बादलको हारले जन्माएका यी ४ यक्ष प्रश्न : के उनको राजनीतिक भविष्य अन्योलमा परेको हो ?-Sutra News

बादलको हारले जन्माएका यी ४ यक्ष प्रश्न : के उनको राजनीतिक भविष्य अन्योलमा परेको हो ?

बिहिबार, ६ जेष्ठ २०७८

बिहिबार, ६ जेष्ठ २०७८

पूर्व माओवादी पृष्ठभूमिका रामबहादुर थापा ‘बादल’ अहिले एमालेका प्रभावशाली नेता हुन् । तर बिहीवार भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेकै जनप्रतिनिधिहरूले उनलाई हराएर अर्का उम्मेदवार खिमलाल देवकोटालाई जिताए ।



बादल हार्नुको प्रमुख कारण एमालेभित्र देखिएको विवाद हो । माधव कुमार नेपाल लगायतका असन्तुष्ट नेताहरू ओलीको एकलौटी शैलीबाट आजित थिए । नेपाल समूहमा रहेका वागमती प्रदेश सांसद र स्थानीय निकायका जनप्रतिनिधिहरूले देवकोटालाई भोट हाले ।

निर्वाचन आयोगको अचारसंहिताले नदिँदा नदिँदै पनि ओलीले हिजो बुधवार बादललाई जिताउन अपीलसमेत जारी गरेका थिए । तर ओलीको अपील काम लागेन । माओवादी केन्द्रले बादललाई कारवाही गरेपछि एक सिट रिक्त थियो ।

त्यही रिक्त पदमा बादल उम्मेदवार बनेका थिए तर दुर्भाग्यवश उनी हारे । उपनिर्वाचनमा भएको हारले उनको राजनीतिक भविष्यमा समेत ‘बादल’ लागेको चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ ।  

एमालेभित्रको डाइनामिक्स अलि फरक छ । नवौं महाधिवेशनसम्म पार्टीभित्र कमजोर हैसियतमा रहेका ओलीले अध्यक्ष जितेपछि आफूनिकटका नेता कार्यकर्ताको मात्र व्यवस्थापनमा जोड दिएका थिए । उनको यही गुटगत प्रवृत्तिका कारण एमालेमा असन्तुष्ट समूह जन्मिएको हो ।

बादलको हारले एमालेभित्र केही यक्ष प्रश्नहरूको जन्म गराएको छ ।

पहिलो : एमालेमा माओवादी पृष्ठभूमिका नेता स्वीकार्य छन् कि छैनन् ?

बादल जनयुद्धका प्रखर कमान्डर थिए । भनिन्छ बादलले ३ मिनेटमा एउटा बम बनाउन सक्ने क्षमता राख्दथे । २०६२ सालको चुनवाङ बैठकमा उनलाई लिन प्याओवादी भएको आरोप लाग्यो । आफूमाथि त्यस्तो आरोप लागेपछि उनले बैठकमा रुँदै त्यसको लामो खण्डन गरेका थिए ।

शान्तिप्रक्रियामा आइसकेपछि बादलले प्रचण्डको साथ पहिलोपटक छोडे । मोहन वैद्यसँग मिलेर विद्रोह गरे र २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गर्न हिंडे । त्यसपछि उनले वैद्यको साथ छोडेर पुनः प्रचण्डसँग एकता गरेका थिए ।

एमालेमा माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोण सधैं नकारात्मक नै रह्यो । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकता भंग गरिदिने निर्णय गरेपछि बादल माओवादी केन्द्र त्यागेर ओलीतिर लागे । तर माधवकुमार नेपाल पक्षले बादललगायत अन्य माओवादी नेताहरूको एमाले प्रवेशलाई अहिलेसम्म सहज लिएको छैन ।

बादललगायत एमालेमा रहेका सबै पूर्व माओवादी नेताहरू एमालेभित्र स्वीकार्य हुन समय लाग्न सक्ने देखिन्छ ।

दोस्रो : ओलीको उपयोगितावादको षड्यन्त्रको शिकार बनेका हुन् बादल ?

ओलीले बादललगायत अन्य माओवादी नेताहरूलाई प्रयोग मात्र गरेको चर्चासमेत राजनीतिक बजारमा व्याप्त छ । तर अहिल्यै बादल ओलीको उपयोगितावादमा फँसे भन्नु चाहिँ छिटो हुन्छ ।

तर बादलको एमाले प्रवेश घटनाक्रमपछि ओलीका अत्यन्त निकट मानिएका विश्वासपात्रहरूले समेत बादललाई बढी नै भाउ दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्ने गरेका थिए । राष्ट्रिय सभामा बादललाई उम्मेदवार बनाउने ओलीको निर्णयपछि विष्णु पौडेल र ईश्वर पोखरेलले असन्तुष्टि जनाएका थिए ।

ती नेताहरूले असन्तुष्टि जनाएपछि ओलीले केही दिन पर्खन आग्रहसमेत गरेको स्रोतको दाबी छ । माओवादी केन्द्रका नेताहरूले निर्धक्कका साथ भन्ने गरेका छन्, ‘बादल लगायत आज बर्खास्तगीमा परेका ७ मन्त्रीहरू ओलीको उपयोगितावादको शिकार बनेका हुन् ।’

तेस्रो : बादलको राजनीतिक भविष्य के ?

बिहीवार नै बादललाई अदालतले मन्त्रीबाट बर्खास्त गरिदियो । आजै बादलले उपनिर्वाचन हारे । यससँगै बादलको राजनीतिक भविष्यमा ‘बादल’ लागेको टिप्पणीहरू आउन शुरू भएका छन् ।

दोस्रो बरियता दिन्छु भनेर ओलीले बादललाई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । पछि बादललाई वामदेव गौतम र ईश्वर पोखरेलभन्दा पछि राखियो । एमालेभित्र नै अस्वीकार्य भएपछि एमाले प्रवेश गरेर नयाँ राजनीतिक यात्रा शुरू गरेका बादललाई अघि बढ्न फलामको च्यूरा चपाउनुसरह हुनेछ ।

यद्यपी ओली अध्यक्ष रहुन्जेल ओलीले माओवादी पृष्ठभूमिका नेताहरूलाई सम्मानजनक हैसियतमै राख्ने प्रतिबद्धता जनाएका छन् । चरम गुटबन्दीका कारण विभाजनको संघारमा पुगेको एमालेमा बादलहरूलाई कहिलेसम्म सम्मानजनक हैसियतमा राखिने हो टुंगो छैन ।

बादलले एमालेमा जाने निर्णय गरिरहँदा उनीनिकट रहेका नेता तथा कार्यकर्ताहरू भने छोडिएका थिए । उनीलगायत अन्य नेताहरू एक्लो हैसियतमा एमालेमा गएका हुन् ।

चौथो : एमालेको एकता के हुन्छ ?

बादल एमालेका आधिकारिक उम्मेदवार थिए । देवकोटा भने एमालेकै अर्को पक्षबाट समर्थित उम्मेदवार हुन् । देवकोटालाई मत हाल्न कांग्रेस र माओवादी केन्द्रले व्हीप नै जारी गरेका थिए ।

वागमती प्रदेशमा बहुमतमा रहेको एमालेकै आधिकारिक उम्मेदवारले हार्दा एमालेको आन्तरिक एकता भने संकटमा परेको छ । नेपाल समूहमा रहेका सांसद तथा जनप्रतिनिधिहरूले बादल रुचाएनन् ।

एमालेलाई विभाजनबाट जोगाउन १० सदस्यीय कार्यदलसमेत गठन भएको थियो । पहिलो बैठक बसेपनि कार्यदलको दोस्रो बैठक भने अब अनिश्चित बनेको छ । नेता नेपालले आफूनिकट रहेका जनप्रतिनिधिहरूलाई बादललाई भोट नहाल्न उर्दी जारी गरेको बालुवाटारको बुझाइ रहेको छ ।

आज नै एमालेको स्थायी कमिटी बैठकसमेत बसेको थियो । नेपाल पक्षले बादललाई भोट नहालेको सूचना बालुवाटार पुगेपछि ओली अलि बढी आक्रामक भएका थिए । आजको स्थायी कमिटी बैठकले नेता नेपाल र उनीपक्षीय नेताहरू एमालेमा रहन नचाहेको मोटामोटी निष्कर्षसमेत निकालेको छ । बादलको हारले एमाले विभाजन हुने गति बढ्न सक्ने आंकलन राजनीतिक वृत्तमा गर्न थालिएको छ ।

यो पनि-

यस्तो छ उपनिर्वाचनको अंकगणित : एमालेकै जनप्रतिनिधि भन्छन् - बादललाई जिताउन सकिन्न ! यस्तो छ उपनिर्वाचनको अंकगणित : एमालेकै जनप्रतिनिधि भन्छन् – बादललाई जिताउन सकिन्न !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट