ओम्नीको फाइल पल्टाउने तयारीमा सरकार, अनियमिततामा मुछिएको पोखरेलको टोलीमा भुइँचालो !-Sutra News

ओम्नीको फाइल पल्टाउने तयारीमा सरकार, अनियमिततामा मुछिएको पोखरेलको टोलीमा भुइँचालो !

आइतबार, २४ साउन २०७८

आइतबार, २४ साउन २०७८

सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतवार सार्वजनिक गरिएको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने उल्लेख गरिएको हो ।



नेपालमा कोभिड १९ शुरू भएपछि तत्कालीन केपी शर्मा ओलीको सरकारले खरिद गरेको स्वास्थ्य सामग्रीमा चरम भ्रष्टाचार भएको आरोप लागेको छ । सरकारले त्यसैलाई लक्षित गर्दै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा देखिएको अनियमितताको छानबिन गर्ने भएको हो ।

कोभिड १९ नियन्त्रण र रोकथाम समितिको प्रमुख बनेका तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोख्रेल, तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र स्वास्थ्य विभाग उक्त अनियमिततामा तानिएका छन् ।

सरकारले फाइल पुनः पल्टाउने निर्णय गरेसँगै खरिद प्रक्रियामा सामेल भएका पोखरेललगायत अन्य सरोकारवालाको टीममा ठूलै भूकम्प गएको छ ।

ओम्नी कम्पनीमार्फत गरिएको खरिद प्रक्रिया सबैभन्दा बढी विवादित रहेको थियो । लागत अनुमान नै नगरी खरिद प्रक्रिया शुरुवात गरेको, सरकारी संयन्त्रलाई थाहै नदिई मन्त्रीका सल्लाहकारको तजबिजी रहेको, टेन्डर स्थगित गरेर वार्तामार्फत खरिद गरिएको, खरिदसम्बन्धी स्वीकृति लिन मन्त्रालयले बनाएको प्रस्ताव मन्त्रिपरिषदमा पेश नगरिएको, सम्झौता रद्द भइसक्दा पनि क्षतिपूर्ति लिन पहल नगरेको र खरिद गरिएका सामग्रीहरू कमसल रहेको भन्दै लेखा समितीले भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यतिबेला भएको अनियमितता छानबिन गर्ने र दोषीलाई कारवाही गर्ने भन्दै न्यूनतम साझा कार्यक्रममा खरिद प्रक्रियामा भएको भ्रष्टाचारको छानबिन गरिने उल्लेख गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट