६ महिनामा विभाजनको ‘ह्याट्रिक’ : किन टिक्दैन नेपालमा दलीय एकता-Sutra News

६ महिनामा विभाजनको ‘ह्याट्रिक’ : किन टिक्दैन नेपालमा दलीय एकता

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

गत पुस ५ देखि जेठ १२ गतेसम्म नेपालमा तीन ठूला दल विभाजित बनेका छन् । नेकपापछि एमाले र अहिले जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा छ ।



जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच चलिरहेको शक्तिसंघर्ष बुधवारसम्म उत्कर्षमा पुगेको छ । ठाकुर पक्षले यादव पक्षलाई स्पष्टिकरण सोधेको छ भने यादव पक्षले पनि ठाकुर पक्षसँग तीन दिनभित्र स्पष्टिकरण माग गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई सात बुँदे स्पष्टिकरण सोधेलगत्तै यादव पक्षले पनि ठाकुरसहित उनी पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोधेको हो ।

दुवै पक्षले सोधेको स्पष्टिकरणमा प्रधानमन्त्री ओली केन्द्रबिन्दूमा छन् । ठाकुर पक्षले पार्टीको निर्णयविपरित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन हस्ताक्षर गरेको भनी सोधेको छ । यादव पक्ष पनि के कम ? ओलीको कदमलाई किन साथ दिएको भन्दै ठाकुरलाई स्पष्टिकरण सोधिएको छ ।

जसपाका ठाकुर पक्षका एक नेता भन्छन् – ‘अब सँगै रहन सक्ने वातावरण समाप्त भयो । उहाँहरू (यादव पक्ष) आफ्नो बाटो लाग्ने मौका खोजिरहनु भएको छ । पार्टी फुट्दैन, उहाँहरू चोइटिएर जानुहुन्छ ।’

यो पनि- 

पटके हमलामा जननिर्वाचित संस्था  - संसदप्रति ओलीको अभिरुची कहिलेदेखि घट्न थाल्यो ? पटके हमलामा जननिर्वाचित संस्था  – संसदप्रति ओलीको अभिरुची कहिलेदेखि घट्न थाल्यो ?

गत सालको वैशाखमा प्रधानमन्त्री ओलीले दलविभाजन खुकुलो गर्ने गरी अध्यादेश ल्याएपछि तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच रातारात एकता भएको थियो । ओलीकै कारण एकता गरेका नेताहरू अहिले ओलीको कदमलाई लिएर विभाजित बनेका छन् ।

कानूनी विभाजन नभएपनि जसपा राजनीतिक रूपले विभाजित बनेको छ । दुवै पक्षले आ-आफ्नो पक्षका बैठक राख्ने गरेका छन् । जसपाकै नामबाट छुट्टाछुट्टै गतिविधि चलिरहेको छ ।

ठाकुर पक्ष केही महत्त्वपूर्ण मन्त्रालय लिएर ओली सरकारमा सहभागी हुने तयारी गरिरहेको छ भने यादव पक्ष प्रतिपक्षी गठबन्धनसँग मिलेर प्रतिनिधि सभाको दोस्रो विघटनविरुद्ध आन्दोलन गर्ने मूडमा छ । सरकारमा जाने तयारीमा रहेको ठाकुर पक्षले यादव पक्षका केही सांसदहरूलाई मन्त्री दिने लोभमा आफूतिर लाग्न आग्रह गरिरहेको छ ।

नेकपा विभाजनको पृष्ठभूमि –

२०७५ सालको जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली दुवै अध्यक्ष रहने गरी गरिएको एकताले तेस्रो वर्षगाँठ मनाउन पाएन । पुस ५ गते प्रतिनिधि सभाको पहिलो विघटन भएपछि राजनीतिक रूपमा विभाजित भएको नेकपालाई फागुन २३ गतेको सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी केन्द्रमा पुनः विभाजन गरिदियो ।

नेकपा विभाजित हुनुमा प्रचण्ड-नेपाल पक्षले ओलीको स्वेच्छाचारितालाई दोष दिएका थिए भने ओलीले प्रचण्ड र माधवकुमार नेपालको पदलोलुपतालाई दोष दिएका थिए ।

अदालतको आदेशअनुसार तत्कालीन नेकपा एकताअघिको स्थितिमा पुग्यो । माधवकुमार नेपाललगायतका तत्कालीन पूर्वएमालेका नेताहरू एमालेमै फर्किए । ओलीसँग तीव्र मतभेद रहँदा रहँदै पनि पार्टीभित्रै संघर्ष गर्ने रणनीतिका साथ एमालेमै फर्किएका नेताहरूमाथि ओलीले भटाभट कारवाहीको डण्डा चलाउन थालेका छन् ।

एमाले र माओवादी मिलेर नेकपा बनेलगत्तै पार्टीभित्र संघर्ष शुरू भएको थियो । महत्त्वपूर्ण विभागहरूमा ओली र प्रचण्ड दुवैले दाबी गरिरहे । शुरू-शुरूमा ओली र प्रचण्डबीच ‘चोचोमोचो’ मिलिरहेको भएपनि त्यो लामो समय टिक्न सकेन । एमालेमा पहिल्यैदेखि रहेको ओली र नेपालबीचको शक्तिसंघर्षमा प्रचण्डले नेपाल पक्षमा पक्षधरता देखाउन थाले ।  

त्यसपछि प्रचण्ड, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच गठबन्धन बन्यो । गठबन्धनको उद्देश्य ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउनु थियो ।

२ वर्षभन्दा बढी नेकपामा निकै पेचिलो शक्तिसंघर्ष चलिरह्यो । अन्त्यमा ओलीले गत पुसमा प्रतिनिधि सभा भंग गरिदिए । त्यसपछि प्रचण्ड-नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनमा लागे । प्रचण्ड-नेपालको गठबन्धन बनिरहेकै बेला अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गर्यो ।

एमालेका सबै नेताहरू एमालेमै लागे भने माओवादीले रामबहादुर थापा ‘बादल’ लेखराज भट्ट लगायतका नेताहरू गुमायो ।

एमाले विभाजनको पृष्ठभूमि –   

सोमवार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको एमाले स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेकामध्ये ११ निवर्तमान सांसदलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्यो । त्यसलगत्तै थप १२ निवर्तमान सांसदहरूलाई स्पष्टिकरण सोधेको छ ।

अदालतले नेकपा एमाले ब्युँताउने फैसला गरिदिएपछि ओलीले सबैलाई मिलाएर अघि बढ्ने अनुमान गरिएको थियो । तर उनले नेपाललगायत नेताहरूमाथि प्रतिशोधको डण्डा बर्साए । यससँगै कानूनी रूपमा एमाले एक भएपनि राजनीतिक हिसाबले एमाले विभाजित बनेको छ ।

नेता नेपालले एमालेमै समानान्तर कमिटीहरू बनाएका थिए । केन्द्रमा मात्र नभएर जिल्ला र पालिका तहसम्म पनि समानान्तर कमिटी बनाइएको थियो । ओलीले एमालेबाट जसरी पनि खेद्ने देखेपछि नेता नेपालले यस्तो कदम चालेका हुन् ।

प्रतिनिधि सभाको दोस्रो विघटनपछि नेपाल र उनीनिकट नेताहरूले त्यसको विरोध गरेका छन् भने कांग्रेस र माओवादी केन्द्रबीच बनेको गठबन्धनमा सामेल भएका छन् । नेता नेपालनिकट युवाहरूले कलम चुनाव चिह्नसहित नेकपा एकीकृत पनि दर्ता गरिसकेका छन् ।

यो पनि-

बर्खास्त भएका मन्त्रीहरूले अहिलेसम्म छाडेनन् मन्त्री क्वार्टर, कतिपय 'रिन्यू' हुने आशामा बर्खास्त भएका मन्त्रीहरूले अहिलेसम्म छाडेनन् मन्त्री क्वार्टर, कतिपय ‘रिन्यू’ हुने आशामा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट