एमसीसीबाट पछि हट्यो सरकार !-Sutra News

एमसीसीबाट पछि हट्यो सरकार !

शुक्रबार, २२ साउन २०७८

शुक्रबार, २२ साउन २०७८

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार अमेरिकी सहायता परियोजना (एमसीसी)बाट पछि हटेको छ ।



संसदबाट एमसीसी पास गर्नुपर्ने दबाब हुँदाहुँदै पनि प्रधानमन्त्री देउवाले न्यूनतम साझा कार्यक्रममा समावेश नगर्न आग्रह गरेपछि एमसीसी पास गर्ने कुरा परेन ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ शीर्षकमा एमसीसी उल्लेख गरिएको छैन ।

यसअघि देउवाले एमसीसी पास हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्तिसमेत दिएका थिए । 

कार्यदलमा एमएमसीसी उल्लेख गर्ने कि नगर्ने भन्नेबारे ठूलो बहस भएको थियो । तर यो विवादित विषय भएकाले यसलाई उल्लेख नगरी अघि बढ्नेबारे सहमति जुटेको थियो । 

एमसीसीका बारेमा गठबन्धन दलका शीर्ष नेताहरूबीच पछि सहमति जुटाउने भन्दै कार्यदलले त्यसलाई न्यूनतम साझा कार्यक्रममा उल्लेख नगरेको हो । 

‘देशको राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितलाई विश्व समुदायका बिचमा स्थापित गर्नु, भूपरिवेस्ठित देशको अधिकार, ठूला र साना देशहरूबिच पूर्ण समानाधिकार तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने,’ कार्यक्रममा भनिएको छ ।

त्यस्तै छिमेकी मुलुकहरूसँगको सामाजिक आर्थिक सम्बन्धलाई विशेष महत्त्व दिनुका साथै विश्वका सबै मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्धलाई जोड दिने, शान्ति, स्थिरता, आर्थिक रूपान्तरण र जनताको समृद्धिको दिशामा अगाडि बढ्न सबै मित्रराष्ट्रहरूसँग द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तार गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा परराष्ट्र नीति तय गर्न राष्ट्रिय सहमतिको खोजी गरिने पनि उल्लेख छ ।

कार्यदलमा डा. मिनेन्द्र रिजाल, रमेश लेखक, देव गुरुङ, वर्षमान पुन, राजेन्द्र श्रेष्ठ र महेन्द्र यादव सदस्य थिए ।  

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट