले काम गर्नको लागि धेरै मन्त्री नभएपनि हुने तर्क गरे ।



सोमबार रिपोर्टर्स क्लबमा बोल्दै उनले जनताले दुई तिहाई जनमत दिएर सरकारमा पठाउँदापनि कम्युनिष्ट पार्टी सरकारबाट बाहिरिनुपरेको र कांग्रेस सरकारमा गएको सुनाए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि यति चाँडै प्रधानमन्त्री हुन्छु भनेर नलागेको पनि टिप्पणी गरे। उनले भने,‘उहाँलाई पनि यति चाँडो प्रधानमन्त्री हुन्छु भन्ने थिएन, अहिले सानो थालोको भागमा सरकार परेको छ ।’

उनले ओली सरकार हटाएर देउवाको नेतृत्वमा सरकार बनाउनको लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) , नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाल र जनमोर्चाको गठबन्धन बनेको पनि स्मरण गराए । उनले मन्त्री सानो संख्यामा बनाएर भएपनि देश चलाउन सकिने र जनताको पक्षमा काम गर्न सकिने विश्वास दिलाए ।

उनले भने,‘मुख्य कुरा सरकारले के गर्ने र कस्तो काम गर्ने भन्ने कुरा हो, अहिले प्रधानमन्त्रीज्यूले सरकारको प्राथमिकता भनेर कोभिडविरुद्ध लड्ने भनेर भनिसक्नुभएको छ । उहाँले संसद्मा सम्बोधन गर्दापनि पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप भन्नुभएको छ । यो हिसाबले पनि उहाँको प्राथमिकतालाई लिएर म स्वागत गर्न चाहन्छु ।’

उनले अहिले धेरै कुरा गर्नुभन्दापनि जनताको पक्षमा काम गर्नुपर्ने बेला भएको बताए। उनले भने,‘देशमा व्याप्त भएको भ्रष्टाचारको कारण जिउँदै मान्छे मरेको छ । वास्तवमा यो सरकारले भ्रष्टाचारमा लिप्त भएकाहरुलाई कारबाही गर्नुपर्छ । बरु, यसको लागि छुट्टै उच्चस्तरीय आयोग बनाउने हो कि, अथवा अख्तियारलाई पनि अझै प्रभावकारी बनाउने हो कि ।’

विकासको दृष्टिकोणले नेपाल धेरै पछि परेको उनको भनाई छ । विकास निर्माणको पाटोमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । नेपालमा अहिलेसम्म कुनैपनि परियोजना समयसिमाभित्रै सम्पन्न हुन नसक्नु विकासको अर्को बाधक भएको भण्डारीको भनाई थियो । उनले भने, ‘नेपालमा त कागजी विकास भयो । विकास निर्माणपनि भ्रष्टाचार गर्ने र खाने बाटो भयो । यसको अन्त्य गर्नुपर्छ । यदि हामीले यो परिपाटी अन्त्य गर्न सकेनौं भने नेपाल ध्वस्त हुन्छ ।’

उनले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुन सक्ने सम्भावना नरहेको टिप्पणी गरे । उनले भने, ‘भदौमा महाधिवेशन होलाजस्तो मलाई लाग्दैन । अहिले कोरोनाको महामारी छ । गाउँगाउँमा बिरामी छन् । यस्तो अवस्थामा कसरी अधिवेशन होला ? सबै जनतालाई भ्याक्सिन लगाउने वातावरण बनाउनुपर्छ । मेरो विचारमा महाधिवेशन केही पर सर्छ होला। तर, महाधिवेशन सर्ने प्रस्ताव पार्टी सभापतिले ल्याउनुहोला । म आधिकारिक व्यक्ति होइन, यस्तो भन्नको लागि ।’

डा.भण्डारीले तोकिएकै समयमा महाधिवेशन हुन नसके यसको दोष नेतृत्वले लिनुपर्ने पनि बताए । उनले भने, ‘४ जना पदाधिकारी बैठक बसेका छन्, न अधिवेशन गर्नसक्छन्, मेरो विचारमा नेपालमा होल पार्टीको कुरा गर्दा नेतृत्व नै असफल भएको छ ।’ उनले अहिलेको असामान्य परिस्थितिलाई हेरेर सर्वोच्च अदालतले केही व्याख्या गर्छ कि भन्ने पनि विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट