सत्ता फेरबदलको मैदानमा भारत खेलाडी- देउवा र प्रचण्डसमेतले मागेका थिए गुहार !-Sutra News

सत्ता फेरबदलको मैदानमा भारत खेलाडी- देउवा र प्रचण्डसमेतले मागेका थिए गुहार !

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

काठमाडौं- सबैभन्दा ठूलो दलको संसदीय दलका नेता केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त हुने सेरोफेरोमा नेपालमा भारतको अनावश्यक चलखेल बढेको देखिएको छ ।



बिहीवार दिनभर जसो भारतीय दूतावास लैनचौरमा दौडधूप बढेको थियो । संसदबाट विश्वासको मत नपाएर कामचलाउ बनेका प्रधानमन्त्री ओलीले आफूनिकट केही नेताहरूलाई भारतसँग कुराकानी गर्न खटाएका थिए ।

स्रोत भन्छ – ‘बिहीवार साँझ साढे नौ बजे प्रधानमन्त्रीमा पुनः नियुक्ति खानुअघि ओली र उनीनिकट नेताहरू प्रत्यक्ष/अप्रत्यक्ष रूपमा भारतको सम्पर्कमै थिए ।’ शुक्रवार प्रधानमन्त्री ओलीको सपथ ग्रहण कार्यक्रम रहेको छ । उनीसँगै माओवादी पृष्ठभूमिका ५ नेताहरूले पुनः मन्त्रीको सपथ खाँदैछन् ।

स्रोतको सूचनालाई आधार मान्ने हो भने प्रधानमन्त्रीमा पुनः नियुक्तिपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ओलीको फोनवार्ता भएको थियो । फोन दिल्लीबाट आएको थियो ।

भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख राघवप्रसाद भट्नागर एक सातादेखि नेपालमै छन् । उनी एक साताअघि शुक्रवार एयर इन्डियाको विशेष उडानमार्फत नेपाल आएका थिए ।

भट्नागरले भारतीय दूतावासमै रहेर भेटघाट तीव्र पारेका थिए । बालुवाटार भने भट्नागरसँगको छलफललाई गोप्य राख्न भारमुग्दर प्रयास गरिरहेको थियो । गतसाल कात्तिकमा ओलीसँग ‘रअ’ प्रमुख सामन्तकुमार गोयलको बालुवाटारमै भएको भेटवार्ता विवादित बनेको थियो ।

पुनः विवाद हुन सक्ने देखेर बालुवाटारले निकै गोप्यताका साथ भारतीय दूतावासमार्फत भारतको संस्थापन पक्षसँग कुराकानी जारी राखेको हो ।

भारतीय दूतावास स्रोतले भट्नागरले प्रत्यक्ष रूपमा ओलीसँग भेट नगरेको दाबी गरेको छ । तर ओलीका विश्वासपात्र मानिने केही नेताहरू दूतावासमै पुगेर भट्नागरसँग भेट गरेका थिए । ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि लैनचौर र बालुवाटारबीचको संवाद बाक्लिएको विभिन्न स्रोतहरूले दाबी गरेका छन् ।

बालुवाटारले भने भारतीय दूतावाससँगको संवाद अस्वीकार गरेको छ । ‘फेक न्यूज फ़ैल्याइएको छ,’ ओलीनिकट एक नेताले भने, ‘तपाईंहरूले संविधान पढ्नुहुन्न ? ओलीजी पुनः प्रधानमन्त्रीमा हुने कुरा संविधानमै छ त ! यसमा भारत या चीनको भूमिका के हुने ?’

उनले कन्स्पायरेसी थ्योरी क्रियट गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरे ।

यो पनि प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत नलिए के हुन्छ ? प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत नलिए के हुन्छ ?

भारतीय दूतावाससँग ओलीनिकट नेताहरू मात्र निरन्तर सम्पर्कमा थिएनन्, जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतो पनि प्रत्यक्ष सम्पर्कमै बसेका थिए ।

बिहीवार आफूनिकट सांसदहरूलाई लन्च गराउने भन्दै भक्तपुरको एक रिसोर्टमा लगेर राखेका ठाकुर र महतो त्यसपछि भारतीय दूतावास लैनचौर हानिएका थिए ।

भारतले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री बनाउने र तत्काल चुनावमा जाने परिस्थिति सिर्जना गर्न अनुकूल वातावरण सिर्जना गरिदिने भूमिका खेलेको थियो । स्रोत भन्छ – जसपाका नेताद्वय ठाकुर र महतो गत ४ दिनमा दर्जनपटक दूतावास छिरेका थिए ।

भारतले ठाकुर र महतोको राजनीतिक करियरको जिम्मा लिइदिने वचन दिएको थियो । ठाकुर र महतो समूहलाई ओलीले रकमान्तर गरेरै भएपनि उनीहरूद्वारा प्रस्तावित आयोजनामा करीब ३ अर्ब बजेट छुट्याइदिने वचनसमेत दिएको विभिन्न सञ्चारमाध्यमहरूले खुलासा गरिसकेका छन् ।

देउवा र प्रचण्डले समेत पठाएका थिए दूत !

नयाँ सत्ता गठबन्धनमा भारतले निकै ठूलो चासो राखेको बुझेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासमेतले भारतीय संस्थापन पक्षसँग समानान्तर कुराकानी गरिरहेका थिए ।

प्रचण्डनिकट स्रोतको दाबी छ – ‘अध्यक्ष प्रचण्डले भारतको चाहना के हो भनेर राजदूत विनयमोहन क्वात्रालाई सोधेका थिए ।’ भारतको चाहनाविपरित आफू जान नचाहेको भन्दै नेपालको लोकतन्त्रको विकास र सुदृढिकरण गर्न भारतलाई प्रचण्डले आग्रह गरेका थिए, तर भारतको चाहनामा यसपाली प्रचण्ड परेनन् ।

भट्नागरले प्रचण्डलाई भेटेको स्वतन्त्र पुष्टि भएको छैन । तर क्वात्रालाई भेट्न प्रचण्ड आफैं सक्रिय भएका थिए । ओलीले संसदमा विश्वासको मत गुमाएपछि क्वात्रा र प्रचण्डको भेट भएको थियो । प्रचण्डको सवालमा क्वात्राले भनेका थिए, ‘भारत पनि नेपालमा लोकतन्त्र सुदृढ गर्न प्रतिबद्ध छ र त्यसैका लागि अर्ली इलेक्सन भारतको प्राथमिकतामा रहेको छ ।’

केही दिनअघि भारतका राज्यसभा सदस्य तथा पूर्व संघीयमन्त्री सुब्रमन्यम स्वामीले भारतको रोजाई ओली नै रहेको भन्दै ट्वीट गरेका थिए । उनको ट्वीट नेपालमा विवादितसमेत भएको थियो । भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सले सम्पादकीय नै लेखेर भारतले ओलीलाई समर्थन गर्न छोड्नुपर्ने राय व्यक्त गरेको थियो ।

यो पनि – ओलीलाई थापेको पासोमा यसरी फसे प्रचण्ड ओलीलाई थापेको पासोमा यसरी फसे प्रचण्ड

देउवाले भने आफ्ना विश्वासपात्र अमरेशकुमार सिंहमार्फत भारतीय पक्षसँग वार्ता गरिरहेका थिए । आफ्नो नेतृत्वमा बन्ने सरकार भारतको स्वार्थविपरित नजाने प्रतिबद्धता पनि देउवाले जनाइरहेका थिए ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि देउवाले सिंहलाई दूतावासको चक्कर लगाउन पठाएका थिए । सिंहले भारतीय पक्षसँग भइरहेको वार्ताका बारेमा देउवालाई निरन्तर ब्रिफिङ गर्ने गरेका थिए ।

पछिल्लो समय जसपाका ठाकुर-महतो समूहलाई मनाउन निकै सकस भएपछि देउवाले कांग्रेस पदाधिकारी बैठकमा भनेका थिए – ‘भारतले के चाहन्छ चाहन्छ, त्यो मलाई थाहा छैन । मेरो नेतृत्वमा सरकार बन्ने परिस्थिति रहेन । तपाईंहरू चुप लाग्नुस् ।’

उनले रामचन्द्र पौडेलतिर इंगित गर्दै चुप लाग्न आग्रह गरेका हुन् ।

अन्तिम समयमा महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने विषयमा देउवा सकारात्मक जस्तै देखिन्थे । तर ओलीसँग नमिल्न देउवालाई पार्टीभित्रैबाट दबाब थियो भने जसपाको उपेन्द्र-बाबुराम पक्षले महन्थलाई स्वीकार्ने सम्भावना थिएन ।

यो भिडियो रिपोर्ट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट