जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक-Sutra News

जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

बुधबार, २९ पौस २०७७

बुधबार, २९ पौस २०७७

काठमाडौं- महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ ।



जनयुद्धको कठिन परिस्थितिमा पनि साहसिक ढंगले अविचलितरूपमा लागेकी जुम्लाकी लक्ष्मीकन्या बुढाले लेखेको सो पुस्तकमा महिला आन्दोलनका साथै वर्गीय संघर्षका विविध पक्ष समेटिएको छ ।

पुस्तकमा महिला नेतृत्व, कार्यभार र चुनौती, बढ्दो लैङ्गिक हिंसा, शहीदका सपना, महिला उत्पीडन मुक्त नेपालको अभियान, महिला उत्पीडनमा धार्मिक अस्त्रलगायत पक्षलाई विस्तृतमा विवेचना गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय पेरिसडाँडामा मंगलबार पुस्तकको विवेचना गर्दै नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जनयुद्धमा महिलाको उत्साहजनक सहभागिताले महिला मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्याएको बताइन् ।

जनयुद्धकै बलमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले जनयुद्धको अपमान हुने गरी टिप्पणी दिने छुट कसैलाई नभएको बताइन् ।

मालेमावादमा आस्था राख्नेका लागि पुस्तक विश्वविद्यालय हुनसक्ने जनाउँदै उनले कम्युनिस्ट पार्टीको घोषणापत्रको निरन्तरताको एउटा दस्तावेजका रूपमा पुस्तकलाई लिन सकिने बताइन् । नयाँ पुस्ताका लागि जनयुद्ध र महिला आन्दोलनका बारेमा बुझ्न पुस्तक उपयोगी रहेको नेत्री भुसालको भनाइ छ ।

पूर्वमन्त्री एवं नेकपा नेतृ सत्या पहाडीले महिला मुक्ति मात्र नभई मुलुकको समग्र रुपान्तरणका लागि पुस्तक कोशेढुंगा सावित हुने बताइन् ।

लेखक लक्ष्मीकन्याको यो तेस्रो कृति हो । उनले लेखेको पुस्तक कर्णालीका महिला भाग १ र २ यसअघि नै प्रकाशित भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट