उक्लिएको मान्छे अर्थात भक्तराज-Sutra News

उक्लिएको मान्छे अर्थात भक्तराज

शुक्रबार, ६ चैत्र २०७७

शुक्रबार, ६ चैत्र २०७७

भक्तराज रञ्जितको जीवनी रहेको ‘उक्लिएको मान्छे’ पुस्तकमा उनका संघर्ष र सफलता चित्रित गरिएको छ । पुस्तकमा नौ ओटा खण्डहरू रहेका छन् । पहिलो खण्डमा लेखकको पुख्र्यौली इतिहास रहेको छ । जसमा नेवारी समाज र संस्कारको व्याख्या गरिएको छ । रञ्जितकार जातिको शिशु जन्म, अन्नप्राशन, जन्मोत्सव, व्रतबन्ध, बेल विवाह, गुफा राख्ने, विवाह, कुलदेवता, भिमरथारोहण, मृत्यु संस्कार, दाहसंस्कार, दाहसंस्कार पश्चात गरिने कार्यहरू उल्लेख गरिएका छन् ।



नेवारी समाज र संस्कृतिको अध्ययन अनुसन्धान गर्ने अध्येताहरूलाई पहिलो खण्डमा रहेको ‘पुख्र्यौली इतिहास’ तथ्याङ्क संकलनको उपयुक्त सामग्री तथा सन्दर्भ सामग्री बन्न सक्छ ।

दोस्रो खण्डमा लेखकको बचपन रहेको छ । ‘भोगटेले अंग्रेजी सिकायो’ शीर्षकमा उनी लेख्छन्–राणाको दरबारमा लटरम्म फलेको भोगटे देखाउँदै एक विदेशीले ह्वाट इज दिस ? भनेर सोध्दा भोगटेलाई अंग्रेजीमा भन्न नआएकाले खिन्न हुनु पर्यो । अनि अंग्रेजी पनि नजानी नहुने रहेछ भन्ने लाग्यो र प्रयास गर्दै जाँदा जानियो ।

तेस्रो खण्डमा भक्तराजको युवा अवस्थाको बेलीविस्तार छ । जहाँ अन्तरजातीय प्रेम विवाहको गाथा लेखिएको छ । अन्तरजातीय विवाह गर्दाको केटी पक्ष र केटा पक्षको समाजमा परेको प्रभाव यसमा पढ्न पाइन्छ ।

चौंथो खण्डमा लेखकले आफ्नो जागिर र पेशाको बारेमा लेखेका छन् । ‘महाप्रबन्धक हुने धोको’ शीर्षकमा लेखेका छन्–राष्ट्रिय सहकारी महासंघको अनुभवले यूरोपियन युनियनको सहयोगमा सञ्चालित आदिवासी जनजातीको अधिकार सम्बन्धी कार्यक्रम सञ्चालन गर्न मद्दत गर्यो । जस अन्तर्गत ४ जिल्लामा ३१ ओटा सहकारी संस्था स्थापना गर्न सफल भइयो ।

पाँचौं खण्डमा एनजिओ र समाजसेवा रहेका छन् । खण्ड छ मा लेखकका भ्रमणहरू रहेका छन् । खण्ड सातमा पारिवारिक जीवन र अवकाशपछिका लेखहरू रहेका छन् । खण्ड आठमा ‘यमराजले हारे’ शीर्षकमा उनले लेखेका,‘२०४४ सालमा दशरथ रंगशालामा फुटबल हेर्न नगएर बाँचियो ।’ खण्ड नौमा मेरो जीवन मेरो दर्शन रहेको छ । योे अन्तिम खण्ड पनि हो । पुस्तकमा उनको जीवनकाल झल्काउने विभिन्न कालखण्डका तस्वीरहरू रहेका छन् । जुन हेरेर पाठकहरूले भक्तराज कस्ता रहेछन् ? के–के गरेका रहेछन ? भन्ने जान्न–बुभ्mन सक्नेछन् । यसका अलावा पुस्तकमा अनुससूचीहरू पनि रहेका छन् । एउटा अनुसूची यस पुस्तकको सबैभन्दा बलियो पक्ष हो । रञ्जितकारहरूको वंशावली ।
गोरखापत्र संस्थानका पूर्व कायम मुकायम अर्थ प्रमुख एवं राष्ट्रिय सहकारी महासंघका पूर्व महाप्रबन्धक रञ्जितको यो पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट