एमाले एक्सप्रेस : त्यो जेठ २ देखि यो जेठ २ सम्म !-Sutra News

एमाले एक्सप्रेस : त्यो जेठ २ देखि यो जेठ २ सम्म !

सोमबार, ३ जेष्ठ २०७८

सोमबार, ३ जेष्ठ २०७८

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपाको एकता खारेज गरेपछि माओवादी केन्द्र आफ्नो लयमा फर्क्यो तर एमाले भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी बनाएका संरचनामा रुमल्लियो । पार्टी एकताअघिको अवस्थाबाट सुचारू गर्न वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले राखेको मागलाई ओलीले टेरपुच्छर लगाएनन् ।



एमालेलाई २०७५ सालको जेठ २ गतेको अवस्थामा लैजान ओली तयार नभएपछि एमाले पनि विभाजनको संघारमा पुगेको थियो । तर त्यसको ठीक ३ वर्षपछि आज जेठ २ गते ओलीले पार्टीलाई शुरूकै अवस्थाबाट सुचारू गर्न तयार रहेको संकेत दिएका छन् ।

पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा असंवैधानिक ढंगले प्रतिनिधि सभा भंग गरिदिएपछि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल मिलेर ओलीविरुद्ध संघर्षको जेहाद छेडेका थिए । ओलीले त्यतिबेलै नेकपाकै नाममा आफूखुसी संगठन बिस्तार गरेका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग अलग चुलोचौको गर्न आदेश दिएपछि ओलीले आफूविरुद्ध सडक संघर्ष गरिरहेका नेपाल र उनी पक्षीय उपेक्षा गरेका थिए । तर अल्पमतको प्रधानमन्त्री बनेसँगै ओली केही नरम देखिएका छन् ।

आज जेठ २ गते विवाद समाधानका निम्ति १० सदस्यीय कार्यदल बनाउने सहमति भएको छ । कार्यदलले पार्टीलाई एकताअघिको स्थितिमा लैजाने हिसाबले प्रतिवेदन तयार पार्न ३ दिनको समयसीमासमेत पाएको छ । कार्यदलमा माधव नेपालको पक्षबाट भीम रावलले कार्यदलको नेतृत्व गर्नेछन् भने ओलीपक्षबाट संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङले नेतृत्व गर्नेछन् ।

नेपालको पक्षबाट रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण बिष्ट कार्यदलमा रहने सहमति भएको छ । त्यस्तै ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

यो पनि – 

विवाद समाधान गर्न एमालेमा १० सदस्यीय कार्यदल, बादल आउट ! विवाद समाधान गर्न एमालेमा १० सदस्यीय कार्यदल, बादल आउट !

कार्यदलले विवाद समाधानका लागि प्रतिवेदन प्रस्तुत गर्न तीन दिनको समय पाएको छ । पूर्व माओवादी पक्षबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’लाई कार्यदलमा राख्ने चर्चा चलेपनि उनलाई अन्तिम समयमा आउट गरिएको छ ।

यसअघि भएको वार्तामा ओलीले बादललाई पनि राखेको भन्दै नेता नेपाल पक्षले आपत्ति जनाएको थियो । छलफलपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिंदै प्रधानमन्त्री ओलीले पार्टीको विवाद समाधानउन्मुख रहेको बताएका थिए ।

जेठ २ गतेको बटमलाइनमै विवाद !

नेताहरूले एमालेको विवाद समाधान हुने भन्दै सार्वजनिक वक्तव्य दिइरहेका छन् । तर एमालेभित्रको डाइनामिक्स हेर्दा विवाद समाधानका निम्ति भन्दा पनि तत्काल नेता तथा कार्यकर्तालाई अल्झाउन कार्यदल बनाइएको प्रतीत हुन्छ ।

नेपाल पक्षले जेठ २ गते फर्किन माग गरिरहेको छ भने ओली पक्षले पार्टी धेरै अघि बढिसकेको भन्दै ३ वर्षअघि फर्किएर समाधान नहुने बताइरहेको छ । विवाद समाधान हुन्छ त भनेर सोधिएको प्रश्नमा ओली पक्षबाट कार्यदलका सदस्य बनेका एक नेताले भने – ‘विवाद समाधानकै लागि कार्यदल बनाइएको छ । समाधान त हुन्छ नै ।’

तर उनले जेठ २ गते फर्किनुपर्ने नेपाल पक्षको मागलाई भने उपेक्षा गरे । उनले भने, ‘जेठ २ गते फर्किने कुरा हुँदैन । उहाँहरूले (नेपाल पक्षले) राखेको माग ठीक छैन ।’

ओली पक्षले जेठ २ गते फर्किएर समस्याको समाधान नहुने तर्क गरिरहँदा नेपाल पक्षका अर्का कार्यदल सदस्य भने पार्टी जेठ २ गते नै फर्किने ठोकुवा गरेका छन् ।

नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हामीले चाहेको एकताअघिको पार्टी हो । त्यहाँ पुग्दैन भने समस्या समाधान पनि हुँदैन ।’

यसरी कार्यदलमै रहेका नेताहरूको परस्पर विरोधी धारणा आएपछि एमालेमा थप नयाँ विवाद शुरू हुने देखिन्छ । जेठ २ गतेको बटमलाइनमै नेताहरू एकमत हुने सम्भावना कम देखिएको छ ।

केके छन् समस्या ?

प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल मिलेर ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेका थिए । नेकपामा बहुमत सदस्य आफूतिर भएको भन्दै प्रचण्ड-नेपाल पक्षले ओली पक्षलाई माइनस गरेर अघि बढ्न खोजेको हो ।

सर्वोच्च अदालतले पार्टी पुरानै अवस्थामा पुर्याइदिएपछि नेता नेपाल फर्केर एमालेमै गए । तर ओलीले उनलाई निरन्तर अपमान गरिरहे । ओलीले नेकपामै रहँदा बिस्तार गरेका संरचनाहरूलाई कायमै राख्ने गरी फागुन २८ गते आफूनिकट केन्द्रीय सदस्यहरूबाट निर्णय गराए ।

ओलीले नेता नेपालसहित ४ जनालाई कारवाहीसमेत गरेका थिए । तर केही दिनअघि कारवाही फुकुवा भइसकेको छ । कारवाही फुकुवापछि ओली र नेपालबीच भेटवार्ता बाक्लिएको हो ।

यता नेता नेपालले पनि एमालेमा समानान्तर संरचना बनाएका छन् । जिल्ला तहसम्म बनेका समानान्तर संरचनाहरू कसरी समायोजन गरिन्छ भन्ने अझै तय भएको छैन । ओलीले आफूले बनाएका संरचना नै आधिकारिक रहेको दाबी गरिरहेका छन् भने नेता नेपालले विधि र पद्धतिअनुसार ओली नचलेकाले आफूले बनाएको संरचना नै विधिअनुरुप भएको दाबी गरिरहेका छन् ।

ओलीले माओवादी केन्द्रबाट आएका २३ नेताहरूलाई विधान संशोधन गरेर केन्द्रीय सदस्य बनाएका छन् । त्यसमा पनि नेता नेपालको आपत्ति रहेको छ । माओवादी केन्द्रबाट आएकामध्ये ४ जनालाई स्थायी कमिटी सदस्यसमेत बनाइएको छ । अप्ठेरोमा साथ दिएको भन्दै ओलीले माओवादी केन्द्रबाट आएका नेताहरूलाई पद बाँडेका हुन् ।

कार्यदलमा तुलनात्मक रूपमा अलि सफ्टलाइनर नेताहरूलाई राखिएको छ । कार्यदलले आजैबाट काम शुरू गर्ने बताइएको छ । तीन दिनको समयसीमाभित्र रहेर कार्यदलले प्रतिवेदन पेश गर्नेछ । प्रतिवेदनका आधारमा एमालेभित्र रहेका समस्याहरू समाधान गर्ने प्रतिबद्धता अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले गरेका छन् ।

यो पनि –  

हप्तामा हुने कामलाई दिनमा झार्नुस्, दिनमा हुनेलाई घण्टामा गर्नुस्ः प्रधानमन्त्री हप्तामा हुने कामलाई दिनमा झार्नुस्, दिनमा हुनेलाई घण्टामा गर्नुस्ः प्रधानमन्त्री

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट